पुरातात्विक महत्वको विद्यालयलाई चिनियाँ मोडलअनुसार बनाउन पुरातत्व विभाग असन्तुष्टि(भिडियो)

 काठमाडौं,२२ पौष । वि.सं.२०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पले भत्किएको देशकै सबैभन्दा जेठो दरबार हाइस्कुल अझै पुनःनिर्माण हुन सकेको छैन । सरोकारवाला निकायबीच मत बाझिँदा दरबार हाइस्कुल पुनःनिर्माणमा अन्योलता देखिएको हो ।

वि.सं. १९१० सालमा तत्कालीन राणा प्रधानमन्त्री जंगबहादुरले स्थापना गरेको मुलुककै पहिलो विद्यालय दरबार हाइस्कुल १९४८ सालमा रानीपोखरीनजिक रहेको अहिलेको भवनमा सरेको थियो । २०७२ सालको भूकम्पले दरबार हाइस्कुल भवनमा धेरै क्षति पुगेको थियो । भोटाहिटीतर्फको भित्ता भत्किएको थियो भने अन्य भागमा पनि क्षति पुगेको थियो ।

भूकम्प गएको तीन वर्ष पुग्न लाग्दासमेत सरकारी स्तरबाट दरबार हाइस्कुल पुनःनिर्माणको पहल भएको छैन । तर, चीन सरकारले चिनियाँ डिजाइनअनुसार स्कुल पुनःनिर्माणको प्रस्ताव गरेको छ । पुरातात्विक महत्वको विद्यालयलाई चिनियाँ मोडलअनुसार बनाउन भने पुरातत्व विभागले असन्तुष्टि जनाएको छ ।

चीन सरकारले प्रस्ताव गरेको संरचना सच्याएरमात्र पुनःनिर्माण गर्नुपर्ने पुरातत्व विभागको भनाइ छ । चीनको इच्छाअनुसार नेपालको सम्पदा पुनःनिर्माण गर्दा आफ्नो मौलिकता गुम्ने भन्दै देशकै गरिमा बोकेको यो विद्यालयलाई ऐतिहासिक धरोहरकारूपमा जोगाएर राख्नुपर्नेमा पुरातत्वले जोड दिएको छ । विदेशी संस्थाले सहयोग गर्दैमा देशको ऐतिहासिक शैली नै मेटिनेगरी पुनःनिर्माण गर्न नहुने पुरातत्व विभागको भनाइ छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top