चोरसाँघु पक्की पुलको उद्घाटन

पोखरा, २४ पुस । पोखरा लेखनाथ महानगरपालिकाको वडा नं. ७ र १५ लाई जोड्ने सेती नदिमाथि बनेको पक्की पुलको उद्घाटन भएको छ । सो पुलको प्रतिनिधिसभाका सदस्य रवीन्द्र अधिकारीले उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै अधिकारीले विकास निर्माणको काममा जस अपजस लिने र दिने भन्दा माथि उठेर सोच्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो – “यो पुल निर्माणको लागि सबैले आ–आफ्नो ठाउँबाट प्रयास गर्नुभयो ।” लामो समय देखि कसले कसरी बनाउने भन्ने विदादमा रहेको चोरसाँघुको पुल बनेकोमा खुसी व्यक्त गर्दै अधिकारीले भन्नुभयो – “मैले यसो गरे तैले उसो गरिस भन्नुभन्दा हामी सबैको संयुक्त प्रयासले पुल बन्यो यो राम्रो कुरा हो ।”

फरक प्रसङ्गमा अधिकारीले निर्वाचनपछि वाम गठबन्धनले पाँच वर्ष सरकार चलाउन जनादेश प्राप्त गरेको बताउदै पाँच वर्ष बामगठबन्धनको काम हेर्न जनतालाई अनुरोध गर्नुभयो । उहाँले भन्नभयो – “५ वर्ष यो गठबन्धनलाई हेर्नुहोस, राम्रो गरे फेरी जिताउनुहोस गरेन भने अर्को पार्टीलाई जिताउनुहोस । यो नै लोकतान्त्तीक पद्धति हो ।”

कार्यक्रममा प्रदेशसभा सदस्य कृष्ण थापाले राजनीतिक क्रान्ति सकिएकाले अब विकास र आर्थिक समृद्धि गर्ने बेला आएको बताउनुभयो । सबैको अर्जुनदृश्टी अब विकासमा लगाउनुको विकल्प नरहेको थापाको भनाई छ ।

कार्यक्रममा पुर्व सांसद सारदा पौडेलले आफु निर्वाचनमा पराजित भएपनि विकास निर्माणका काममा जनतासंगसंगै रहेको बताउनुभयो ।

स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार) र जिल्ला समन्वय समितिको एक करोड ६० लाख ८९ हजार ८५६ को लागतमा सो पक्की पुल निर्माण गरिएको हो । ३० मिटर लम्बाइ र सात मिटर चौडाइ रहेको सो पुल निर्माणमा स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागको ७० प्रतिशत र जिल्ला समन्वय समितिको ३० प्रतिशत खर्च भएको छ ।

Advertisement

पुल निर्माणसँगै महानगरपालिकाको वडा नं ७, ९, १४, १५ र १७ का स्थानीयवासीलाई सुविधा पुगेको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी, स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागका महानिर्देशक जीवनकुमार श्रेष्ठ, वडाध्यक्षहरु प्रकाश पौडेल, रामचन्द्र बराल, जिल्ला इन्जिनियर नारायण बराललगायतका वक्ताले पुल निर्माण र यसको उपयोगितामाथि आ–आफ्ना धारणा राख्नुभयो ।
जिल्ला समन्वय समिति कास्कीका संयोजक वैनबहादुर क्षेत्रीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

भिडियो हेर्नुहोस

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top