Home | About Us | Contact

अमेरिकाबाट ४ बुद्ध मूर्ति फिर्ता

समाचारपाटि ५ आषाढ, विभिन्न समयमा अमेरिकामा पुर्‍याइएका ४ बुद्ध मूर्ति फिर्ता ल्याइएको छ । अमेरिकाको एक निजी संग्रहालयमा राखिएका १५ औं शताब्दीको मारविजय बुद्ध, १५ औं शताब्दीको स्थानक अमोघपास लोकेश्वर, १६ औं शताब्दीको स्थानक ओघपास लोकेश्वर र १७ औं शताब्दीको मञ्जुश्री मूर्ति छन् ।

चारै मूर्ति पुरातत्त्व विभागले आइतबार राष्ट्रिय संग्रहालय छाउनी पठाइएको छ । विभागका अनुसार मूर्ति संकलकको व्यक्तिगत इच्छापत्रअनुसार नेपालमा मूर्ति आएको यो पहिलो घटना हो । विभागका महानिर्देशक भेषनारायण दाहालका अनुसार अमेरिकी नागरिक लेरोय एलेन इह्रेइनचेइचको संग्रहालयमा राखिएका यी मूर्ति आफ्नो मृत्युपछि नेपाल फर्काइदिन आफ्ना वकिललाई इच्छापत्र दिएका थिए । उनको इच्छाअनुसार जोन मेजले विभागलाई पत्र लेखेका थिए । ‘त्यो पत्रलाई विभागले सहर्ष स्वीकार गर्‍यो,’ विभागका महानिर्देशक दाहालले भने, ‘कुरियरमार्फत मूर्ति आइपुग्यो । अर्थ मन्त्रालयको सचिवस्तरीय निर्णयले कुरियरमा लाग्ने महसुल छुट गरिएको छ ।’

यी मूर्ति कसरी अमेरिका पुगे भन्ने जानकारी कहींकतै नभएको दाहालले जानकारी दिए । ‘चोरी भएर गएका पनि हुन सक्छन्,’ उनले भने, ‘कसैले उपहार दिएको पनि हुन सक्छ । कसरी त्यहाँ पुगे भन्ने अनुसन्धान भइरहेको छ ।’ फिर्ता आएका मूर्तिका मूल्य लाखौं रुपैयाँको रहेको दाहालले जानकारी दिए । ‘मूर्तिबारे सरकारवादी वा फौजदारी मुद्दा परे त्यसको मूल्यांकन गरिन्छ । मूल्य पत्ता लगाइन्छ,’ दाहालले भने, ‘मूर्ति फिर्ता आएकाले यसलाई मूल्यांकन गर्नुपरेन । यी मूर्तिको कम्तीमा १५ लाख रुपैयाँ पर्छ । मूर्तिको कलाकृति, त्यसको पुरातात्त्विक आधारमा मूल्यांकन गर्ने गरिन्छ ।’ मूर्तिमा काँस र ढलौटको मिश्रण गरी सुनको जलप लगाइएको छ ।

विभागले विश्वका विभिन्न ठाउँका संग्रहालयमा रहेका मूर्ति फिर्ता ल्याएको जनाउ दिएको छ । महानिर्देशक दाहालका अनुसार बेलायतबाट १६, अमेरिकाबाट ४ र अस्ट्रियाबाट २ मूर्ति आएका छन् । फ्रान्सबाट पनि उमा र महेश्वरको २ मूर्ति अर्काे वर्ष ल्याउने तयारी भइरहेको छ । डोल्पाबाट हराएका मूर्ति पनि केही समयअघि ल्याइएको थियो ।

हराएका कतिपय मूर्ति खोज्न इन्टरपोलमार्फत पनि प्रक्रिया अघि बढाएको दाहालले जानकारी दिए । सन् १९७० को दशकमा नेपाल युनेस्कोको सदस्य भएपछि ‘इलिसिट ट्राफिकिङ’ महासन्धिमा हस्ताक्षर भएको छ । सन्धिमा हस्ताक्षर गर्ने देशले अवैध रूपमा ओसारपसार भएका आफ्ना हस्तकला इन्टरपोलमार्फत खोज्न पाउँछ । आफ्नो हो भन्ने प्रमाणित भए फिर्ता पनि पाउँछ । प्रसिद्ध कलाकार लैनसिंह वाङदेलले आफ्नो पुस्तक ‘द स्टोलन इमेजेज अफ नेपाल’ पुस्तक लेखेपछि बाहिरी विश्वमा नेपालको मूर्तिकलाको पहिचान हुन थालेको हो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित