त्रिविको ५८ औं वार्षिकोत्सव, ६८ हजारको ग्रेसलिस्ट

समाचारपाटी १९ असार – त्रिभुवन विश्वविद्यालयको ५८ औं वार्षिक दिवसका अवसरमा आइतबार आयोजित बैठकले ५५औं ग्रेसलिस्ट पारित गरेको छ । ग्रेसलिस्ट रजिस्ट्रार डिल्लीराम उप्रेतीले प्रस्तुत गरेका थिए ।
उक्त सूचीअनुसार २०७३ असार २ देखि २०७४ जेठ १७ सम्मका स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधि उपाधि हासिल गर्ने ६८ हजार २ सय ९२ जना छन् । सबभन्दा धेरै शिक्षाशास्त्र संकायतर्फ २६ हजार ३ सय ९०, व्यवस्थापनमा १८ हजार १ सय ५३, मानविकीतर्फ १३ हजार २ सय ३६ र कानुनतर्फ ११ सय ८ छन् ।

त्यस्तै, विज्ञान तथा प्रविधि ४ हजार ३ सय ५४, इन्जिनियरिङतर्फ २३ सय ९३, चिकित्साशास्त्र १९ सय ८७, कृषि र पशुविज्ञानमा ४ सय ३१ र वनविज्ञान अध्ययन संस्थानतर्फ २ सय ४० जना उपाधियोग्य भएका छन् । उनीहरूलाई आगामी पुसमा आयोजना हुने दीक्षान्त समारोहमा उपाधि प्रदान गरिनेछ ।

राजाकालीन ढर्रा यथावत्
कीर्तिपुरस्थित त्रिविको नवनिर्मित प्रवेशद्वार उद्घाटन समारोहले ‘पञ्चायती ढर्रा’ को झल्को दिएको थियो । त्रिवि पदाधिकारी फूलको बुके र कर्मचारी तथा शिक्षक हातमा फूलको गुच्छा लिएर झन्डै एक घण्टा ‘प्रजावत्’ लामबद्ध थिए । प्रमुख अतिथि प्रधानमन्त्री शेरबहादुर देउवाको स्वागतार्थ त्रिविका उपकुलपति प्राध्यापक खनियाँ, शिक्षाध्यक्ष प्राध्यापक सुधा त्रिपाठी, रजिस्ट्रार डिल्लीराम उप्रेती, डिनहरू, विभागीय प्रमुखहरू तथा कर्मचारीहरू हात–हातमा फूलगुच्छा लिएर उभिएका थिए । प्रधानमन्त्री देउवाले २० मिनेट समय खर्चेर प्रत्येकका हातबाट फूलगुच्छा ग्रहण गरेका थिए ।

गत वर्ष असार २९ गते सम्पन्न त्रिवि बैठकमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई यसैगरी तिनै पदाधिकारी, कर्मचारी, शिक्षक फूलगुच्छासहित लामबद्ध भएर स्वागत गरेका थिए । ओलीले औपचारिक सभा विसर्जन गरेलगत्तै ‘एउटा कुरा भन्नु छ’ भन्दै सम्झाएका थिए, ‘स्वागतका निम्ति फूलगुच्छा चाहिन्छ । एउटा फूलगुच्छा भए पुग्छ । धेरैवटा माला, धेरैवटा खादा आवश्यक छैन । एक जना जो अगाडि हुन्छ, उसले एउटा पुष्पगुच्छा दिने र बाँकीले नमस्कार गरे पुग्यो ।’

लामबद्ध भएर फूलगुच्छा दिनु अव्यावहारिक भएको उल्लेख गर्दै ओलीले भनेका थिए, ‘पुरानो ढाँचा छाडेर नयाँ ढाँचामा एउटा पुष्पगुच्छाले एक जनाले स्वागत गरे पुग्छ । त्यो युनिभर्सिटीले नै गरेको हो नि । त्यसकारण यसलाई अलिकति अगाडि लैजाऊँ भन्ने लाग्छ ।’ उतिखेरै शिक्षाध्यक्ष प्राध्यापक सुधा त्रिपाठीले भनेकी थिइन्, म यो कुराको समर्थन गर्छु । ओलीले पनि तत्कालै ‘थ्यांक यु’ भनेर धन्यवाद दिएका थिए । ठीक एक वर्षपछि त्रिविमा पुन: त्यही दृश्य दोहोरिएको हो ।

राजा त्रिभुवनका नाममा २०१६ सालमा स्थापना गरिएको हो, त्रिभुवन विश्वविद्यालय । शाहीकालसम्म विश्वविद्यालयको कुलपति राजा नै रहन्थे । सहकुलपति शिक्षमन्त्री रहन्थे । उपकुलपति राजाले नियुक्त गर्थे । २०६२/६३ को राजनीतिक परिवर्तनपछि विश्वविद्यालयको कुलपति प्रधानमन्त्री रहने व्यवस्था गरियो । पञ्चायतकालमा विश्वविद्यालय राजाको मातहत रहन्थ्यो ।

प्रजातन्त्र र त्यसपछि लोकतान्त्रिक गणतन्त्रमा राजनीतिक दलहरूको भागबन्डामा चल्दै आएको छ । विश्वका अधिक मुलुकमा विश्वविद्यालयको कुलपतिमा विशिष्ट प्राज्ञिक व्यक्तिबाट नियुक्त गर्ने परम्परा छ

माघभित्र सबै तहको निर्वाचन : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी माघभित्रै सबै तहको निर्वाचन गर्ने बताएका छन् । ‘वर्तमान सरकार संविधान सफल कार्यान्वयन गर्न तत्पर छ,’ स्थानीय तह दोस्रो चरणको निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न भई मुलुकलाई सहज तुल्याएको उल्लेख गर्दै देउवाले भने, ‘यसमा नागरिकको उत्साहपूर्ण सहभागिताले लोकतन्त्रको स्थायित्व र संविधानको कार्यान्वयन थप सहज भएको महसुस गरिएको छ । आगामी माघ महिनाभित्र सबै तहको निर्वाचन गराई मुलुकलाई स्थायित्व र विकासको मार्गमा अगाडि बढाउनु सरकारको पहिलो प्राथमिकता रहेको छ ।’

त्रिविको ५८औं वार्षिक दिवसका अवसरमा आइतबार आयोजित बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘नेपालको उच्च शिक्षाको क्षेत्रमा नेतृत्वदायी रूपमा रहँदै आएको त्रिविको भूमिका सधैं महत्त्वपूर्ण छ ।’ त्रिविका कुलपति तथा सभाध्यक्षसमेत रहेका प्रधानमन्त्री देउवाले भने, ‘देशको सबभन्दा जेठो विश्वविद्यालयले विश्वका प्रतिष्ठित विश्वविद्यालयका जनशक्तिसँग प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गरी देशको आवश्यकता परिपूर्ति गर्ने कार्यमा सफलता हासिल गर्न सक्नुपर्छ ।’

त्रिविका सहकुलपति शिक्षामन्त्री गोपालमान श्रेष्ठले विश्वविद्यालयमा सञ्चालित उच्च शिक्षाका कार्यक्रमलाई विश्व परिवेशअनुकूल गराउन र उत्पादित जनशक्ति गुणात्मक रूपले विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउनुपर्ने बताए । उपकुलपति तीर्थराज खनियाँले त्रिवि दिवसलाई फरक ढंगले मनाइएको उल्लेख गर्दै प्रविधियुक्त शिक्षाको थालनी गरिएको जानकारी दिए ।

उनले भने, ‘विज्ञान शिक्षाको विस्तार, वाईफाई र ई–लर्निङको व्यवस्थासहित खुला तथा दूरशिक्षाको समेत थालनी भएको छ । साथै, ई–एडमनिस्ट्रेसनको प्रयोगलाई प्रोत्साहित गरिएको छ ।’ उक्त अवसरमा प्रधानमन्त्री देउवाले कीर्तिपुरमा नवनिर्मित त्रिवि प्रवेशद्वार उद्घाटन गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित