महानगरलाई होटल संघको २५ बुँदे ध्यानाकर्षण

समाचारपाटी, पोखरा, २८ असार । पश्चिमाञ्चल होटल संघ पोखराले एकिकृत सम्पित्ति कर पुरानै दररेट अनुसार संकलन गर्न पोखरा लेखनाथ महानगरपालिका कार्यालयको ध्यानाकर्षण गराएको छ ।

संघका अध्यक्ष विकल तुलाचनको नेतृत्वमा बुधबार महानगरपालिका कार्यालय पुगेको संघका पदाधिकारीको टोलीले महानगर प्रमुख मानबहादुर जीसीलाई २५ बुँदे ध्यानाकर्षण पत्र बुझाएको थियो । स्थानीय स्वायत्त शासन ऐन अन्र्तगत महानगरले सरोकारवालाहरुसँग छलफल गर्दा एकृकित सम्पत्ति करको दर ५ बर्ष सम्म वृद्धि नगरिने भन्ने सहमति भए पनि त्यो पालना नभएको संघका अध्यक्ष विकल तुलाचनले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्रमा जनाइएको छ । खासगरी होटल क्षेत्रले ठूलो क्षेत्रफल ओगट्ने र अहिलेको दर अनुसार कर तिर्दा बढी मार पर्ने गरेको भन्दै संघले एकिकृत सम्पत्ति करको दर पुरानै दररेट अनुसार कायम गरिनुपर्ने जनाएको छ ।

पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण शीघ्र संचालन गर्न पनि ध्यानाकर्षण गराइएको छ । वसपार्क र पर्यटक बस पार्कको निर्माण, रत्नमन्दिर परिसरलाई जैविक विविधता उद्यान तथा वशुन्धरा पार्क र टुरिष्ट क्याम्पलाई पार्कको रुपमा विकास गर्न महानगर कार्यालय समक्ष माग गरिएको छ । कोमागाने पार्कलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मेला, उत्सव, महोत्सव, प्रदर्शनी, कन्र्सट आयोजना गर्नका निम्ती सुविधा सम्पन्न स्थायी आयोजना स्थलको रुपमा विकास गर्न पनि माग गरिएको छ ।

महानगरको वडा नम्बर ६ र १७ लाई विशेष पर्यटकीय क्षेत्र बनाइनुपर्ने, बाहिर टाँगिएका विद्युत र संचार सम्बन्धि तारहरुलाई भूमिगत गरिनुपर्ने, फेवा तालको संरक्षण, जलकुम्भी झारको नियन्त्रण, फेवाताल वरपर साइकल ट्रयाक र फुट् ट्रयाकको र्निमाण गरिनु पर्ने, फुटपाथ र सडक अतिक्रमण गरी जथाभावी निर्माण सामग्रीहरु राख्ने कार्यलाई निषेध गरिनु पर्ने विषय पनि ध्यानाकर्षण गराइएको छ । चोकहरुमा जानकारीमूलक सूचना र डिजिटल बोर्ड राखिनुपर्ने, ध्वनी प्रदूषणको अन्त्य गरिनुपर्ने, साउण्ड प्रुफ गरेर मात्र डिस्को र बारहरु संचालन गरिनुपर्ने माग पनि समेटिएको छ ।

पोखरा चक्रपथको निर्माण, पार्किङको उचित व्यवस्थापन, अन्तर्राष्ट्रिय प्रचलन अनुसारको रुट नं। र वस नं।द्धारा सेवा संचालन गरिनुपर्ने, पुरातात्विक सम्पदाहरुको संरक्षण, सांस्कृतिक संग्राहलयको निर्माण, अन्तर्राष्ट्रिय स्तरको सम्मेलन केन्द्र निर्माण, पोखरा सभागृहको जिर्णोद्धारा र क्रिकेट मैदानको निर्माण पनि ध्यानकर्षणका विषय छन् । सार्वजनिक शौचालयको निर्माण र फोहोर मैलाको उचित व्यवस्थापन, वेगनास ताललाई जलखेलकूदको केन्द्र्र बनाइनुपर्ने, छाडा चौपाया र कुकुरहरुको नियन्त्रणको विषय पनि संघले समेटेको संघका महासचिव गणेशराज पहारीले जानकारी दिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित