Home | About Us | Contact

माथिल्लो कर्णाली जलविद्युत आयोजनाको जग्गाको मुआब्जा साउनबाट सुरु हुने

समाचारपाटी, काठमाडौँ, २१ असार । नौं सय मेघावाट क्षमताको राष्ट्रिय गौरवको आयोजना माथिल्लो कर्णाली जलविद्युत आयोजनाको जग्गाको मुआब्जा वितरणको काम श्रावणबाट सुरु हुने भएको छ ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले माथिल्लो कर्णाली जलविद्युत आयोजनाको जग्गा अधिग्रहणको काम सकिएकाले अव श्रावणबाट मुआब्जा वितरणको काम सुरु हुने बताउनु भएको हो । आयोजना निर्माणको जिम्मेवारी पाएको जिएमआर कम्पनीले बुधबार काठमाडौंमा आयोजना गरेको सरोकारवाला निकायसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले जग्गाको मुआब्जा वितरण बैकिङ प्रणालीमार्फत् हुने व्यवस्था गरिएको पनि स्पष्ट पार्नु भयो ।

सरकारले माथिल्लो कर्णाली जलविद्युत आयोजनाको काममा पनि स्थानीय जनशक्ति, स्रोत र साधनको अधिकतम परिचालन गर्ने नीतिगत व्यवस्था गरेको छ । स्थानीय जनशक्ति, स्रोत र साधान परिचालन गर्ने संवैधानिक व्यवस्था अनुसार काम अघि बढाउन निर्माण कम्पनी र सरोकारावाला निकायबीच छलफल भइरहेको पनि लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीले बताउनु भयो ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले स्थानीय तहको आर्थिक समृद्धिमा टेवा पु¥याउन आयोजनाले सघाउ पु¥याउने विश्वास व्यक्त गर्नु भयो । उहाँले स्थानीय जनतालाई रोजगारीको अवसर दिन, त्यहाँको शिक्षा, स्वास्थ्य क्षेत्रको विकास गर्न र पूर्वाधार विकासको क्षेत्रमा फडको मार्न आयोजना निर्माण कार्यले महत्वपूर्ण योगदान दिने पनिउल्लेख गर्नु भयो ।

१६ खरव लागत अनुमान गरिएको यो आयोजना निर्माणका लागि थप पूँजी जुटाउन लगानी बोर्डले आवश्यक पहल गरिरहेको छ । आयोजना निर्माणका लागि विश्व बैंकले ७० प्रतिशत लगानी गर्ने समझदारी भईसकेको छ । आयोजनाको निर्माणका लागि एशीयाली विकास बैंक जस्ता अन्तराष्ट्रिय वित्तिय संस्थाहरुबाट पनि ऋण प्रवाह हुने व्यवस्था गरिएको लगानी बोर्डले जनाएको छ । यता, आयोजना निर्माण कम्पनीले भने आयोजनाका लागि पूँजी जुटाउने कार्य अझै पनि चुनौतिपूर्ण रहेको जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित