मौसमविद्का अनुसार अझै न्यूनतम् तापक्रम घट्ने हुँदा चिसो बढ्ने सम्भावना

काठमाडौं,२२ पौष । न्यूनतम् तापक्रम घटेका कारण काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । चिसो बढेसँगै तराईमा लगातारको बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन प्रभावित भएको छ । काठमाडौं उपत्यकाको न्यूनतम् तापक्रम विगत तीन दिनदेखि एक डिग्रीमा झरेको छ । शनिबारको न्यूनतम् तापक्रम १.६ डिग्री सेल्सियस छ ।

घटेर स्थीर रहेको तापक्रमकै कारण उपत्यकाको जनजीवनसमेत प्रभावित बनेको छ । उपत्यकाका फाँटमा बिहानीपख बाक्लो तुसारो पर्न थालेको छ । रातमा आकाश खुला भएकै कारण केही दिन न्यूनतम् तापक्रम स्थीर रहने बताइएको छ । मौसमी प्रणालीकै कारण न्यूनतम् तापक्रम घटेकाले देशभर चिसो बढेको मौसमविद् राजु प्रधानांगले बताए । उनकाअनुसार अझै न्यूनतम् तापक्रम घट्ने हुँदा चिसो बढ्ने सम्भावना छ । शनिबार पनि पूर्वदेखि पश्चिमसम्मको तराई भेगमा बाक्लो हुस्सु लागेको छ । पहाड र हिमाली क्षेत्रमा भने मौसम सफा रहेको छ ।

काठमाडौंको माइनस तीन डिग्री मापन रेकर्ड
काठमाडौं उपत्यकाको न्यूनतम् तापक्रमको विगतको अवस्थालाई हेर्दा अहिलेसम्म माइनस तीन डिग्रीभन्दा तल झरेको छैन । मौसम पूर्वानुमान महाशाखाकाअनुसार सन् १९९८ जनवरी ११ को दिन हालसम्मकै सबैभन्दा कम न्यूनतम् तापक्रम माइनस तीन दशमलव पाँच डिग्री सेल्सियस पुगेको थियो ।

अघिल्लो वर्ष सन् २०१७ को जनवरी १४ मा ० दशमलव ४ डिग्री सेल्सियस तापक्रम रेकर्ड भएको थियो ।

विगतको अवस्थालाई हेर्दा योपटक न्यूनतम् तापक्रम अझै घट्ने मौसमविद् प्रधानांगको भनाइ छ ।

महाशाखाकाअनुसार काठमाडौंमा यही २० गते न्यूनतम् १.५ डिग्री सेल्सियस रहेको थियो ।

शनिबार सबैभन्दा कम जुम्लामा न्यूनतम् तापक्रम माइनस ८.५ र सबैभन्दा बढी विराटनगरमा ७.७ डिग्री सेल्सियस छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित