पहिरोमा पुरेर एकै परिवारका ३ को ज्यान गयो

समाचारपाटी १८ असार –  शनिबार राति पहिरोले घर पुर्दा महाशिला गाउँपालिका १ होश्राङ्दीको एकै परिवारका ३ जनाको घटनास्थलमै ज्यान गएको छ । मृत्यु हुनेमा ६३ वर्षीय तीर्थ मल्लठकुरी, उनकी आमा ८० वर्षीया बेलकुमारी मल्ल र श्रीमती ५५ वर्षीया यामकुमारी मल्ल रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । पहिरोमा परी उनको २ तल्ले घर, नजिकैको गोठ पुर्णरुपमा क्षति भएको छ । गोठका गाईभैंसी समेत बेपत्ता भएको प्रहरी निरीक्षक मधुकरजंग विष्टले बताए ।

पहिरोमा बेपत्ता भएका मल्ल परिवारका सदस्यको खोजतलासमा खटिएका हुवास इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवीप्रसाद पौडेलका अनुसार स्थानीय र प्रहरीको प्रयासमा बिहान १० बजे मात्रै मृतक भेटिएका हुन् । पहिरोले छिमेकी तिलबहादुर मल्लको गोठ पुरिंदा त्यहाँका पशुचौपाया समेत बेपत्ता भएको पौडेलले बताए । शनिबार साँझदेखि परेको निरन्तरको वर्षासँगैको पहिरोले आसपासका बस्ती समेत जोखिममा छन् । पहिरोले पुगेको क्षतिको सम्पुर्ण विवरण आउन अझै केही समय लाग्ने जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

यसैबीच वर्षासँगै ठाउँठाउँमा पहिरो जाँदा पोखरा–बाग्लुङ राजमाग शनिबार रातिदेखि अवरुद्ध हुँदै खुलाउने क्रम जारी छ । प्रहरीका अनुसार शनिबार राति कुश्माको खरेहा, बढारेखोला, चुवा, गिलमीरिखोला, पाङलगायत स्थानमा पहिरोले अवरुद्ध पारेको सडक राति नै खुलाइएको थियो । बिहान साढे ६ बजे तिलाहारमा खसेको पहिरो करिव एक घण्टा लगाएर हटाएपछि सञ्चालन भएको सडकका ठाउँठाउँमा पहिरो खस्ने क्रम दिउँसो १२ बजेसम्म पनि नरोकिएको प्रहरी निरीक्षक विष्टले बताए ।

सडकमा प्रहरी र डोजर तयारी अवरुथामा राखिएकोले पहिरो खस्नेबित्तिकै हटाएर सवारी सञ्चालन गरेको उनले बताए । प्रहरीका अनुसार पहिरो खसेर सडक १५ मिनेट देखि एक घण्टासम्म अवरुद्ध हुने क्रम चलिरहेको छ । ठाउँठाउँमा खस्ने पहिराका कारण पोखरा–बाग्लुङ राजमार्गको यात्रा जोखिमपूर्ण बनेको छ । सडकमा खसेका पहिराबाट अहिलेसम्म कुनै मानवीय र भौतिक क्षति भने नभएको प्रहरीले जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित