व्यवस्थापिका संसद वातावरण संरक्षण समितिको सभापतिमा नेपाल लोकतान्त्रिक पार्टीकी सांसद गीता क्षेत्री निर्विरोध निर्वाचित

समाचारपाटी, काठमाडौँ, २२ असार । व्यवस्थापिका संसद वातावरण संरक्षण समितिको सभापतिमा नेपाल लोकतान्त्रिक पार्टीकी सांसद गीता क्षेत्री निर्विरोध निर्वाचित हुनु भएको छ ।

विहिबार वातावरण संरक्षण समितिको सभापति पदका लागि भएको निर्वाचनमा नेपाल लोकतान्त्रिक पार्टीकी सांसद क्षेत्री निर्विरोध निर्वाचित हुनु भएको हो । क्षेत्रीलाई सभापति पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव समितिका सदस्य काँग्रेस सांसद भीमसेनदास प्रधानले र समर्थन नेकपा माओवादी केन्द्रकी सांसद सोनिया यादवले गर्नु भएको थियो ।

क्षेत्रीको मात्रै उम्मेदवारी परेकाले निर्विरोध सभापतिमा चयन हुनु भएको समितिका जेष्ठ सदस्य मानबहादुर विश्वकर्माले जानकारी दिनुभयो । नेपाल लोकतान्त्रिक पार्टीका जनकराज चौधरी पुष्पकमल दाहाल नेतृत्वको सरकारमा मन्त्री भएपछि समितिको सभापति पद रिक्त रहेको थियो ।

व्यवस्थापिका संसदको नियमावली २०७३ को नियम १ सय ८० को उपनियम ३ अनुसार वातावरण संरक्षण समितिको सभापति चयन गरिएको संसद सचिवालयले जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित