रानीपोखरीको पुनःनिर्माण समयमा सक्न निर्देशन

समाचारपाटी २७ असार – काठमाडौँ महानगरपालिकाले रानीपोखरीको पुनःनिर्माणको काम छिटो सक्न ठेकेदारलाई निर्देशन दिएको छ । सम्झौतानुसार यही असार मसान्तसम्म काम सक्नुपर्ने भए पनि अझै धेरै काम बाँकी रहेकाले कामपाले अबको केही समयमा काम नसके कारबाही गर्ने चेतावनी दिएको प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए । रानीपोखरी पुनःनिर्माणको जिम्मा पाएको वल्र्डवाइड कँडेल केएन केजी जेभीका निर्देशक अर्जुन कँडेलले भने गार्डेनरको जिम्मा आफूहरुलाई भए पनि यसको ढाँचा कामपाले नदिँदा काम रोकिएको बताए । कामपाले ढाँचा दिएको दुई महिनाभित्र नै आफूहरुले सबै काम सक्ने जिकिर उनको छ ।

कँडेलका अनुसार रु छ करोड २९ लाखमा आफूहरुलाई पोखरीको माटो निकाल्ने, साजसज्जा, पर्खाल बनाउने जिम्मा दिएको र अहिलेसम्म अन्य काम भइसकी साजसज्जाको काम मात्र बाँकी रहेकाले केही समयमा नै काम सकिनेछ ।

प्रताप मल्लले कान्छा छोरा चक्रवर्तीन्द्रको मृत्युपछि रानीलाई शोकबाट मुक्त गराउन दुई वर्ष लगाएर विसं १७२७ मा पोखरी निर्माण गराएको इतिहासमा उल्लेख छ । धेरै नदी, कुण्ड र तीर्थस्थलका जलले भरिएको ऐतिहासिक महत्व बोकेको ‘विष्णुतीर्थ’को पुनःनिर्माणको मौका छोपी पोखरीलाई पर्यटकीय गन्तव्यका रूपमा कामपाले विकास गर्दैछ । गत पुसको पहिलो सातामा नै पोखरीमा रहेका माछा बालाजु बाइसधारा र कमलपोखरीमा सारिएको छ । पोखरीको दक्षिणपट्टि प्रताप मल्ल र उनका छोराहरुसहितको सेतो हात्तीको मूर्ति छ । यस्तै पोखरीका चारैदिशामा गणेशलगायत मूर्ति पनि छन् ।

विसं २०७२ को भूकम्पले पूर्ण रुपमा क्षति पुर्‍याएको भाइटीकाका दिन मात्रै खुल्ने रानीपोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर यस वर्षको तिहारमा पनि सर्वसाधारणले प्रयोग गर्न नपाउने भएका छन् । रानीपोखरीको सबै पुनः निर्माणको काम कामपाले नै गर्ने भनिए पनि बालगोपालेश्वर मन्दिर नियमविपरीत निर्माण गरेको भन्दै पुरातत्व विभागले आफूले नै निर्माण गर्ने जनाई रोक लगाएपछि हालसम्म काम अघि बढ्न सकेको छैन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित