Home | About Us | Contact

त्रिविको चरम लापरबाही : १९५ उत्तरपुस्तिका नै हराए

समाचारपाटी १९ असार – काठमाडौं : त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले स्नातकोत्तर तह पहिलो वर्षको परीक्षा दिएका एक सय ९५ जना परीक्षार्थीको उत्तरपुस्तिका हराइदिएको छ । धोबीचौरस्थित पब्लिक युथ क्याम्पसमा एमबीएस प्रथम वर्षको परीक्षा दिएका एकाउन्टिङ विषयको उत्तरपुस्तिका हराएको हो । चैतमा परीक्षामा सम्मिलित तीन सय परीक्षार्थीमध्ये एक सय ९५ जनाको नतिजामा अनुपस्थित आएपछि यसको रहस्य खुलेको हो । उनीहरूको नतिजा गत साता सार्वजनिक भएको थियो ।

नतिजामा अनुपस्थित आएको घटनालाई परीक्षा नियन्त्रण कार्यालयले सुरुमा गोप्य राखेर परीक्षार्थीलाई परीक्षामा हाजिर नगरेका कारण अनुपस्थित आएको र फेरि परीक्षा दिनुपर्ने बताएको थियो । कार्यालयले परीक्षामा हाजिर नै नगरेको दाबी गरे पनि क्याम्पसले परीक्षा केन्द्र रहेको बसुन्धारास्थित साउथ वेस्टर्न स्टेट कलेजमा गएर विद्यार्थीको हाजिरीको प्रतिलिपि पेस गरेको थियो । हाजिरीको प्रतिलिपि पेस गर्दै नतिजा प्रकाशन गरिदिन कार्यालयलाई दबाब दिएपछि मात्र उत्तरपुस्तिका हराएको पनिकाले पुष्टि गरेको हो ।

क्याम्पसका एक प्राध्यापकले भने, ‘सुरुमा पनिकाले हामीलाई विभिन्न वहाना बनाउँदै परीक्षार्थीले हाजिर नगरेको कारण नतिजा नआएको दाबी गर्‍यो । तर, हाजिरीको प्रतिलिपि देखाएपछि बाध्य भएर उत्तरपुस्तिका हराएको हुन सक्ने भनेर स्विकार्‍यो ।’ विश्वविद्यालयजस्तो गरिमा बोकेको संस्थाले उत्तरपुस्तिका परीक्षणमा लापरवाही गर्दा विद्यार्थीको भविष्य नै संकटम परेको छ ।

क्याम्पसका सहायक प्रमुख बलराम थापाले भन्नुभयो, ‘विद्यार्थी हाम्रो नतिजा खोइ भन्दै बारम्बार हामीलाई दबाब दिन्छन् । क्याम्पस तोडफोड गर्छौ, प्राध्यापक सबैलाई क्याम्पसमा थुनिदिन्छौं भन्छन् । तर, गल्ती हामीले गरेका होइनौं । उनीहरूलाई चित्त बुझाउन निकै कठिन भएको छ ।’ नतिजामा अनुपस्थित आएको विषयमा आइतबार विद्यार्थी र परीक्षा नियन्त्रकसँग छलफल भएको थियो । नतिजामा अनुपस्थित आएकामध्ये एक विद्यार्थी प्रथम गुरुङले भन्नुभयो, ‘त्रिविले बारम्बार यस्तो गल्ती गर्छ । तर, गल्ती गर्नेलाई सामान्य कारबाही गरेर छाडिदिन्छ । जसको मारमा विद्यार्थी परेका छन् ।’

कसले गल्ती गर्‍यो र किन गर्‍यो भन्ने विषयमा कार्यालयले स्पष्ट सूचना नदिएसम्म परीक्षामा नबस्ने चेतावनी विद्यार्थीले दिएका छन् । गुरुङले भन्नुभयो, ‘हामी त परीक्षामा बसौंला कुनै समस्या भएन । तर, यस्तो घटना बारम्बार किन दोहोरिन्छ ? यसको विषयमा त्रिविले स्पष्ट पार्नुपर्छ । किनभने त्रिवि सुधार्ने दायित्व हाम्रो पनि हो ।’

परीक्षा नियन्त्रक पुष्पराज जोशीले उत्तरपुस्तिक हराएको विषयमा गम्भीर अध्ययन गरेर दोषीलाई कारबाही गरिने बताउनुभयो । ‘नहुने गल्ती भइहाल्यो । अब विद्यार्थीलाई समस्या नपर्ने गरी परीक्षा सञ्चालन गर्छौं । दोषीलाई पनि हदैसम्मको कारबाही गर्छौं’, जोशीले भन्नुभयो ।

तर, उत्तरपुस्तिका परीक्षणमा लापरबाही गर्ने व्यक्तिको नाम भने कार्यालयले गोप्य राखेको छ । अध्ययनकै क्रममा रहेका कारण कसले उत्तरपुस्तिका परीक्षण गरेको भन्ने स्पष्ट नभएको जोशीको भनाइ छ । उत्तरपुस्तिका परीक्षणको क्रममा हराएको घटना यो नौलो भने होइन । गत वर्ष पनि स्नातक तहअन्तर्गत बीएडमा अध्ययनरत परीक्षार्थीको उत्तरपुस्तिका परीक्षणका क्रममा हराएपछि पुनः परीक्षा लिइएको थियो । त्यतिखेर उत्तरपुस्तिका हराउने नेपाली विषयका प्राध्यापक ब्रतराज आचार्यलाई सामान्य स्पष्टीकरण मात्र सोधिएको थियो ।

त्रिविकै एक प्राध्यापकले भने, ‘उत्तरपुस्तिका परीक्षण गर्ने प्राध्यापकले कापीको पोको घरको कुनामा थन्क्याएका हुन्छन् उनैलाई थाहा हुँदैन । परीक्षणमा पनि कुनै गम्भीरता देखिँदैन । अहिलेको घटना यही लापरबाहीको परिणाम हो ।’

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित