Home | About Us | Contact

अमेरिकामा शरणार्थि बन्न खोज्ने तीन हजार नेपालीलाई अदालतको फैसलाले धक्का

टेक्सास । अमेरिकामा राजनीतिक शरण (एसाइलम) माग गरिरहेका तीन हजारभन्दा बढि नेपालीहरुलाई त्यहाँको एक पुनरावेदन अदालतले हालै गरेको एउटा फैसलाले धक्का दिएको छ । नेपालको राजनीतिक अवस्थामा सुधार आएको भन्दै सो अदालतले त्यहाँ एसाइलम खोज्ने एक नेपालीलाई ग्रीन कार्ड दिनु नपर्ने फैसला सुनाएको हो ।

न्यूयोर्कस्थित पुनरावेदन अदालत युनाइटेड स्टेट्स् कोर्ट अफ अपिल्स फर द सेकेन्ड सर्किट’ ले भनेको छ, ‘पछिल्लो समय नेपालको राजनीतिक एवं सामाजिक स्थितिमा सुधार आएको छ । परिवर्तित अवस्थामा नेपाली नागरिकलाई त्यहाँ कुनै खतरा छैन ।’

नेपालका रुद्रनरसिंह थापा क्षेत्रीले आफू कांग्रेसको कार्यकर्ता भएको र माओवादीले मार्ने धम्की दिएकाले नेपाल फर्किन सक्ने अवस्था नरहेको भन्दै एसाइलमका लागि निवेदन दिएका थिए । तर, सन् २०१४ को जूनमा इमिग्रेसन सम्वन्धी न्यायाधीशले उनको निवेदन अस्वीकार गरिदिए । त्यसपछि थापा २०१६ मा पुनरावेदन अदालत गएका थिए । पुनरावेदनले गत मे १६ मा फैसला सुनाउँदै उनको दाबी अस्वीकृत गरिदिएको हो ।

नेपालको अवस्था आवेदकले दावी गरेजस्तो त्रासदीपूर्ण नरहेको पुनरावेदनको फैसलामा उल्लेख छ ।

पुनरावेदनको यो फैसलाले अमेरिकामा एसाइलम खोजिरहेका ३ हजार ६ सय १ नेपालीहरुलाई चिन्तामा पारिदिएको छ । यी नेपालीहरुले पनि आफूलाई माओवादीबाट खतरा रहेको भन्दै एसाइलमको लागि आवेदन दिएका थिए, जुन अहिले विचाराधिन अवस्थामा छ । पुनरावेदनको फैसलालाई नजिर मानेर यी नेपालीहरुका आवेदन पनि स्वीकृत हुन सक्ने सम्भावना रहेको विश्लेषण गर्न थालिएको छ ।

नेपालीहरुका एसाइलमसम्वन्धि विचाराधिन मुद्दाहरुमध्ये न्यूयोर्कको अदालतमा मात्र २ हजार १० वटा छन् । त्यसैगरी क्यालिफोर्नियामा ७ सय ५६ र टेक्सासमा २ सय ६६ वटा मुद्दा विचाराधिन छन् ।

न्यूयोर्कको पुनरावेदन अदालतले गरेको फैसलामा अमेरिकी विदेश मन्त्रालयको प्रतिवेदनलाई उद्वृत गर्दै नेपालमा दोस्रो संविधानसभा चुनावमार्फत वैधानिक सरकारको निर्माण भएको र संविधान सभामा कांग्रेस नै ठूलो पार्टी भएको उल्लेख छ ।

नेपालमा माओवादी द्वन्द्व चर्किएका बेलामा हजारौं नेपालीहरुले असाइलम मुद्दामार्फत अमेरिकाको ग्रिनकार्ड प्राप्त गर्न सफल भएका थिए । पछिल्लो दिनमा नक्कली कागजात र फर्जी राजनीतिक कारण देखाउँदै राजनीतिक शरण लिने नेपालीहरुको संख्या ह्वात्तै बढेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित