चितवन क्षेत्र नम्बर २ बाट भारी मतान्तरले विजयी हुनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू जनतालाई जिताउने जाँच दिन गइरहेको बताउनुभएकाे छ ।
चुनाव जितेपछि सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै लामिछानेले राजनीतिमा निर्वाचित हुनु भनेको विजयी हुनु नभएको बताउनुभएकाे छ । ‘यो त जाँच दिन जानका लागि सक्षम हुनु मात्र हो । म आजबाट जाँच दिन जाँदैछु, जसको नतिजा पाँच वर्षपछि मात्र आउँछ,’ उहाँले भन्नुभएकाे छ ।
लामिछानेले अहिले कुनै विजय र्याली नगर्ने भन्दै चितवन–३ का तीनवटा स्थानमा धन्यवाद र्याली गरिने जानकारी दिनुभएकाे छ । धन्यवाद र्यालीमा आफूलाई फूलमाला र अबीर केही पनि नल्याउन उहाँले मतदाताहरुलाई आग्रह गर्नुभएकाे छ । उहाँले धन्यवाद सभा गरिने भरतपुर–१० गेस्टहाउस चोक, इच्छाकामना गाउँपालिका कार्यालय अगाडिको फुटबल ग्राउन्ड कुरिनटार र कालिका नगरपालिकाको शहीद स्मृति क्याम्पस चौर पदमापुरमा समस्या र सुझाव गरी दुईवटा पेटिका समेत राखिने बताउनुभएकाे छ ।
‘भ्रष्टाचारीका सूचना, मैले गर्नुपर्ने काम, मलाई खबरदारी लेखेर पठाउनुहोला,’ लामिछानेले लेख्नुभएकाे छ , ‘माला, अबीर, खादामा हामीले गरेको खर्च प्रायः विदेश जान्छ । केही ल्याउनैपर्ने मन भए आफ्नै आँगन वा बाटोको एक थुंगा फूल भए मलाई पुग्छ ।’ उहाँले छिटोभन्दा छिटो आफू काममा लाग्न चाहेको समेत उल्लेख गर्नुभएकाे छ ।
source:-onlinekhabar