Home | About Us | Contact

विपिन–प्रियंका उत्कृष्ट फिल्ममा ‘छक्का पञ्जा’

समाचारपाटि ५ आषाढ, गत वर्ष प्रदर्शनमा आएका फिल्ममध्येबाट एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कारमा गरिएको मूल्यांकनमा यस वर्ष उत्कृष्ट अभिनेता–अभिनेत्रीको अवार्ड विपिन कार्की र प्रियंका कार्कीले पाएका छन् । विपिनले ‘जात्रा’ का लागि उक्त अवार्ड जित्दा प्रियंकाले भने ‘छक्का पञ्जा’ बाट पाएकी हुन् । शनिबार साँझ राजधानीको ह्यात होटलमा आयोजित समारोहमा विपिन अनुपस्थित रहे भने प्रियंका कार्यक्रम अवधिभर मिडिया आकर्षणमा रहिन् ।

सर्वोत्कृष्ट व्यावसायिक फिल्मको अवार्ड निर्विवाद जितेको ‘छक्का पञ्जा’ ले विधागत उत्कृष्ट फिल्मको अवार्ड समेत पायो । सोही फिल्मबाट निर्देशनमा दिपाश्री निरौला बाँकी चार प्रतिस्पर्धीलाई उछिन्दै उत्कृष्ट घोषित भइन् । उत्कृष्ट निर्देशनमा ‘जात्रा’ बाट प्रदीप भट्टराई, ‘लुट २’ बाट निश्चल बस्नेत, ‘गाजलु’ बाट हेमराज बिसी र ‘पुरानो डुंगा’ बाट रामबाबु गुरुङ प्रतिस्पर्धामा थिए । अवार्डको रेडकार्पेटमा आकर्षक पहिरनमा ‘छक्का पञ्जा’ टिमसँगै हिँडेकी दिपाश्री अवार्ड थाप्नुअघि नै समारोह छोडेर बाहिरिएकी थिइन्, जब कि २१ विधामध्ये महत्त्वपूर्ण पाँच विधामा ‘छक्का पञ्जा’ ले अवार्ड जितेको थियो ।

सर्वाधिक व्यवसाय गर्ने फिल्मको अवार्ड लिन स्टेजमा आमन्त्रण गर्दा ‘छक्का पञ्जा’ टिम बाहिरिइसकेको थियो । लामो समय आयोजकले कुरे । अवार्ड दिन स्टेजमा बसेका उद्धव पौडेल बारम्बार भन्दै थिए, ‘खै त दीपक–दीपा ? अघिसम्म त यहीँ हुनुहुन्थ्यो, होइन र ?’ पौडेलले कटाक्ष गर्दै भनेका थिए, ‘फिल्मले १७ करोड रुपैयाँ ग्रस कलेक्सन गर्‍यो भन्ने सुन्थें । कतै उहाँहरू पैसाकै भारी बोकेर त आउन लाग्नुभएको होइन ? त्यसैले गर्दा ढिलो भयो कि के हो ?’ झन्डै पाँच मिनेट कुर्दा पनि टिमका कोही नआएपछि उक्त फिल्मकी नायिका प्रियंका कार्की, नम्रता सापकोटासहित वितरक प्रदीपकुमार उदय र गोपाल कायस्थले संयुक्त रूपमा अवार्ड बुझेका थिए ।
‘छक्का पञ्जा’ बाटै केदार घिमिरेले हास्यकलाकारको अवार्ड जिते । यसै वर्षदेखि हास्यकलाकार गोपालराज मैनालीका नाममा थपिएको उक्त विधाको अवार्ड थाप्न पनि केदार स्टेज चढेनन् ।

‘छक्का पञ्जा’ सर्वाधिक १५ विधामा मनोनयनमा परेको थियो । तर प्राविधिकतर्फका सुरुआती विधामा अवार्ड गुमाउन थालेपछि नै ‘छक्का पञ्जा’ टिमका एक–एक गरी सर्लक्कै समारोह छोडेर बाहिरिएका थिए । त्यसो त सोही टिम गत वर्ष ‘वडा नम्बर ६’ सहित विभिन्न अवार्डमा भिड्दा पनि विवाद निम्त्याएको थियो । सिक्किममा आयोजित इनास अवार्ड र केही अवार्ड पनि आफ्नो आशाअनुरूप नपाएपछि टिम बीचमै उठेर हिँडेको थियो । सिक्किम अवार्डपछि त अभिनेता दीपकराज गिरीले अवार्ड वितरण शैलीप्रति आपत्ति जनाउँदै अब उप्रान्त कुनै पनि अवार्ड समारोहमा उपस्थिति नजनाउने सार्वजनिक उद्घोष नै गरेका थिए ।

अभिनेत्री मनीषा कोइराला, सीएनएन हिरो अनुराधा कोइराला, अधिवक्ता सपना मल्ल प्रधान, चिनियाँ राजदूत र अवार्ड आयोजक एनएफडीसी अध्यक्ष निकिता पौडेल सम्मिलित पाँच महिलाले संयुक्त रूपमा पाँचौं संस्करणको एनएफडीसी अवार्डको उद्घाटन गरेका थिए । समारोहमा भुटानका कलाकारसमेत उपस्थित थिए ।
यस वर्ष उत्कृष्ट नवअभिनेता र नवअभिनेत्रीको अवार्ड क्रमश: ‘चपली हाइट २’ बाट आयुष्मान देशराज श्रेष्ठ जोशी र ‘गाजलु’ बाट सृष्टि श्रेष्ठले जिते । सृष्टि पनि अवार्ड लिन अनुपस्थित रहिन् ।

‘पुरानो डुंगा’ ले पटकथाका लागि रामबाबु गुरुङ र उपेन्द्र सुब्बालाई अवार्ड जिताउँदा सोही फिल्मबाट माओत्से गुरुङ र मेनुका प्रधानले पनि सहअभिनेता र सहअभिनेत्रीको अवार्ड पाए । उक्त अवार्डका लागि पनि दुवै अनुपस्थित रहे । त्यसबाहेक ‘पुरानो डुंगा’ बाटै शैलेन्द्रध्वज कार्कीले छायांकार र कालीप्रसाद बास्कोटाले ‘निर जहिले रिसाउने…’ गीतका लागि उत्कृष्ट संगीतकारको अवार्ड जिते । कालीप्रसादले अवार्ड थापेपछि सोही गीतका दुई पंक्ति गाएर सुनाउँदा दर्शकदीर्घाबाट तालीको साथ पाएका थिए ।

‘जात्रा’ बाट उत्कृष्ट सम्पादनमा मित्र गुरुङ र पुनध्र्वनि मुद्रणका लागि मनोजराज भण्डारी भाग्यमानी ठहरिए । रोशन श्रेष्ठले ‘किङ’ बाट द्वन्द्व निर्देशनको अवार्ड थाप्दा पाश्र्व संगीतको अवार्ड भने ‘चपली हाइट २’ का लागि इमानविक्रम शाहका नाममा रह्यो । अवार्डमा ‘लुट २’ को ‘ठमेल बजार…’ गीतले पाश्र्व गायिका र नृत्य निर्देशक दुवैमा क्रमश: मीना निरौला र विक्रम स्वाँरलाई खुसियाली ल्याइदियो ।

सांगीतिक माहोलमा सम्पन्न एनएफडीसी अवार्डको जुरी अवार्ड फिल्म ‘डाइङ क्यान्डल’ लाई दिइयो । यस वर्षको पत्रकारिता पुरस्कार कान्तिपुरकर्मी सुशील पौडेललाई प्रदान गरियो ।

प्रियंका–आयुष्मान रोमान्स
पछिल्लो समय प्रेम सम्बन्धमा रहेका आयुष्मान र प्रियंकाका लागि अवार्ड समारोह मिडियाको ध्यान तान्ने राम्रै खुराक बनिदियो । आमासँगै अवार्ड समारोहमा आएकी प्रियंकासँगै आयुष्मान पनि भाइ आशिरमान र आमा रविनासँगै एकै लहरमा बसेका थिए ।

नवअभिनेतामा आयुष्मानको नाम सम्बोधन हुनेबित्तिकै आयुष्मान–प्रियंकाको जोडीले खुलेर माया दर्सायो । अवार्ड थापेपछि स्टेजबाटै उनले भाइ र आमालाई मात्रै सम्झिएनन्, ‘मेरी गर्लफ्रेन्ड र ममी’ भन्दै प्रियंका र उनकी आमालाई पनि सम्बोधन गर्दा प्रियंका दंग थिइन् । त्यसपछि अवार्ड लिएर आएका आयुष्मानले अंकमाल गर्न आएकी प्रियंकालाई जुरुक्कै उचालेर ओठमा चुम्न भ्याए । चुम्बनको यो सिलसिला प्रियंकाले अभिनेत्रीको अवार्ड पाउँदा पनि दोहोरियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित