सिम्पानीका पहिरो पीडित परिवारलाई राहत प्रदान

पोखरा, ७ साउन । कपडा व्यवसायी एशोसिएशन कास्कीले पोखरा लेखनाथ महानगरपालिका वडा नं. १ सिम्पानीस्थित पहिरो पीडित परिवारलाई राहत प्रदान गरेको छ । गत असार २० गते घरमाथिबाट आएको पहिरोले सिम्पानीस्थित ४ परिवारको घरमा पूर्ण क्षति पुर्याएको थियो ।

पहिरोका कारण चार परिवारको खाद्यान्न, लत्ताकपडा, भाँडावर्तनमा पूर्ण क्षति पुगेको थियो भने उनीहरु विस्तापित हुने अवस्थामा छन् । पहिरो पीडितका लागि यसअघि नेपाल रेडक्रस सोसाइटीले केही खाद्यान्न र भाडावर्तन सहयोग गरेको थियो । कपडा व्यवसायीको यो सहयोग दोस्रो भएको पहिरो पीडित होम मगरले जानकारी दिए ।

राहत हस्तान्तरण कार्यक्रममा बोल्दै संस्थाका कार्यबाहक अध्यक्ष लक्ष्मण न्यौपानेले कपडा व्यवसायीहरु एक भएर सामाजिक उत्तरदायित्व अन्तर्गत राहत प्रदान गरेको भन्दै सानै सहयोग भएपनि स्वीकार गर्न आग्रह गरे। संस्थाका पूर्व अध्यक्ष एवं सल्लाहकार जनकराज पराजुलीले व्यवसायीहरु एक हुन सके जुनसुकै काम पनि सहज ढङ्गले गर्न सकिने भन्दै बाढी पीडित तथा पहिरो पीडितका लागि राज्यले केही गर्न नसकेको गुनासो गरे ।

संस्थाका महासचिव गजेन्द्रमान श्रेष्ठले कपडा व्यवसायी एशोसिएशन करिब १८ वर्षदेखि सामाजिक गतिविधिमा सक्रिय हुँदै आएको भन्दै अवका दिनमा पनि यस कार्यलाई निरन्तरता दिने बताए । राहत प्राप्त गर्ने पहिरो पीडितहरुमा मर्दिखोलाकी धनकुमारी राना मगर, लान्द्रुकका विष्णु थापा मगर, मुग्लिन चितवनका होम मगर र पर्वतकी पार्वती ढकाल रहेका छन् । उनीहरु हाल आफन्तको शरणमा बस्दै आएका छन् ।

कार्यक्रममा कपडा व्यवसायी एशोसिएशनका कार्यबाहक अध्यक्ष लक्ष्मण न्यौपाने, द्वितीय उपाध्यक्ष रामेश्वर अधिकारी, महासचिव गजेन्द्र श्रेष्ठ, कोषाध्यक्ष लेखनाथ पौडेल, सहायता कोषका संयोजक पूर्ण बहादुर थापा, सल्लाहकार जनकराज पराजुली, विष्णु प्रसाद तिमिल्सिनाका साथै कार्यसमिति सदस्यहरु रामचन्द्र तिमिल्सिना, सुमिता श्रेष्ठ, रजनी चापागाइँ, आनन्द बाटाजू, चोकबहादुर गुरुङका साथै स्थानीय सिद्धार्थ आमा समूहका सचिव राधा अधिकारी, पूर्व अध्यक्ष तारा कुँवर लगायत सहभागी थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित