Home | About Us | Contact

भारतीय पागल सीमा सुवेदी र बर्वराएका नेपालीहरु

सुमित्रा दवाडी
गोर्खाल्याण्ड आन्दोलन प्रति नेपालीहरुको सद्भावलाई लिएर नेपाली मूलकी आफूलाई एउटा मोडल बताउने भारतीय युवती सीमा सुवेदीले मध्यरातमा फेसबुक लाईभ गरेर नेपाल र नेपालीको भावनामा चोट पुग्ने कुरा बोलेको कुराले सामाजिक मिडिया भरिएको छ, सीमालाई जवाफ भन्दै कसैले भिडियो रेकर्ड गरेर तथानाम गाली गरेका छन् भने कसैले आफ्ना फेसबुकमा स्टाटसहरु लेखेका छन् ।

आफूलाई एक नम्बरको लेखक भन्नेहरु पनि मध्यरातमा फेसबुक लाईभ गरेर एकाएक ग्वाँ ग्वाँ रोएका छन्। त्यसै गरि धेरै अनलाईन मिडियाले सीमा सुवेदी प्रकरणलाई प्रसारण गर्दै आफ्ना भ्युअर्स बढ़ाएका छन्। तर मेरो भने यस बिषयमा छुट्टै धारणा छ: एउटा सुको हैसियतकी झण्डै मानसिक सन्तुलन नभएकी युवतीले नेपालीलाई बदनाम गरी भन्दैमा हामी त्यसैको पछाडि हात धोएर लाग्नु हुने थिएन।

हो, सीमा सुवेदीले नेपाल र नेपाली प्रति बोलेका कुराहरु सह्य छैनन् तर उसले रातारात चर्चित हुन गरेको तिकडमलाई झन् बढ़ावा दिने गरी आफ्नो मर्यादा बिर्सेर अपशब्द प्रयोग गर्ने, रुने जस्ता सबै खाले ब्यवहारहरु कसरी राम्रा हुन सक्छन् ?

नेपाल र नेपालीको ईज्जतको बारेमा सीमा सुवेदी जस्तो उच्छृंखल र दुई कौड़ीकी ठिटीले बोलेको कुरालाई लिएर त्यसको प्रतिरोधमा उत्रनु हास्यास्पद बाहेक केही होईन, सारा संसारलाई थाहा छ नेपाल र नेपालीको शाहस र गौरव, सन्सारमै एक मात्र स्वतन्त्रता दिवस नमनाउने हाम्रो देशलाई दुनियाले चिनेको छ, उसले नेपाल र नेपालीको बिरुद्द्मा बोलेका कुराहरुले कुनै अर्थ लाग्दैन।

एउटी उखरमाउली युवतीले नेपाल र नेपालीलाई अपमान गरी भन्ने कुरालाई लिएर उसैलाई मिडियामा छाउने गरी हाम्रा आफ्नै मूल मूद्दाहरु बिर्सेर हामीले यति धेरै बढ़ावा दिनु हुँदैनथ्यो। सीमा सुवेदी भन्ने युवतिको भिडियो मैले पनि हेरेँ, तर त्यो भिडियो हेर्दा उसले बोलेका कुराहरु आफै बिरोधाभास छन्, ऊ कुनै ईतिहाँस जानेकी मान्छे पनि होईन, भारतको कुनै सेलिब्रिटी पनि होईन, कुनै निर्णायक राजनीतिक नेतृ पनि होईन, उसले बोलेका कुराहरु एउटा ब्यक्तिले बोलेका कुराहरु हुन् संस्थाले होईन, त्यसैले एउटी पागल युवतीले बर्वराएको कुरालाई झन् हाईलाइट गरी प्रचार प्रसार गर्नु जायज होईन। जवाफ त त्यस्तालाई दिनुपर्छ, जसको हैसियत होस्, जवाफ त त्यस्तालाई दिनुपर्छ जसको ईमेज होस, त्यस्ता दुई कौड़ीका मान्छेले मानसिक सन्तुलन गुमाएर बोलेको कुरालाई हामीले झन् बढि मलजल गर्यौँ कि? उसलाई जवाफ दिने नाममा हामीले उसैलाई सेलिब्रिटी बनाएको कुरा हामीले पत्तै पाएनौँ ।

हामी नेपाली वीर छौँ, स्वाभिमानी छौँ, हामीलाई र हाम्रो देशलाई कसैले केहि नराम्रो भन्यो भने हाम्रो रगत उम्लन्छ तर यसको मतलब यो होईन कि कुनै पागलहरुले बोलेको कुरालाई हामी आफै आफ्नो संयमता गुमाएर तथानाम जवाफ दिन थालौँ, हामीले फेसबुकमा आक्रोश पोखेर होईन, आफूलाई आत्मनिर्भर र स्वाभिमानी आफै बनाउन सक्नुपर्छ। पुर्खाहरुको स्वाभिमानको फूर्ति लगाएर सामाजिक मिडियामा उफ्रेर हैन, समाजमा काम गरेर देखाउने कि ?

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित