कांग्रेसलाई ‘नोकिया’ हुनबाट जोगाऔं

‘यसपटक कांग्रेसको पराजयमा कांग्रेसजन खुशी छन्’
पुरञ्जन आचार्य                         प्रधानमन्त्री एवं कांग्रेस सभापतिज्यू,
सर्वप्रथम प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन तपाईंको नेतृत्वमा सफल हुनसकेकामा हार्दिक बधाइ दिन चाहन्छु । नेपालको संविधान कार्यान्वयनको पक्षमा तपाईंको यो कार्य अतुलनीय र प्रशंसनीय छ ।

व्यक्तिगत रुपमा पनि तपाईंमाथि निर्वाचन गर्न असक्षम प्रधानमन्त्री भनी तत्कालीन राजा ज्ञानेन्द्रले लगाएको आरोपबाट तपाईं अब मुक्त हुन सफल हुनुभएको छ ।

हालै सम्पन्न तीन तहको निर्वाचनले नेपाली कांग्रेसको जय र पराजयभन्दा पनि लोकतन्त्रको जय भएको हुँदा निश्चय नै आज बीपी कोइराला, गणेशमान सिंहलगायत ती तमाम शहीदहरु, जसले लोकतान्त्रिक आन्दोलनमा शहादत प्राप्त गरे, तपाईंको भूमिकाप्रति गौरवान्वित होलान् ।

प्रधानमन्त्रीज्यू,
निर्वाचनमा हारजित हुन्छ । निर्वाचनप्रति समस्त विश्व जनमतको आकर्षण नै ‘कसले जित्ने र कसले हार्ने’ भन्ने हो । यो जितहार नै जनमत कतापट्टी भन्ने सूचक हो ।

सार्वभौमसत्ता सम्पन्न नेपाली जनताले यस पटकको निर्वाचनको माध्यमबाट केन्द्रीय र प्रदेशको सत्ताबाट कांग्रेस टाढै बसोस् भन्ने अभिमत प्रकट गरे । हो, स्थानीय निर्वाचनमा भने कैयन ठाउँमा कांग्रेसले जितेको छ, यो भनेको अझै पनि कांग्रेसले राम्रो गर्न सक्छ कि भनी सहानुभूति विजय भएको हो ।

अब कांग्रेसको भविष्य यिनै जितेकाहरुले जनताबीच उदाहरणीय काम गरी देखाउँदा मात्र पुनर्जीवन पाउने हो । अन्यथा, फेरि वामहरुको असफलताबाट फाइदा लिएर कांग्रेस उठ्ने सम्भावना पनि समाप्त भएको छैन ।

राजनीतिमा ‘स्पोर्टसम्यान स्पिरिट’को खुबै चर्चा हुने गर्छ । यो भनेको के होला ? प्रधानमन्त्रीज्यू, तपाईंको यौवनकालमा खेलकुदको महत्व थियो कि थिएन, म जान्दिनँ । तर, हामी बिराटनगरमा खुबै खेलकुदमा रुचि राख्थ्यौं र खेल्थ्यौं पनि ।

खेलकुदमा जित्नेलाई अहंकार हुन्छ र हार्ने सधैं सिक्ने सम्भावना बोकेर मैदानबाट बाहिरिन्छ । नेपालको निर्वाचनमा पनि जितहार भयो, नेपाली कांग्रेसले सोचेअनुरुप जित्न सकेन ।

तपाईं प्रधानमन्त्री र कांग्रेस पार्टी सभापतिको हैसियतले हार्नु भएको छ । तपाईं मात्र होइन नेपाली कांग्रेसको ‘ग्रस हार’ भएको छ । तसर्थ, यो हारलाई स्वीकार्दै तपाईंले जति चाँडो हुन्छ, सत्ता शान्तिपूर्वक जनताले रुचाएको गठबन्धनलाई सुम्पिने काम गर्दा राम्रो । लोकतन्त्रको सुन्दर पक्ष नै यही हो । यसैमा तपाईंको जित छ ।

प्रमज्यू,
मलाई यो थाहा छैन कि तपाईंको कानमा सच्चा कांग्रेसजनको पदचाप र गुनगुनाहट पुगेको छ कि छैन । तसर्थ, म चिच्याएर तपाईं र कांग्रेस नेतृत्वसामु भन्छु, यसपटकको कांग्रेस पराजयमा कांग्रेसजन दुःखी छैनन् । खुशी नै छन् ।

यो खुशी परपीडक भएको कारण होइन । कांग्रेसभित्र कांग्रेस भएर बस्न गाह्रो भएर ‘स्वाभिमान र पहिचान’को लडाईंमा हार्दै गएको कारण भएको थियो ।

एकातिर देशमा पहिचान र अधिकारको लडाईं चल्यो । अर्कोतिर कांग्रेसमा त्यही लडाईं लड्न नसकी कांग्रेसजन छेउ-किनारामा पुगे, पार्टीभित्रै । कांग्रेस पार्टी कांग्रेसजनको आँखा अगाडिबाट खोसेर केही परिवारले, केही व्यापारीले, केही डनहरुले र केही दलालहरुले लुटेर लगेको टुलुटुलु हेर्न सच्चा कांग्रेसी विवश थिए ।

त्यति मात्र होइन, कांग्रेसलाई भारतले पनि आफ्नो दासझैं ठानेको धेरै कांग्रेसजनलाई मन परेको थिएन । तसर्थ, कांग्रेस पराजयका लागि अन्तरघाती नखोज्नु, यो त गिरिजाप्रसादलाई अपमान गरेको मात्र ठहर्छ ।

नेपाली कांग्रेसका कार्यकर्ताहरु अहिले हरुवा उम्मेदवारहरुबाट लाञ्छना र अन्तरघातीको आरोप सुनिरहेका छन् । यस्तो विडम्बना कांग्रेसमा मात्र हुन्छ । यतिखेर देशभरिका हरुवा उम्मेदवारहरु म किन हारें र मेरा कमजोरीहरु के रहे भनेर आत्मसमीक्षा गर्नुपर्नेमा आफ्नै साथीमाथि छुरा चलाएर ‘बु्रटल’ चरित्र प्रदर्शन गर्दैछन् ।

विचरा ती कांग्रेस कार्यकर्ता, जो आफैं पेट पाल्छन्, लोकतन्त्रको रक्षार्थ निर्वाचनमा रुखलाई छातिमा टाँसेर केन्द्र र उम्मेदवारले गरेका तमाम गल्ती कमजोरीलाई ढाकछोप गर्दै भोट माग्न आफू र परिवार लिएर निस्कन्छन् । तर पनि, अपमानित र गाली खानुपर्ने विडम्बना किन ?

एक पटक वामपन्थी उम्मेदवार र तिनका कार्यकर्ताबीचको ‘कामरेडसिप’ हेर्नुहोस्, प्रमज्यू । अनि, अहिलेका अहंकारी र दम्भी कांग्रेस नेताहरुको चरित्र दाँज्नुहोस् । धन्य कार्यकर्ता छन् कांग्रेसका, जसले यस्तो प्रतिकूल परिस्थितिमा पनि कांग्रेसको भोट प्रतिशत र्झन दिएनन् । र, चारतारेको झण्डाको इज्जत जोगाए ।

प्रधानमन्त्रीज्यू,
कांग्रेसले निर्वाचनमा जित्ने अपेक्षा गरेको थिएन भन्ने तपाइर्ंको स्वीकारोक्ति सही छ, सत्य छ । तपाईं र मबीच भएका लामा संवादमा पनि मैले यस्तो छनक तपाईंबाट पाएको थिएँ ।

हो, सम्भव नै थिएन कांग्रेसले जित्न यो निर्वाचनमा । किनकि, अहिलेको निर्वाचन नेपालमा न कांग्रेसले लड्यो, न माओवादी केन्द्रले नै लड्यो, न त अरु दलहरुले । सम्पूर्ण निर्वाचनप्रति ध्यान नेकपा एमालेको मात्र थियो ।

यो त प्रदेशसभामा एमालेका हस्तिहरुको उम्मेदवारीबाटै प्रष्ट भइसकेको थियो । त्यस्तै, नेकपा एमालेले ६० ठाउँ छाडेर पनि कांग्रेससँग ठक्कर लियो, पपुलर भोटमा समेत । यो चानचुने तयारीले हुने कुरा थिएन ।

कांग्रेसको पराजयमा कांग्रेसजन दुःखी छैनन्, खुशी नै छन् । र, त्यो खुशी कांग्रेसभित्र कांग्रेस भएर बस्न गाह्रो भएर ‘स्वाभिमान र पहिचान’को लडाईंमा हार्दै गएकाले हो

प्रत्यक्षमा स्विप गर्‍यो, समानुपातिकमा समानान्तर आयो, एमाले । निश्चय नै यो एमालेको दिग्विजय हो, खड्ग ओलीको सफल नेतृत्व हो । खड्ग ओलीलाई निर्वाचनमा विजयी भएकामा बधाइका साथ भावी दिनमा जनताको अपेक्षाअनुसार काम गर्न शुभकामना पनि ।

एमालेको जस्तै विजय मधेशकेन्दि्रत दलहरुले प्रदेश-२ मा गरे । एमालेका ओलीसँग नेपाली राष्ट्रियताको नयाँ परिभाषा थियो, त्यो नेपाली जनताबीच बिक्यो । नयाँ राष्ट्रवादको लहरको प्रभावकै कारण पहाडमा कांग्रेसले जम्मा दुई ठाउँ मात्र जित्यो, काठमाडौं उपत्यकाबाहेक । एउटा रसुवामा र अर्को शेरबहादुर देउवाले डडेलधुरामा ।

मधेशी दलहरु पहिचान र अधिकारको लडाईं लिएर निर्वाचनमा गए । कांग्रेस भने म विद्याथी हुँदा चार दशक अगाडि प्रयोग हुने ‘कम्युनिस्ट अधिनायकवाद’को विगुल लिएर निर्वाचनमा गयो ।

मैले पाँच दर्जन युवालाई अधिनायकवाद शब्दको अर्थ सोधें, कसैले भन्न सकेनन् ।

यस्तो मिति सकिएको औषधी लिएर कांग्रेस निर्वाचनमा जाँदा मेरो पुस्ताले त बुझ्ला, अहिलेका युवाले यो शब्दको उच्चारण पनि जान्दैनन् । बुझ्न सकिन्छ, कांग्रेसका नेताहरु विचार र व्यवहारबाट आम नेपाली जनतासँग ‘डिट्याच’ भए ।

प्रधानमन्त्रीज्यू,
वाम गठबन्धनको तयारी देशभित्रका शक्तिहरुले मात्र गरिरहेका थिएनन्, बाह्य शक्तिहरुलाई पनि नेपालका वामशक्तिहरुको चुनावी गठबन्धन आवश्यक भएको थियो । एकपटक शान्त कूटनीतिबाट आक्रामक कूटनीतिमा रुपान्तरित चीनको सरकारीस्तरबाट निसृत विचार र नेपालमा भएका चिनियाँहरुका बाक्ला भेटघाटलाई स्मरण गर्नुहोस् त ! अनि, झस्कनुपर्ने हुन्छ तपाईंले कि कसरी आफ्नो काखबाट माओवादी केन्द्रलाई एमालेका स्मार्ट नेता ओलीले थुतेर लगे भनेर ।

राजनीतिमा नेतृत्व स्मार्ट छ भने निर्वाचन परिणामलाई ‘आन को तान’ फरक पार्न सक्छ भन्ने उदाहरण खड्ग ओली भए । तर, के ओली रातारात नेता भएका हुन् ? निःसन्देह होइनन् । नेकपा एमालेको तयारी थियो, चुनावमा ।

‘ओली ब्रान्डको इक्युटी’ ‘हाई’ पनि अचानक भएको थिएन, तयारीका साथ भएको थियो । यस्तै तयारी भारतमा आजभन्दा झण्डै चार वर्षअघि गुजरातका मुख्यमन्त्री नरेन्द्र दामोदरदास मोदीले गरेका थिए । के गरे ओलीले मोदीजस्तो ? संक्षिप्त तर सुक्ष्म रुपमा हेरौं ।

प्रधानमन्त्रीज्यू,
भारतमा पियुष पाण्डे भन्नेको नेतृत्वमा नरेन्द्र मोदीलाई ‘ब्रान्डिङ’ गर्ने योजना बनेको थियो, ५० दिनभित्र सन् २०१४ को निर्वाचन अगाडि । निर्वाचनमा जनतामाझ कसरी, के लिएर पुग्ने भन्ने सोच र कार्यक्रमबारे हिजोआजको निर्वाचनमा बडो महत्व दिने गरिएको छ ।

तपाईंका सल्लाहकारहरुलाई यो कुरो पक्कै ज्ञान हुनुपर्ने हो । यही प्रकरणबाट विगतको असफलताको दोष सबै भारतीय कांग्रेसलाई ‘जनता माफ नहीं करेगी’ भनेर अगाडि सारियो, भारतीय जनता पार्टीबाट । दोस्रो, ‘अच्छे दिन आनेवाले है’ भनेर ‘होप’ सिर्जना गरियो, आम भारतीयबीच । अनि, गुजरात मोडेलको सफल नेता राष्ट्र निर्माणमा छ भनी नरेन्द्र मोदीको खुबै प्रचार गरियो ।

ठीक यही शैली र प्रचार गरे नेपालमा पनि, ओलीलाई ब्रान्डिङ गर्नेहरुले । कांग्रेससँग न ब्रान्ड थियो, न कार्यक्रम ।

नेपाली कांग्रेसले तीन दशकदेखि सत्ताको नेतृत्व गरेर अस्थिरता मात्र दियो देशमा भनेर एमालेद्वारा प्रचार गरियो । र, यो प्रचार नेपाली जनताले सही ठाने । कांग्रेससँग एमालेलाई दिने उत्तरको कमी थिएन । तर, योजनावद्ध कार्यक्रम र संवाद शैली कांग्रेससँग थिएन ।

त्यसैले कांग्रेसले यसलाई चिर्न सकेन !

नेपालको समृद्धिको वाधक कांग्रेस हो भन्ने प्रचार पनि खुबै भयो । यी दुवै प्रचारको बीचबाट ‘वाम गठबन्धनलाई बहुमत दिनुहोस्, हामी समृद्धि, शान्ति र स्थिरता दिन्छौं’ भन्ने नारा एमालेद्वारा अगाडि सारियो ।

कोर मधेश, जहाँ पहिचान र अधिकारको लडाईं थियो, त्यहाँबाहेक नेपालभर एमालेद्वारा गरिएको प्रचारशैली काम लाग्यो । फेरि यी दुवै आयामलाई नेपाली जनताको स्वभाव र रुचिअनुसार संवाद र सम्प्रेषण गर्ने क्षमता भएका खड्ग ओलीले नेतृत्व दिए । जनताले ओलीको संवाद शैली मात्र मन पराएनन्, उनको नेतृत्वमाथि विश्वास र भरोसा पनि गरे ।

विचरा ती कांग्रेस कार्यकर्ता, जो आफैं पेट पाल्दै रुखलाई छातिमा टाँसेर केन्द्र र उम्मेदवारले गरेका तमाम गल्तीलाई ढाकछोप गर्दै भोट माग्न निस्कन्छन् । तर पनि, अपमानित हुनुपर्ने विडम्बना किन ?

नाकाबन्दीमार्फत् आम पहाडिया जनताबीच अलोकप्रिय थियो, भारत । र, अमानवताको ‘सिम्बोल’ पनि थियो भारत । नेपाल र नेपालीको दुश्मनको रुपमा भारतको चित्रण भयो नाकाबन्दीपछि, जुन स्वाभाविक पनि थियो ।

यसरी शत्रु किटान गरिसकेपछि त्यत्तिकै शक्तिशाली मित्र पनि अगाडि ल्याउन जरुरी थियो र यो भयो पनि चीनको रुपमा । चीनलाई तानेर स्वाभिमानी नेपाली र स्वतन्त्र नेपाल राख्न सक्छु भनी ओलीले आफ्नो छोटो समयको प्रधानमन्त्रीकालमा उदाहरण अगाडि सारे ।

भारत सांस्कृतिक, सामाजिक र ऐतिहासिक रुपबाट नेपाल र नेपालीको मित्र भए पनि समृद्ध नेपाल निर्माण गर्न र नेपालीको भविष्यसँग जोडिएको मित्र देश चीन मात्र हो भन्ने कुरा खड्ग ओलीको प्रधानमन्त्रीबाट बहिर्गमनपछि बडो सुविचारित किसिमले नेपाली जनताबीच स्थापित गर्न नेकपा एमाले सफल भयो ।

प्रधानमन्त्री तथा कांग्रेस सभापतिज्यू,
एउटा चुनावले राजनीति समाप्त हुँदैन । तर, जनताको अभिमतपछि तपाईंको मन्त्रीमण्डलबाट भए/गरेका काम कारवाहीले कसरी कांग्रेसजनले यो पार्टीलाई ‘डिफेन्ड’ गर्न सक्छन्, यसको हेक्का भने तपाईंबाट पटक्कै नभएको देखियो ।

सर्वप्रथम तपाईंले उम्मेदवारी दिएपछि तपाईं काम चलाऊ प्रधानमन्त्री हो । तपाईंको पार्टी निर्वाचनमा पराजित भइसकेपछि तपाईंको जिम्मेवारी सत्ता हस्तान्तरणमा मात्र सीमित हुन्छ । तपाईं राजनीतिको लडाईंमा जनताबाट पराजित नेता हो । तसर्थ, तपाईंका सञ्चार मन्त्रीले गर्ने प्रेस सम्मेलनलाई लोकतन्त्रको मजाक भन्दा हुन्छ ।

यस्तै, प्रधानमन्त्रीले गरेका काम राष्ट्रपतिले रोक्ने कार्य पनि संविधान सम्मत होइन भनेर तपाईंले खड्ग ओलीलाई भन्न सक्नुपर्छ । अनि, विपक्षबिनाको राष्ट्रियसभा कस्तो होला भनी सहज संवाद र सूचना गर्न तपाईंलाई कुनै अवरोध छैन ।

तर, निर्वाचन आयोगले गर्ने काम तपाईंले गर्नु शोभनीय होइन । राजनीति गर्ने मान्छेले धेरै कानूनी जटिलता समातेर सत्तामा टाँसिनु अशोभनीय मात्र होइन, निन्दनीय पनि हो ।

निर्वाचनका लागि सबैलाई धन्यवाद दिँदै राष्ट्रसामु धन्यवाद दिएर प्रष्ट भन्नुहोस्, ‘म निर्वाचन आयोगले प्रत्यक्ष र समानुपातिकको निर्वाचन परिणाम घोषणा गरेपछि सत्ता हस्तान्तरण गर्छु’ भनेर । राष्ट्रियसभाको कुनै औचित्य सरकार निर्माणमा छैन ।

कांग्रेस सबै गुमाएर पनि सत्तामा टाँसिन चाहन्छ भन्ने सन्देशले भविष्यमा यसको पुनर्जीवनलाई अगाडि बढ्न दिँदैन । तपाईंलाई म ‘नोकिया मोबाइल’को दिवालियापनको उदाहरण दिँदै कांग्रेसलाई नोकिया हुनबाट जोगाउन सल्लाह दिन्छु ।

काउन्टर रणनीति तय गरौं भन्ने कुरामा सुन्ने मात्र काम भयो, गर्ने काम नभएकाले कांग्रेसको राष्ट्रव्यापी पराजय भयो

कुनै समय थियो, मोबाइल भनेको नोकिया भनेर बुझिन्थ्यो । नोकियामा बोसो चढ्यो, स्मार्ट भएन, जनताले रिजेक्ट गरे । हार्डवेयरले मात्र नोकिया चलेन । समय सफ्टवेयरको आउँदा पनि नोकिया रुपान्तरित भएन । एक दशकअघि विश्वमा ७० प्रतिशत मानिसले प्रयोग गर्ने नोकिया मोबाइल आज ब्रह्मनालमा छ । प्रधानमन्त्रीज्यू, नोकियाको पतन र कांग्रेसको अहिलेको अवस्थामा खासै फरक छैन ।

माथि नै भनियो, मैले सच्चा कांग्रेसलाई ऊर्जावान पाएको छु, कांग्रेसको पराजयमा । लोभी पापी, चोर, डाँकालगायत स्वार्थी समूह अब कांग्रेसबाट छुट्टनिेछन् । र, कांग्रेसभित्र कांग्रेसजन गौरवान्वित हुनेछन् ।

पाँच वर्षको वाम सरकारपछि गौरवसाथ कांग्रेसजनले भन्नेछन्, ‘अब कांग्रेस सरकार ।’ कमसे कम त्यत्ति भन्ने ठाउँ त प्रधानमन्त्रीज्यू तपाइर्ंको पुस्ताले कांग्रेसको भावी पुस्तालाई देओस् !

अन्त्यमा, कांग्रेसका नेताहरुलाई देशको ग्राउन्ड रियालिटी बुझ्ने मात्र फुर्सद नभएको होइन, सुन्ने पनि मैले फुर्सद र धैर्य देखिनँ । यो मामिलामा तपाईंसँग मेरो कुनै गुनासो छैन किनकि मैले समयमै तपाईंलाई सुनाउने मौका पाएको थिएँ । तर, काउन्टर रणनीति तय गरौं भन्ने कुरामा सुन्ने मात्र काम भयो, गर्ने काम नभएकाले कांग्रेसको राष्ट्रव्यापी पराजयमा यी कुरा अभिलेखीकृत गर्न चाहेको हुँ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित