Home | About Us | Contact

बाह्रसिंगा र अर्नालाई फापेन नयाँ बास

समाचारपाटि ५ आषाढ, चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ वन्यजन्तुको संख्या बढाउन स्थानान्तरण गरिएका अर्ना र बाह्रसिंगा मर्न थालेका छन् ।

गत माघ/फागुनमा कोसीटप्पु वन्यजन्तु आरक्षबाट १२ र ललितपुरस्थित चिडियाखानाबाट ३ गरी १५ अर्ना चितवन निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा बनाइएको खुला खोर (इन्क्लोजर) मा छाडिएको थियो ।
चार महिना नबित्दै १५ मध्ये एक भाले र एक पोथी गरी दुई अर्ना मरेका छन् । चिडियाखानाबाट लगिएका भाले अर्ना करिब १० दिनअघि र पोथी अर्ना शनिबार मृत फेला परेको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिस्ट लक्ष्मण पौडेलले खानपिन र बासस्थान नमिलेका कारण अर्ना र बाह्रसिंगा मरेको हुन सक्ने बताए ।
‘चिडियाखानामा नियन्त्रणमा राखेर आहारा खुवाइन्थ्यो, चितवनमा आहाराका लागि दौडधुप गर्नुपर्‍यो, अरू अर्नासँग प्रतिस्पर्धा गर्नुपर्‍यो,’ पौडेलले शनिबार कान्तिपुरसँग भने, ‘खानपिन र बस्ने ठाउँ मिल्छ/मिल्दैन अध्ययन नगरी सार्न नहुने रहेछ भन्ने थाहा भयो ।’

बिनाअध्ययन हतारमा अर्ना सारिएकामा वन्यजन्तुविद्ले त्यति बेलै प्रश्न उठाएका थिए । कोसीबाट २ भाले र १० पोथी तथा चिडियाखानाबाट दुई पोथी र १ भाले अर्ना स्थानान्तरण गरिएको थियो । त्यसो त कोसीबाट ल्याइएका र चिडियाखानाबाट लगिएका अर्नाबीच मेलसमेत देखिँदैन । ‘एउटै इन्क्लोजरभित्र दुई समूह अलग–अलग बस्छन्,’ चितवन निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले भने, ‘अघिल्लोपटक मरेको अर्ना कोसीको अर्नाले हानेर मरेको हाम्रो आशंका छ ।’

चितवन निकुञ्जमा अर्नाको दोस्रो प्राकृतिक बासस्थान बनाउने उद्देश्यले वन मन्त्रालयले धेरै पटकको प्रयासपछि गएको माघ/फागुनमा कोसीटप्पुबाट अर्ना सारेको थियो । त्यसअघि प्राकृतिक बासस्थानमा कोसीमा मात्र अर्ना थिए । चितवन निकुञ्जका सहायक वार्डेन अभिनय पाठकले कोसीबाट ल्याइएका अर्ना खोरभित्र राम्रोसँग चर्ने र पोखरीमा आहाल बस्ने गरेको जानकारी दिए । उनले चिडियाखानाबाट ल्याइएका अर्नामा भने सुरुदेखि नै समस्या देखिएको बताए ।

ती अर्नालाई दुई हजार मिटर जाली लगाएर ३० हेक्टर क्षेत्रफलमा बनाइएको खोर (इन्क्लोजर) मा छोडिएको थियो । खोरमा अरू वन्यजन्तु नजाऊन् भनेर वरिपरि सोलार फेन्सिङसमेत गरिएको छ । इन्क्लोजरभित्र ४ सय मिटर लामो र १५ मिटर चौडा पानीको पोखरी बनाइएको छ ।
स्थानान्तरण गरिएको केही दिनमै कोसी र चिडियाखानाका अर्ना पदमपुरमा रमाएको निकुञ्जले बताएको थियो । सूचना अधिकारी अर्यालले चिडियाखानामा खुला ठाउँमा आहारा दिएर पालिएका अर्नालाई सीमित घेरामा राख्दा असहज महसुस गरेको हुन सक्ने बताए । ‘मानवीय क्षति नहोस् र अरू वन्यजन्तुबाट जोगाउन हामीले खोरमा राख्यौं,’ उनले भने, ‘घटनाक्रमले यो उचित विधि होइन कि भनेर अध्ययन गर्नुपर्ने देखिएको छ ।’

यस्तै, शुक्लाफाँटा निकुञ्जबाट ल्याइएका सात बाह्रसिंगामध्ये तीन ३ वटा मरेका छन् । चितवन निकुञ्जका सहायक वार्डेन पाठकका अनुसार शुक्लाफाँटाबाट ल्याएर इन्क्लोजरमा छाड्ने बेलामै तीन बाह्रसिंगा मरेका थिए ।

अर्ना राखिएकै इन्क्लोजरमा बाह्रसिंगालाई पनि छाडिएको थियो । अब ४ बाह्रसिंगा जीवित छन् । बाँचेकामा एक भाले र तीन पोथी छन् । शुक्लाफाँटामा मात्र रहेका बाह्रसिंगाको संख्या अन्य संरक्षित क्षेत्रमा पनि विस्तार गर्न गत वर्षदेखि स्थानान्तरण थालिएको थियो । गत वर्ष नै शुक्लाका बाह्रसिंगा बर्दिया निकुञ्जमा पनि सारिएको थियो । त्यहाँ भने खुला प्राकृतिक बासस्थानमै रमाइरहेका छन् ।

http://kantipur.ekantipur.com/news/2017-06-19/20170619093453.html

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित