Home | About Us | Contact

बेलायतमा सरकार गठनको प्रयास : कन्जरभेटिभ र डीयूपीबीच सहमति

समाचारपाटी, असार १३ – बेलायती प्रधानमन्त्री टेरेजा मेले सरकार गठनमा समर्थन जुटाउन सोमबार उत्तरी आयरल्यान्डको डेमोक्रेटिक युनियनिस्ट पार्टी (डीयूपी) सँग सम्झौता गरेकी छन् । जुन ८ मा भएको निर्वाचनमा सत्ताधारी कन्जरभेटिभ पार्टीले बहुमत प्राप्त गर्न असफल रहे पनि डीयूपीसँगको सम्झौतापछि प्रधानमन्त्री मेलाई सरकार गठनमा सहज हुनेछ । निर्वाचनमा कन्जरभेटिभले संसद्को ६५० सिटमध्ये ३१७ सिट जितेको थियो । डीयूपीको १० सिटको मद्दतले कन्जरभेटिभ पार्टीले अब सरकार गठन गर्न सक्नेछ । निर्वाचन परिणामलगत्तै दुई सातासम्मको वार्तापछि दुई पार्टीबीच सहमति भएको हो ।

डीयूपी प्रमुख अर्लेन फोस्टरले कन्जरभेटिभसँग भएको सम्झौताले आफू खुसी रहेको बताउँदै त्यससम्बन्धी विस्तृत विवरण पछि सार्वजनिक गरिने बताइन् । संसदको पूरै अवधि लागू हुने गरी गरिएको सम्झौताअनुसार डीयूपीले संसद्‍मा विश्वासको मत लिन र बजेट पास गर्न सरकारलाई समर्थन गर्नेछ । डीयूपीले भने नर्दन आयरल्यान्डका लागि रोजगारी र वित्तीय लगानी चाहेको छ । सम्झौताअनुसार उत्तरी आयरल्यान्डले दुई वर्षमा १ अर्ब ३ करोड डलर पाउनेछ । उक्त रकम अस्पतालदेखि सडक परियोजनामा लगानी गरिनेछ भने यसले उत्तर आयरल्यान्डको राजनीतिमा डीयूपीको प्रभाव बढाउनेछ । यसअघि डीयूपीका नेताहरूले यो सम्झौता ब्रिटिस सरकारको स्थायीत्वका लागि भएको बतँएका थिए ।

तर डीयूपीले केही विषयमा लिएको धारणालाई लिएर कन्जरभेटिभकै केही सांसदहरू यो सम्झौताका विपक्षमा छन् । उनीहरू डीयूपीले समलैंगिक विवाह र गर्भपतनविरुद्ध लिएको धारणाको विरुद्धमा छन् ।

सम्झौतालगत्तै विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री मेले डीयूपीले संसद्मा राष्ट्रिय सुरक्षा तथा ब्रेक्जिट मुद्दामा सरकारलाई समर्थन गर्ने बताएकी छन् । ‘डीयूपीले महारानीले संसदमा दिएको वक्तव्यमाथिको मतदान, बजेट, ब्रेक्जिट तथा राष्ट्रिय सुरक्षाका विषयमा कन्जरभेटिभ सरकारलाई सहयोग गर्नेछ,’ मेले भनिन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित