Home | About Us | Contact

फेदिखोला गाउँपालिकाको बजेटः जनप्रतिनिधीलाई गाडी होइन बाटो बनाउन डोजर ! सरकारी गाडी फिर्ता !!

समाचारपाटी, स्याङ्जा, १ साउन । स्याङ्गजा जिल्लाको सबैभन्दा सानो तथा कास्की जिल्लासँग सिमाना जोडिएको फेदिखोला गाउँपालिकाले आर्थिक वर्ष २०७४७५ का लागि राजश्व र व्ययको अनुमान, बजेट र निति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

गाउँपालिका सभाले शनिबार पारित गरेको बजेटमा गाउँपालिकाको यातायातलाई विशेष प्राथमिकतामा राख्न गाउँपालिकाले नै ७० लाख खर्च गरेर डोजर किन्ने भएको छ । “स्थानिय तहका अधिकांश जनप्रतिनिधिहरुले आफ्नो यातायातका लागि गाडी खरिद गर्न रकम विनियोजन गरे”, अध्यक्ष सुवेदीले भने, “तर मैले जनताको यातायातका लागि बाटो निर्माण गर्ने डोजर खरिद गर्न बजेट विनियोजन गरेको छु ।” उनले अगाडी भने, “कर्मचारीले महङ्गो भाडामा लिएको सवारी साधन हामी निर्वाचित भएर आए पछी ठिक मानेनौ र फिर्ता गरेका छौं ।”

गाउँपालिकाको प्रथम सभाले यो वर्षका लागि कुल १८ करोड ४४ लाख ११ हजार रुपैयाँ विनियोजन गरेको छ । जसमा चालु खर्च तर्फ १२ करोड ८० लाख ९० हजार रुपैयाँ विनियोजन गरिएको छ भने पुजीँगत खर्च तर्फ ५ करोड ६१ लख २१ हजार रुपैयाँ छुट्याइएको छ । बजेटका लागि ससर्त अनुदान मार्फत ८ करोड २२ लाख ११ हजार रुपैयाँ र निसर्त अनुदान मार्फत १० करोड रुपैयाँ र बाँकी राजश्वबाट रु २० लाख रुपैयाँ प्राप्त हुने जनाइएको छ ।

बजेटले गाउँपालिकामा जेष्ठ नागरिकहरुका लागि स्वास्थ्य स्याहर कार्यक्रम पनि घोषणा गरेको छ । जसमा मासिक रुपमा टोलटोलमा स्वास्थ्यकर्मी पठाएर निःशुल्क स्वास्थ्य परिक्षण, औषधी वितरण तथा परामर्श सेवा प्रदान गरिनेछ । त्यसै गरी प्रविधिक शिक्षाको पुर्वाधार विकास र डेस्टेन्ट लर्निङ्ग कक्षा शिक्षण यसै वर्ष ३ वटा विद्यालयबाट सुरुवाट गर्ने पनि बजेटमा उल्लेख छ ।

त्यसै गरी बजेटमा पर्यटन प्रवद्र्धनका लागि होमस्टेको विकास गर्ने, पदयात्रा मार्गहरु खोल्ने तथा विस्तृत तथा एकिकृत पर्यटन विकास गुरुयोजना निर्माण गरिने उल्लेख छ । त्यसै गरी युवा लक्षित रोजगार बैंक स्थापना, गाउँपालिकाले वडा कार्यालय भवन निर्माण, एकिकृत विकास योजना निर्माण, एक गाउँ, एक उत्पादन कार्यक्रम, भाटखोला लघु जलविद्युत, माछापालन र सिचाइ आयोजना, बिउ बैङ्क स्थापना गर्ने लगायतका कार्यक्रमहरुलाई पनि प्रमुखताका साथ अगाडी बढाइएको बताइएको छ ।

त्यस्तै गाउँपालिकाले फेदीखोला रङ्गशालाको स्तरोन्नती, क्रीकेट मैदान निर्माण, गाउपालिकाको प्रोफाइल निर्माण, सामुदायिक रेडियो स्थापना, एक घर एक करेसाबारी कार्यक्रम, एकिकृत बस्ती विकास कार्यक्रम आदिका लागि पनि बजेट विनियोजन गरिएको वडा नं. ५ की वडा अध्यक्ष देउकुमारी गुरुङ्गले बताइन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित