ढुंगेपाटनमा मधुमेह तथा मृगौला शिविर

समाचारपाटी, पोखरा, २४ असार । पोखरा लेखनाथ महानगरपालिकाको आयोजना र पोखरा, न्युरोडमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)को प्राविधिक सहयोगमा शनिबार पोखरा लेखनाथ वडा नं ३०, ढुंगेपाटनमा भएको कार्यक्रममा ३ सय ४० जनाको मधुमेह तथा मृगौलासम्बन्धी निशुल्क रक्त परीक्षण गरिएको छ । कार्यक्रममा थाइराइड, मधुमेह तथा हर्मन रोग विशेषज्ञ डा. तीर्थलाल उपाध्यायले नेपालीको तनावपूर्ण जीवनशैली, व्यायममा कमी, खानपानमा हेलचेक्रयाइ, जभाभावी औषधी प्रयोग जस्ता कारणले मधुमेह रोगीहरु बढिरहेको बताए ।

मृगौला रोग विशेषज्ञ डा. क्लारा पौडेलले मृगौला रोगीको संख्या बढिरहेको उल्लेख गर्दै मृगौलारोगबारे सचेतना, उपचार र जीवनशैली सुधारलाई सँगसँगै लैजानुपर्ने बताइन् । युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले महानगरवासीलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन आफूहरु क्रियाशील रहेको बताए । उनले सामाजिक उत्तरदायित्व वहन गर्दै हालसम्म २० हजार बढीलाई निशुल्क सेवा दिइसकेको जानकारी दिए ।

कार्यक्रममा महानगरका सामाजिक विकास शाखा प्रमुख दुर्गा न्यौपाने, कार्यक्रम संयोजक सरस्वती सापकोटा, खोप अधिकृत एकनारायण लम्साललगायतले बोलेका थिए । वडा नं. ३० का वडा सचिव दीपक कोइरालाले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता वडाध्यक्ष श्रीराम पोखरेलले गरेका थिए । कार्यक्रममा थाइराइड, मधुमेह तथा हर्मन रोग विशेषज्ञ डा. तीर्थलाल उपाध्याय, मृगौला रोग विशेषज्ञ क्लारा पौडेल र प्राविधिक सहयोग गर्ने युआरएललाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित