स्थगित भएको मतगणना अझै सुचारु भएन

समाचारपाटि १८ असार – खसेको मत भन्दा गणना भएको मत बढी देखिदा कञ्चनपुरको पुनर्वास नगरपालिकामा शनिबारदेखि मतगणना स्थगित भएको छ । वडा नं. १ मा खसेको मत भन्दा उम्मेद्वारहरुले पाएको मत बढी देखिएपछि विवाद हुंदा मतगणना स्थगित भएको हो । शनिबार सांझदेखि स्थगित भएको मतगणना आईतबार दिउसो सम्म पनि सुचारु हुन सकेको छैन ।

उक्त वडामा जम्मा खसेको मत २ हजार ६ सय ७९ हो । जसमा १ सय ४ मत बदर छ । सदर मतसंख्या २५ सय ७५ भएपनि प्रमुख, उपप्रमुख र वडाध्यक्ष सहित सबै उम्मेदवारको मत बढी देखिएको छ ।

प्रमुखको २५ सय ८१, उपप्रमुखको २६ सय ८८ र वडाध्यक्षको २६ सय ६ मत देखिएको छ । वडा नं. १ मा शुक्रबार मतगणना सकिएर परिणाम सार्वजनिक भएपनि शनिबार सांझ मात्रै उक्त विवाद बाहिर आएको हो ।

‘सबै दलका प्रतिनिधिले दोहोर्‍याएर जोड्दा सबै उम्मेद्वारले पाएको मत बढी देखिएको हो’ पुनर्वासका निर्वाचन अधिकृत रमेश गौतमले भने, ‘सबैजना बसेर उक्त विवाद मिलाइसकिएको छ ।’ उनले निर्वाचन आयोगबाट समेत मतगणना सुरु गर्न निर्देशन आईसकेको र सबै दलका प्रतिनिधि बोलाएर गणना गर्ने विषयमा छलफलको तयारी भईरहेको बताए ।

शनिबार साँझ सम्म ११ हजार ६ सय २ मत गणना भएको छ । जसमा एमालेले प्रमुखमा ४ हजार ७४ र उपप्रमुखमा ३ हजार ३ सय ३६, कांग्रेसले प्रमुखमा ३ हजार ३६ र उपप्रमुखमा ३ हजार १०४ तथा माओवादी केन्द्रले प्रमुखमा ३ हजार ४ सय ११ र उपप्रमुखमा ३ हजार ५ सय ३९ मत पाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित