Home | About Us | Contact

वेम्ली एरिनामा नेपाली कन्सर्ट , दोहोरियो इतिहास

समाचारपाटि ५ आषाढ, सांगीतिक कार्यक्रमका लागि विश्वमै ‘आइकोनिक भेन्यु’ मानिन्छ– वेम्ली एरिना । ८२ वर्षअघि निर्मित उक्त मञ्चमा ओलम्पिक खेलदेखि अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरू म्याडोना, डेभिड बो, द हु, डोली पार्टन, स्टिभ वन्डर, प्रिन्स देखि द बिटल्स, रोलिङ स्टोन्स, आशा भोसले, ए आर रहमान लगायत सयौंले आफ्नो कला प्रस्तुत गरिसकेका छन् ।

महँगो त्यही अन्तर्राष्ट्रिय मञ्चमा शनिबार साँझ नेपाली गीत–संगीत गुन्जियो । साढे १२ हजार दर्शक क्षमताको उक्त भेन्युमा झन्डै ७ हजार नेपाली युवा ओइरिए । वेम्ली एरिना र वेम्ली स्टेडियम नेपाली युवाले ढाके ।

एकैपटक चारवटा नेपाली ब्यान्डले नेपाली गीत–संगीतलाई अन्तर्राष्ट्रिय उचाइमा पुर्‍याउने प्रयास गरे । युवा मनका ढुकढुकी गायक विपुल क्षत्री (ट्राभलिङ ब्यान्ड), अल्बाट्रोस, कुटुम्ब अनि एज ब्यान्डले एउटै प्लेटफर्ममा गीत–संगीत प्रस्तुत गर्दा युवा दर्शकले सँगै गाएर नाचेर साथ दिए । बसेर भन्दा उठेर हेर्ने दर्शक अत्यधिक थिए ।

कार्यक्रमको सुरुमै नेपाली लोकबाजाको उत्थानमा समर्पित लोकप्रिय ब्यान्ड कुटुम्बले ‘असारै महिनामा…’, ‘रातो र चन्द्र सूर्य…’, ‘आहा कलिलो तामालाई सोध राम…’ लगायतका गीत संगीत र धुन प्रस्तुत गरेर दर्शकलाई ‘वार्म अप’ गराएको थियो । विपुलको युवा क्रेज अत्यधिक देखियो ।

उनले ‘डढेलो लाग्यो…’, ‘अल्लारे यो जोवन…’, ‘सिरिरी हावा बग्यो सुस्तरी…’, ‘भेट भयो आज हामी…’ लगायत आफ्ना कयौं हिट आइटम प्रस्तुत गरे । एज ब्यान्डको ‘प्रयास हो मेरो…’, ‘नचाहेको होइन तिमीलाई…’ देखि अल्बाट्रोसको रक म्युजिकमा झुम्ने दर्शकको कमी रहेन । सन् २०१३ मा नेपथ्यले पहिलोपटक वेम्ली ऐरिना टेकेको थियो । नेपथ्यले रचेको इतिहास दोस्रो पटक यी ब्यान्डहरूले अनुशरण गरेका हुन् ।

विपुलकी फ्यान लन्डनको वेम्ली निवासी अप्सरा गुरुङले प्रतिष्ठित वेम्ली एरिनामा कन्सर्ट हुनु नेपाली संगीतमा एउटा फडको भएको बताइन् । झन्डै अढाई घण्टा दूरी पार गरेर फोकस्टनदेखि आएका तीर्थ दुरा पनि दंग देखिन्थे । उनले चार घण्टा लामो कार्यक्रममा दर्शकदीर्घाबाटै ननस्टप गाए, तस्बिर लिए ।
बी फेस्ट र पर्चा प्रोडक्सनले ‘जुन फेस्टिभल’ नाम दिएर कन्सर्ट गरेका हुन् । कार्यक्रमका लागि २५ सदस्यीय कलाकारको समूह बेलायत आएको छ ।

आयोजक पर्चा प्रोडक्सनका सीईओ समीर गुरुङले नेपाली कलाकार र गीतसंगीतलाई अन्तर्राष्ट्रिय मञ्च दिनु आफूहरूको मुख्य उद्देश्य रहेको बताए । नेपालीले हत्तपत्त आँट्न नसक्ने वेम्ली एरिनामा समीर गुरुङ, दीपेन्द्र लामा, सिद्धार्थ गुरुङ, कपिल गुरुङ, प्रशासन गुरुङ लगायतको संयुक्त प्रयासमा उक्त कन्सर्ट सम्भव भएको हो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित