लाफा इन्भेष्टमेन्टले हङकङमा कार्यक्रम गर्ने

पोखरा, ५  पौष l ‘एकता नै बल हो, इमान्दारिता नै धर्म हो’ भन्ने मूल नारा लिएर स्थापित कम्पनी लाफा इन्भेष्टमेन्ट लिमिटेडले हङकङ भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।  सामूहिक लगानीमार्फत् आर्थिक समृद्धि प्राप्तिको अभियान सुरु गरेको कम्पनीले यही डिसेम्बर २४ तारिखमा हङकङको जोर्डनस्थित किरात याक्थुङ चुम्लुङको भवनमा कार्यक्रम आयोजना गर्न लागेको कार्यक्रम संयोजक जंग थापामगरले जानकारी दिनुभएको थियो ।  नेपाल, हङकङ, दक्षिण कोरिया, जापान, बेलायत, कतार, मलेसिया, संयुक्त राज्य अमेरिका, इजरायल, इटाली, बरमुडा, कुवेत, बेल्जियम, संयुक्त अरब इमिरेट्सलगायतका देशमा रहेका मगरहरूको सामूहिक लगानीमा स्थापित कम्पनीले शेयर तथा हाल सञ्चालित लाफा भिलेज परियोजनाबारे जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागिएको संयोजक थापामगरले जानकारी दिनुभएको थियो।


‘आर्थिक समृद्धि अहिलेको आवश्यकता, एकता र इमान्दारिता नै हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ हुन लागेको कार्यक्रममा नेपालबाट कम्पनीका सञ्चालक समिति सदस्य एवं कानूनी मामिला प्रमुख अधिवक्ता रक्षाबहादुर रैकामगर, कम्पनीका चार्टर्ड एकाउण्टेण्ट (सीए) जनक थापामगर, कम्पनीका संस्थापक सदस्य एवं एबीसी न्यूज टेलिभिजनका प्रदेश नं. ४ का प्रादेशिक ब्यूरो प्रमुख एमबी आस्था मगरलगायतको सहभागिता रहने थापामगरले जानकारी दिनुभएको थियो।  कम्पनीले हालसम्म नेपालका विभिन्न सहरहरू पोखरा, धरान, इटहरीलगायत विदेशमा कुवेत र कतारमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिसकेको छ । निकट भविष्यमा जापान, दक्षिण कोरिया, मलेसिया, सिंगापुरलगायतका देशमा समेत कार्यक्रम गर्ने लक्ष्य राखिएको कम्पनीकी अध्यक्ष चन्द्रज्योति आलेमगरले जानकारी दिनुभएको थियो ।

 

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top