नेताज्यू ! यो देश कसको ? गरीखानेको कि चोरीखानेको ?

निजामति सेवाका सुब्बा साहेब सुदिप भट्टराई (नाम परिवर्तन) ले जागिर गरेको पुरै १५ बर्ष भयो । उनी उनले जीवनका सबै भन्दा सुनौला दिन सरकारी कर्मचारीको रुपमा रहेर जनताको सेवा गरेर बिताए । उनीसँगै जागिर शुरु गरेका बरिष्ठ र कनिष्ठहरुले आर्थिक रुपमा मनग्गे प्रगति गरेका छन् । कर्मचारी युनियनदेखि शक्तिकेन्ऽ सम्म उनीहरुको पहुँच हुनाले भनेको ठाउँमा सरुवा बढुवा आदि गराउन उनीहरुलाई समस्या छैन ।

कथित कर्मचारी युनियनमा बसेर माथिसम्म बार्गेनिङ गर्ने हैसियत भएकाहरु धेरै छन् । सुब्बा साहेब भने धेरैपटक सरुवाका लागि धाए पनि उनले भनेको ठाउँमा कहिल्यै सरुवा भएन । किनकि उनले कसैको दौराको फेरो समात्न सकेनन् ।

सुदिपजी अझै पनि भाडामै बस्छन् । सुख्खा तलबले शहरमा घर बनाउन त के घर भाडा तिर्न समेत धौधौ हुन्छ । महिनाको अन्त्यमा छोराछोरीको स्कूल फीदेखि किराना पसल र सरसापटीको पैसा नतिरे अर्को महिना भार थपिन्छ । त्यसैले मन बाँधेर जेनतेन जिन्दगी चलाइरहेका छन् ।

केही बर्षपछि पेन्सन लिएर एकपटक बिदेशतिर गएर काम गर्छु भनेर सुनाइरहन्छन् उनी ।
यस्तै समस्या सानोतिनो जागिर खाने प्रायः सबैको छ । आकाशिँदो बजार भाउ, सुजिधाभोगी जमाना र अरुलाई देखाउनकै लागि बाँचिने जीवनशैलीले नराम्ररी गाँजेको छ धेरै मान्छेहरुलाई।

एउटा बिहानदेखि बेलुकीसम्म शारीरिक श्रम गरेर खानेको जिन्दगी कस्तो छ भन्ने कुरा कसरी यहाँ व्यक्त गर्नू ! जे होस् ब्यवस्था परिवर्तनले गरीखानेहरुको अवस्था बदलिएको छैन । त्यसैले आफ्नो अर्थको भद्रगोल मिलाउन भूगोल छाडेर जानेहरु दिनदिनै बढेका छन् । उच्चपदस्थ कर्मचारीहरुसमेत डीभीपीआरको लोभमा बिदेशिने क्रम बढेको त्यसै भएर होला ।

सानोतिनो पेशा गर्नेहरु ठूला व्यापारीहरुको कब्जामा छन् । किसानहरु बिचौलियाको कब्जामा छन्, ठेक्कापट्टादेखि सुरक्षा, प्रशासन र कुटनीति सबैतिर एउटा अस्वस्थ्य र बेमेल प्रतिस्पर्धा छ । शक्ति र सत्तामा भएकाले आफ्नो पहुँच जता पनि बढाइरहेका छन् । तर, ईमान्दार कर्मचारीदेखि सामान्य सेवाग्राहीहरुले राज्य कसको हो र केका लागि हुनुपर्छ भन्ने बुझेका छैनन् । राज्यको पद्दति मिचेर मुद्दतिमा धन थुपार्ने र एकछाक खाएर बाँच्नकै लागि ज्यान हत्केलामा राख्नेहरु बीच फराकिलो दूरी छँदैछ । त्यही दूरी मेटाउनकै लागि भनेर लागि पर्नेहरु जरामा भएको समस्याको हाँगामा उपचार गरेर जनताको आँखामा छारो हालेका छन् ।

समाजमा घट्ने राम्रा नराम्रा घटनाहरुमध्ये सबैको मियो भनेको राजनीति नै हो भन्ने कुरा धेरैलाई थाहा छैन । शिक्षा, स्वास्थ्य, सूचना, सुरक्षा, कुटनीति, समाजसेवालगायत सबै पक्षहरु राजनीतिकै स्पिरिट र स्पिडमा हिँड्छन् भन्ने कुरा एकैछिन घोत्लिएर सोच्यो भने स्पष्ट हुन्छ । कल्याणकारी र जिम्मेवार सरकारले धेरै काम गर्न सक्छ भन्ने कुरा पश्चिमा देशहरुले गरेको प्रगति हेरे पुग्छ ।

सरगम भट्टराई
तर, मानौँ नमानौँ हाम्रो देश अघोषित रुपमा माफियाहरुको कब्जामा छ, हामी जनताहरु अदृश्य शक्तिको कब्जामा छौं । हामी दिनदहाडै भएको लूटको तमाशा हेरेर बसेका छौँ । तर, मानौँ यो लूट हेर्ने हामीलाई मन छैन । यो लूटको साक्षी बस्न मन पनि छैन । भित्रभित्रै छाती भत्भती पोलिरहेको छ । तर, पनि हामीमा एउटा आश मरेको छैन, एउटा विश्वास मरेको छैन । भएको घर भत्काएर नयाँ घर बनाउने ईच्छाशक्ति हामीमा देखिएको छैन । अनि मन एउटालाई दिएर पनि मतचाहिँ अर्कैलाई दिएर पनि हामीले परिवर्तनको आशा मारेका छैनौं ।

सबैलाई थाहा छ, हामीले मन पराएकाहरुले बाजेबज्यैका निष्ठाहरु कायम राख्न सकेनन्, बाजे बज्यैले जोगाएको राष्ट्रिय अस्मिता जोगाउन सकेनन्, उनीहरु जस्तै मितव्ययी र अनुशासित हुन सकेनन् । दिनदहाडै जताततै दलहरुको आडमा छल मात्रै भइरहेको देख्दादेख्दै पनि नयाँ जोश र जाँगर बोकेर आएकालाई जनताले मन दिए पनि मत दिन चाहिँ सकेनन् । हल्ला गर्नेहरुका चल्ला बिके, तर चुपचाप लाग्नेका कुखुराहरु बिकेनन् ।

कति भनिरहनू, देशका प्रशासक चूडामणिले हामीले बिश्वास गरेका दलका नेताहरुलाई भाग पुर्‍याएर अरबौँ लूटे । लोकमानसिंह कार्कीले केही दलका नेताहरुको खल्ती भरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै दुरुपयोग गरे । खुमबहादुर, गोविन्दराज जोशी र जयप्रकाशहरुले यिनै दलका छत्रछहारीमा लोकतन्त्र भँजाएर लूटतन्त्र मच्चाइरहे । आयल निगम, विद्युतदेखि जूटमील र पेपर मीलहरुमा लुट्नु लुटे अनि दुईचार जना लठैत जम्मा गरे र भाषण ठोके । ‘देश र जनताका लागि जस्तोसुकै त्याग गर्न पनि तयार छु।’ अनि तिनै भाषण गर्नेहरु मध्ये केही त यसपालि चिप्लिए । तर, तुलनात्मक रुपमा कम खराबहरु राजनीतिमा हाईहाई भए ।

दलको आवरणमा वकील, पत्रकार, लेखक, शिक्षक, कर्मचारी, व्यवसायी, विद्यार्थी, समाजसेवी, मानवअधिकारवादी, महिला अधिकारकर्मी, डाक्टर, इञ्जिनियरदेखि प्राज्ञिक व्यक्तिहरुले जिम्मेवारी बिर्सेर गलतलाई सही बनाउँदै सहीलाई गलत बनाएको कुरा हामीलाई सामान्य लाग्न थालेको छ, राजनीतिमा छलछाम नभई हुन्न भन्ने कुरामा हामी विश्वस्त छौँ, त्यसैले एउटा दलको फरिया नछोपे हाम्रो स्वाभिमान ठाडो हुन सक्दैन । राम्रालाई राम्रो भन्नेहरु भन्दा नराम्रालाई राम्रो भन्नेहरु हाई हाई भएको हाम्रै आँखा अगाडि हो ।

फरक-फरक आवरणमा केहीले जनतालाई अँध्यारोमा राखी ठगहरुलाई बिजुली बेचेर मोटाए, कोही ५० करोडको जग्गालाई एक सय/पचास करोडमा किनेर तीनगुना कमिशन खाए, कसैले गुण्डा नाइकेहरुलाई हात लिएर करोडौँ कुम्ल्याए । गुण्डाले चुनाव पनि जिते, कसैले नीति र थिति बिपरीत देशघाती र जनघाती सम्झौता गरेर देशको स्वाभिमान रित्याए ।

विधि बनाउने विधायक आफैं ब्यापारी बने र आˆनो ब्यापारका लागि तीन करोड जनताको स्वास्थ बिर्सेर आँखा चिम्लिए, एउटा सामान्य डाक्टरले असामान्य सत्याग्रहमा एघार पटकसम्म गरी सय दिनभन्दा बढी दिन बिताइरहँदा अनसन बसेकै बेला रातारात सुनसान भूतबंगलालाई मेडिकल कलेज चलाउन स्वीकृति दिन चलखेल गर्नेहरु पनि कसैको संरक्षणमै थिए । हामीले तिनीहरुलाई गल्ती गर्‍यौं त भन्यौँ, औँला ठड्यायौँ तर तिनै मध्येलाई चुन्यौँ ।

कसैले छिमेकीको कुटील जाल बुझ्न नसकेर या बुझ पचाएर आफ्नै देशमा नाकाबन्दी लगाए । कसैले अन्तरराष्ट्रिय मञ्चमा नाकाबन्दी लागेको छैन भनेर भन्न पनि भ्याए । कसैले आˆनै दाजुभाइ लडाएर उनीहरुवीच पानी बाराबार गराएर सदभाव बिगारे । यी सबै कर्तुतहरुले ठूलाठालुलाई सत्ता र शक्तिको भर्‍याङ चढाए । जनता सधैं दलदलमा फँसिरहे । साम, दाम, दण्ड, भेदको छुट्टाछुट्टै प्रयोग भइरहृयो । सबै थाहा थियो, तर फेरि तिनै मध्येलाई नै चुन्यौं ।

केही महिना पहिलेसम्म बजारमा भ्रष्टाचारीले पनि चुनाव लड्न पाउनुपर्छ भन्नेहरुको र्‍याइँ र्‍याइँ थियो, बलात्कारीले पनि चुनाव लड्न पाउनुपर्छ भन्नेको झ्याइँ झ्याइँ थियो । विकृतिबिरुद्द बोल्नेहरु बोलिरहेका थिए, तर लूट्नेहरु लूटिरहेकै थिए । सरर हेर्दा लागिरहन्थ्यो, साँच्चै यो देश कसले र कसका लागि चलाएको छ ? र देश कसका लागि चाहिएको हो ? देश साँचों अर्थमा कसको हो ?

पलाँसको बोटमा सुनाखरी नफूल्ने रहेछ, ढुंगाको छातीबाट करुणा र काठको घोडाबाट भारी बोकाउन नसकिने रहेछ । तर, पनि हिजोसम्म हामीले देखेका हाम्राहरु त्यस्तै ढुंगाको छाती र काठको घोडा भएर पनि हामीले फेरि झिनो आशा लिएर तिनैलाई चुन्यौँ । दिनको संकेत त बिहानीले नै गरेको थियो, तर हामीले दिउँसोसम्म पनि कुरिरहृयौं । रात पर्नेबेला पनि मौका पर्दाबित्तिकै फेरि यिनीहरुले घात गर्छन् भन्ने कुरालाई फेरि नजरअञ्दाज गर्‍यौं । नयाँ र राम्रालाई मन त दियौँ, तर मत दिन हिच्किचायौँ ।

फेरि केही दिनमा आम मान्छेहरुलाई लाग्नेछ, साँच्चै यो देश कसको हो ? भ्रष्टाचारीको ? माफियाको ? बलात्कारीको ? गुण्डाको ? डनको ? कालाबजारीको ? ब्यापारीको ? तस्करहरुको ? नेताको ? कर्मचारीको ? अथवा तपाई हामी गरीखाने न्यायप्रेमी जनताको ? किनकि, राजनीति ब्यापार बनाएकालाई आˆनो लगानी उठाउनैपर्ने छ । त्यसका विरुद्द एक/दुईजनाले राम्रो गर्न खोज्दैमा धमिलो राजनीति सङ्लो हुने कुरामा शंका गर्न मिल्ने थुप्रै आधारहरु छन् । अहिले देश भागबण्डाको चपेटामा परेको छ, पर्ने निश्चित छ ।

स्पष्ट छ, देश हाम्रो हुन सकेको छैन । देश युवाको हुन सकेको छैन । दैनिक एक हजार पाँचसय युवा बिदेशिइरहेका छन् । देश हाम्रो रहेनछ । हाम्रा घर गाउँ डुबेर समून्ऽ बनेकै हुन्, सिरानीहरु आँशुले भिजेकै छन् । मेहनत गरीखानेहरुका लागि देश आफ्नो रहेनछ । दिनहूँ करोड घटीका भ्रष्टाचारका समाचार सुनिँदैन । अबौर्ं भ्रष्टाचार गर्ने चूडामणिहरु मुस्कुराउँदै जेलबाट बाहिरिन्छन् । देशका लागि सत्याग्रह गर्नेहरु धुरुधुरु रुन्छन् ।

हामी यो गलत छ भन्छौँ, कराउँछौं । तर, आफ्नो आस्था बदल्नेबारे कहिल्यै सोच्दैनौँ । राजनीतिको मायाजालमा फन्फनी बेरिएका छौँ हामी ।

तर, देश हाम्रो हो । हाम्रो पसिनाले बनाएको हो । हाम्रा पूर्खाको पसिनाले बनाएको हो । यसमा हाम्रो स्वामित्व हुनुपर्छ । अब देश हाम्रो हुनुपर्छ । हाम्रा लागि हुनुपर्छ ।

देशमा लोकतन्त्र भँजाएर लूटतन्त्र मच्चाएकाहरुलाई हामी जनताले यसपालि पनि स्थायित्वको नाममा भोट हाल्यौँ । एक किलो गोलभेँडा किन्दा १० तिर हेरेर किन्ने मतदाताहरुले फेरि पनि जेनियन हैन, जिनेटिक (वंशाणुगत) राजनीति रोज्यौं ।

देश त्यसै बन्दैन, बनाउन लाग्नुपर्छ । तर, बनाउँछु भन्नेहरुको न्यूनतम योग्यता र ईच्छाशक्ति हुनुपर्छ । अरुलाई गाली मात्रै गरेर पनि देश बन्दैन । तर, भ्रष्टहरुको प्रशंसा गरेर त बन्ने कुरै भएन । पद्धति, पारदर्शिता, समानुभूति र उत्कृष्टताको बाटो नहिँडे केही हुँदैन । यो बाटोमा अहिले जनताको मत बटुलेका पार्टीहरु हिँड्छन् भन्ने आशा जनताको हो । तर, मूल नै शुद्ध नभएपछि खोलाको पानी शुद्द कसरी होला र ?

अम्बाको रुखमा अमला फल्छ भनेर फेरि पनि हामीले पत्यायौँ । तर जे भए पनि जनताको मतको सम्मान त गर्नै पर्‍यो । अब ईमानको राजनीति गर्ने शक्तिहरुले खबरदारी र निगरानी गर्नैपर्छ । अब आउँदा दिनमा हाम्रो राजनीतिको मेनु फेर्नैपर्छ । नत्र देश हाम्रो हुनेछैन । यस्तै रहिरहने हो भने देश नै रहने छैन । त्योबेला हामीले छातीमा हात राखेर के गर्ने ?

यो देश कर्णालीमा बस्नेहरुको पनि हो । महाकालीमा बस्नेहरुको पनि हो, सिरहादेखि सुस्ता र टनकपुरमा बस्नेहरुको पनि हो । त्यसैगरी नेपालमै जन्मेहुर्केका संसारमा जहाँ बसे पनि सबै नेपालीको हो । भूगोल फेर्दैमा रगत फेरिँदैन, मन फेरिँदैन, देश सम्पन्न र समृद्द भए कोही बिदेशिन्न । तर, जहाँ बसे पनि राम्रो-नराम्रो छुट्याउनैपर्छ । हामीलाई हाम्रो आफ्नो जस्तो देश बनाउन जस-जसले झेल गरेका छन्, तिनीहरुलाई जहाँबाट जसरी सकिन्छ, दह्रो खबरदारी गर्न हामीलाई कसैले रोक्न सक्दैन ।

देशलाई स्थिरताका नाममा फेरि एकपटक परीक्षण गर्न शंकाको लाभ दिएर हामीले चुनेकाहरुले अब साँच्चै देश बनाएछन् भने हामीलाई चाहिएको त्यही त हो नि ! तर बिकासलाई बोझ सम्झनेहरुले त्यसका आधारहरु पुष्टि गर्छन् भनेर कसरी पत्याउनु र ?

अचेल भूगोलमा भएको सामान्य मान्छेको छोराछोरीले देश कसको हो भन्ने ठम्याउँदैन । किनकि ऊ देश चलाउनेहरुबाट पटक-पटक ठगिएको छ, त्यसैले होला १५बर्षे भतिजले यूरोप अमेरिकाको सपना देख्छ, देशजस्तो देश देख्दैन ।

अचेल छिमेकीकी सानी ५ बर्षकी छोरीले सोध्छिन्- बाबा नेपाल देश कसको हो ? किन हजुर यही देशमा हुनुहुन्न ? किन सबैका बाबाहरु सशरीर नभएर मोबाईल र ल्यापटपमा मात्रै देखिनुहुन्छ ?
भोलि फेरि भूगोल छाडेपछि प्रवासमा जन्मेका सन्तानले फेरि यही प्रश्न नसोधून्, बाबा नेपाल देश कसको हो ? मामु, यो देश कसको हो ? हाम्रो आफ्नो देश कहाँ छ ? किन हामी अर्कैको देशमा छौँ ? किन हामीलाई मान्छेले हृवेयर आर यु फ्रम भनेर सोधिरहन्छन् ?

देशविहीन देशभक्तहरु र देशमै भएर देशको अनुभव नभएकाहरुका लागि देश जस्तो देश बनाउन के अहिलेका गठबन्धनहरुले सक्लान् ? भागवण्डाको फन्दामा परेर नागरिक भएर पनि अनागरिक कहिलेसम्म बन्ने होला ? देश मेरै हो भनेर लाखौँ युवाहरु घर फर्किने कहिले होला ? मेरो पनि मनमा एउटा प्रश्न गडिरहेको छ, नेताज्यू, देश कहिले चोरीखानेहरुबाट गरीखानेहरुका हातमा हुन्छ ? देशको सामान्य नागरिकले म नेपालको नागरिक हूँ भनेर गर्व गर्ने दिन कहिले आउँछ ?

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top