सरकारद्वारा उद्धार तथा राहतमा सहयोगको अपिल

काठमाडौँ, २८ साउन । सरकारले मुलुकका विभिन्न भागमा बढीपहिरोबाट ठूलो धनजनको क्षति भएपछि खोज, उद्धार तथा राहत वितरणमा सहयोग पुर्याउन आह्वान गरेको छ ।

आज साँझ एक विज्ञप्ति जारी गरी गृह मन्त्रालयले समस्यामा परेका परिवारलाई दैनिक जीवनमा आवश्यक पर्ने खाद्यान्नलगायतका सामग्री उपलब्ध गराउन उद्योगी, समाजसेवी तथा सामाजिक संघसंस्थाहरुलाई आग्रह गरेको हो ।

मन्त्रालयका अनुसार बाढी तथा डुवान प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि स्थानीय प्रशासनको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, तालिम प्राप्त सुरक्षाकर्मी र अन्य जनशक्तिको परिचालन गरिएको छ ।

बाढी तथा पहिरो प्रभावित ११ जिल्लामा नेपाल प्रहरीका पाँच हजार ६००, सशस्त्र प्रहरीका एक हजार सातसय र नेपाली सेनाका आठ हजार तीनसय तालिम प्राप्त सुरक्षाकर्मी र हेलिकोप्टर खोज तथा उद्धारमा खटिएका जनाइएको छ ।

उद्धार गरिएकालाई विद्यालयलगायतमा आश्रय दिइएको र जिल्ला दैवीप्रकोप उद्धार समितिले खानाको व्यवस्था मिलाएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, मन्त्रालयले औषधिसहितको स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा पठाउन स्वास्थ्य मन्त्रालयलाई आग्रह पनि गरेको छ ।

मन्त्रालयले यस विपत्तिमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना पनि प्रकट गरेको छ । रासस

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित