Home | About Us | Contact

मतगणनाले विराटनगरको आदर्श माविमा परीक्षा तथा नयाँ भर्ना प्रभावित

समाचारपाटी १९ असार – मतगणना सम्पन्न हुन समय लाग्ने भएकाले विराटनगरस्थित आदर्श माध्यमिक विद्यालयले थप दुई साताका लागि बिदा घोषणा गर्नु परेको छ । यसले गर्दा शैक्षिक क्लालेन्डरअनुरुप निर्धारित विद्यालयको २१ असारको जाँच र नयाँ भर्ना प्रभावित भएको छ । सरोकारवालाहरुले महानगरपालिकाको भोट गन्नलाई यहाँकै सबैभन्दा ठूलो, प्रतिष्ठित एवं सुरक्षित उक्त विद्यालयलाई छानेको हो । मतदान केन्द्रसमेत तोकिएको कारणले उसै पनि उक्त विद्यालयलाई ११ असारदेखि साताभरिका लागि बन्द गरिएकै थियो ।

यसअघि मतगणना अन्यत्र गर्छन् भन्ने आशमा विद्यालयले १८ असारदेखि पठनपाठन सुरु हुने सूचना जारी गरेको थियो । यो अनुरुप आइतबार विद्यालय पुगेका बालबालिकाले बिदा थपिएको सूचना पाएर पुन: घर फर्केका थिए । तत्कालै गणना सकिने संभावना नरहेकाले १ साउनसम्मका लागि बिदा गरिएको उक्त विद्यालयका सहप्राचार्य भगिरथ पोखरेलले बताए । ‘१८ असारदेखि विद्यालय लाग्ने सूचना जारी गरेका थियौं,’पोखरेलले भने,‘विद्यालयलाई मतगणना केन्द्रसमेत बनाइएपछि थप केही दिन विद्यालय बन्द गर्नु परेको हो ।’

यस्तो माहोलमा पढाइ गराउन नसकिने हुनाले कहिलेदेखि विद्यालय सञ्चालन गर्दा ठीक हुने सम्बन्धमा शनिबार निर्वाचनमा संलग्न न्यायाधीश, प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरुको बैठक बसेको थियो । विद्यालयका थप शिक्षकहरुसमेत परिचालन गरी चाँडै मतगणना सकाउने अनुमानअनुरुप १ साउनसम्मका लागि विद्यालय छुट्टी गर्ने निर्णय लिइएको थियो । अहिले पनि उक्त विद्यालयका दैनिक ४/५ शिक्षक गणनामा सहभागी भइरहेका छन् । निर्वाचन कार्यालयले विद्यालयसँग शिक्षकको थप टोली मागेको छ ।

गर्मी बिदामा समायोजन गर्ने गरी थप दुई साताका लागि विद्यालय बन्द गरिएको हो । विद्यालयले पहिलो त्रैमासिक जाँच सकिएपछि वर्षेनी १७ दिने गर्मी बिदा गर्दै आएको थियो । यो बाध्यात्मक निर्णयका कारणले स्रोत केन्द्रले २१ असारदेखि लिने भनिएको कक्षा ४ देखि १० सम्मको पहिलो त्रैमासिक परीक्षा, विद्यालयले एघार कक्षा र प्राविधिक शिक्षामा लिइने नयाँ भर्ना प्रभावित भएको सहप्राचार्य पोखरेलले बताए ।

अन्य विद्यालय एवं स्रोत केन्द्रसँग सल्लाह गरेर साउन दोस्रो सातातिर जाँच सार्ने विद्यालयको सोच छ । छुट्टी गर्नुपर्ने साउने झरीको बेलामा यसपटक विद्यालय लगाउँदा भने अप्ठेरो पर्ने उनले औंल्याए । उक्त विद्यालयमा शिशुदेखि १२ कक्षासम्म १ हजार ४ सय विद्यार्थी पढ्छन् । विद्यालयमा प्राविधिक एसएलसी, कम्युटर इन्जिनियरिङमा स्नातक र दस जोड दुईमा विज्ञान, शिक्षा एवं व्यवस्थापन विषयको समेत पढाइ हुन्छ । माध्यमिक शिक्षा परीक्षा, एसईई उत्तीर्णको हकमा ९ असारदेखि विद्यालयले नयाँ भर्नाका लागि फारम वितरण गरेर एक लट प्रवेश परीक्षा समेत गरिसकेको छ ।

बालबालिकाको पढाइ चौपट हुने कारण देखाइ अघिल्तिरकै रंगशालाको कभर्ड हल वा छेउकै वीरेन्द्र सभागृहलाई मतगणनास्थल बनाउन विद्यालयले आग्रह पनि गरेको थियो । तर, निर्वाचन कार्यालयले जिल्ला शिक्षा कार्यालयका अधिकारीमार्फत उक्त विद्यालयका व्यवस्थापनलाई ठाउँ उपलब्ध गराउन दबाब दिएको थियो ।

अहिलेका लागि पढाइभन्दा मतगणना जरुरी भएको भन्दै सरोकारवाला पक्षहरुले आफूलाई नसोधिकनै कक्षाकोठाको डेस्क र बेन्च मिलाउन सुरु गरिसकेको विद्यालयका प्राचार्य दूर्गाप्रसाद चूँडालले बताए । मोरंगका जिल्ला शिक्षा अधिकारीले समेत मतगणनाका लागि विद्यालय उपलब्ध गराउन भनेपछि आफूले अस्वीकार गर्न नसकेको उनले बताए ।

उक्त विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवं कांग्रेसका मेयर पदका प्रत्यासी भीमप्रसाद पराजुलीले समेत चाँडो गणना सकाउने आश्वास दिएको प्राचार्य चूँडालले प्रस्ट्याए । ‘फराकिलो एवं सुरक्षाको दृष्टिकोणले सहज भएर उनीहरुले यो विद्यालयलाई मतगणना थलोको रुपमा छानेको हुनुपर्छ,’सहप्राचार्य पोखरेलले भने,‘तर विद्यार्थीको हितमा ठीक भएन ।’

दोस्रो संविधानसभा निर्वाचनको मतगणना पनि यही विद्यालयमा भएको थियो । मतगणनाको गति हेर्दा यो बिदाको अवधिमा सकिएला जस्तो छाँटकाँट नदेखेर विद्यालयका प्राचार्य चूडाल भने चिन्तित छन् ।‘यसोउसो गरेर जाँच र पढाइ मिलाउन सकिन्छ भनेर थप दुई साता छुट्टी गरेका हौं,’उनले भने,‘२ साउनदेखि त नलगाएमा विद्यालय र बच्चाबुच्चीको बिजोग हुन्छ ।’ अन्यत्रजस्तो कुनै खाले विवाद नभइ चाँडो गणना समापनको चूडालले कामना गरिरहेका छन् । यसरी विद्यालय बन्द गरिंदा नयाँ शैक्षिक सत्रमा एघार कक्षामा सयजना पनि विद्यार्थी नपुग्ने उनले चिन्ता व्यक्त गरे । गतवर्ष यहाँ एघार कक्षामा २ सय विद्यार्थी भर्ना भएका थिए ।

विद्यालयको प्रवेश ढोकाहरु भएकै उत्तर र दक्षिण मोडबाटै मतगणनालाई ध्यानमा राखेर आवागमन बन्द गरिएकाले नयाँ भर्ना फारम लिन आउने विद्यार्थीलाई समेत कठिन भएको छ । निर्वाचन कार्यालयको परिचय कार्ड नभएकाले विद्यालय परिसरमा प्रवेश समेत गर्न पाउँदैनन् ।

मतगणना नभइरहेको उत्तरतिरको भवनबाट विद्यालयले आफ्नो दैनिक प्रसासन सञ्चालन गरिरहेको छ । नयाँ भर्ना फारम लिन आउने अभिभावक एवं विद्यार्थीलाई अप्ठेरो भइरहेको हुनाले उत्तरतिरको प्रहरी ब्यारिकेडलाई अलिक पछिल्तिर सार्न विद्यालयले आग्रह गरेको छ ।

महत्वपूर्ण सरकारी शैक्षिक संस्था, अदालत, मालपोत, जिल्ला प्रसासन कार्यालय, अस्पताल र रंगशाला रहेको यस क्षेत्रमा निजी एवं सार्वजनिक सवारी साधनको आवागमनमा रोक लगाइएको छ । उक्त क्षेत्रमा सुरक्षाको कडा बन्दोबस्ती छ । अरुबेला स्थानीय र आगन्तुक दुवैले सजिलै र कम समयमा यी महत्वपूर्ण गन्तव्यमा पुग्नलाई यही मार्गको प्रयोग गर्छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित