Home | About Us | Contact

आज साउनको पहिलो सोमबार, बिहानैदेखि केदारेश्वरमा भिड

समाचारपाटी, पोखरा, २ साउन । साउनको पहिलो सोमबार आज पोखरा लगायत देशभरका शिव मन्दिरहरुमा भक्तजनहरुको भिड लागेको छ । पोखराको केदारेश्वरमा बिहानै देखि दर्शनार्थीको भिड लागेको छ ।

बगरस्थित गाईघाटमा स्नान गरि सेती गण्डकीको जल केदारेश्वरमा चढाउने चलन अनुसार आज दर्शनार्थीहरुले बोलबम भन्दै केदारेश्वरमा जम्मा भएका छन् ।

यस वर्ष साउनमा पाँच सोमबार परेको छ । पाँचवटा सोमबार परेको साउनबाट नयाँ व्रतालुले पनि साउने सोमबारको व्रत सुरु गर्छन् । साउनको सोमबार व्रत गरेमा मनको इच्छा पूरा भई अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।

यस्तै काठमाडौँको पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

महिनामा साउन र बारमा सोमबार भगवान शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा भक्तजनको भीड लागेको हो । साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ ।

नेपालकै पवित्र तीर्थस्थल चितवनको देवघाटमा पनि सोमबारे बोलओम मेला सुरु भएको छ । आइतबार साँझ देखिनै देवघाटमा मेला भर्न आएका दर्शनार्थीको बिहानैदेखि पूजाआजामा भीड देखिएको छ ।

साउन महिना वर्षकै चोखो महिनाको रुपमा लिइने गरिएको र साउनमा पाँच वटा सोमबार परेकाले आजदेखि साउन अन्तिमसम्म मेला आयोजना गरिएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ । नेपालका विभिन्न जिल्लासहित विशेषगरी भारतबाट समेत श्रद्धालु भक्तजन आउने गर्दछन् ।

देवघाटधाम संरक्षण प्रतिष्ठान चितवनले मेला आयोजना गरेको हो । हरेक आइतबार ४ बजेदेखि सोमबार दिउँसो २ बजेसम्म मेला चल्ने जनाएको छ । चितवन, नवलपरासी र तनहुँको सङ्गमस्थलमा देवघाट पर्छ ।

यो पटक मेलामा लोप हुँदै गइरहेको भानुभक्तिय रामायणलाई सङ्गीतको धुनमा प्रस्तुत गरिने र एक हजार आठ शिवमन्त्रद्वारा होम गरिने प्रतिष्ठानका अध्यक्ष राजेन्द्रकुमार पियाले जानकारी दिए ।

मेलामा चितवन, नवलपरासी, रुपन्देही, मकवानपुर, कपिलवस्तु, लमजुङ, तनहुँ, गोरखा, धादिङ, काठमाडौं लगायतका जिल्लाबाट भक्तजन आउने गरेका छन् ।
आएर शिवलाई जल चढाए पुण्य हुने र मनोकामना पूरा हुने विश्वास छ । बोलबम बोलबम भन्दै भक्तालु पहेँलो बस्त्र लगाएर खाली खुट्टामा देवघाट आउने गर्दैछन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित