पुस्तक अंश-त्यो स्वास्नी मान्छे हाँसिदिन्छे

हिलो माटोको लेपले माछालाई भुंग्रोभित्र घुसार्दै जान्छु म । त्यो माछा बाफिन धेरैबेर लाग्दैन । केहीछिनपछि भान्सा तयार भइहाल्छ । अनि, म त्यो स्वास्नीमान्छे र किमरिखलाई खुवाउन त्यसैगरी तम्सेको छु, जसरी केटाकेटी छँदा आफ्ना साथीहरुलाई पोल्टाको मकै-भटमास खुवाउन तम्सन्थेँ ।

मेरो यही बानीलाई लिएर बा हप्काउनुहुन्थ्यो ‘मेरो टाउकोमा गीर खेल्ने होइन’ भनेर । तर, मेरी सौतेनी आमा मुखमा बुजो लाएर बस्थिन् । बाको अगाडि उनले बोल्नु र नबोल्नुमा केही अर्थ राख्दैनथ्यो । अर्कालाई खुवाउँदा एक किसिमको आनन्द अनुभव हुन्थ्यो मलाई । त्यो गुन वा बैगुन, मलाई थाहा छैन । त्यसबारेमा विचार पनि गरेको छैन मैले ।

मोर्चामा आएपछि पनि मेरो कम्पनीका साथी हर्के, वीरे र नरेले त्यस बानीबाट निकै फाइदा उठाएका थिए । गफाष्टक नरेको जिब्रोमा जहिले पनि स्वास्नीमान्छेका पिँडौलाहरु झुण्डिएका हुन्थे । हर्के स्वास्नीमान्छेका गफमा भन्दा तासमा रमाउँथ्यो । जे होस् मनका सफा थिए नरे, हर्के र वीरे ।
मौका पर्‍यो कि म तारको घेरालाई नाघेर सुटुक्क गाउँभित्र पस्थेँ, उनीहरुलाई तास र गफमै छाडेर । मरेका मुर्दा र उजाडिएका घरहरुमा फेला परेका सामानहरुसँग साटेर म गाउँघरबाट कहिले कुखुरा, कहिले हाँस त कहिले परेवा लैजान्थेँ, साथीहरुका बीचमा ।

तर, यो युद्धको मोर्चा पनि होइन, छाउनी पनि होइन । फेरि पनि यो बानी अहिलेसम्म पनि भासिएको छैन मबाट । किमरिखबाट त अहिलेसम्म एउटा डाँससम्म पनि मर्न सकेको छैन । मैले उसको त्यस किसिमको निष्त्रिmयतामाथि टीकाटिप्पणी उठाएको छैन ।

ऊ कवि हो, गायक हो । जर्मनीमा बेलासँग खेलेका उसका कोमल औँलाप्रति म संवेदनशील छु, निश्चय नै । तर, यहाँ बेला छैन । कविताका पुस्तकहरु छैनन् । बैलेड र निबेलुगिनलिड गाउने अनुहार र स्वरहरु छैनन् । ऊसँग मात्र घुर्की छ ।

कुन्नि कुन कुराले उसको अभ्यन्तरलाई कहिलेकाहीँ हल्लाइदिँदा ऊ खानेकुरा खान्नँ भनेर पनि जिद्दी लिन्थ्यो । म हिमालको मान्छे । मेरो हिमालको पग्लाइले आज कैयन्कैयन् राष्ट्र हराभरा छन् । मेरो जातै अर्कालाई सुख दिने । एकदम म्यासोचिस्ट । किमरिखलाई खुवाइछाड्थेँ म ।

बफ्याइएका माछाहरुलाई कछुवाको खप्परुमा सजाएर म फेरि कटेरामाथि उक्लिन्छु । त्यो स्वास्नीमान्छेले किमरिखको लंगडो खुट्टाको घाउ चिरिसकेकी छे । उसको अगाडि राखेको एउटा अर्को कछुवाको खप्परुमा रगत र पीपले भिजेका सेतासेता कपासहरु छन् ।

सानो कैँची र छुरा पनि छ, ऊनिर ठड्याइको गबुवामथि । म भित्र पस्छु । त्यो स्वास्नीमान्छे उसको खुट्टामा ब्यान्डेज बाँध्दै भन्छे, ‘यसरी नचल्नुहोस् हर किमरिख ! सइन होला ।’

‘सइन भयो भने के हुन्छ ?’ किमरिख आफूलाई नियन्त्रण गर्दै भन्छ, ‘के मरिन्छ ?’

‘यहाँ अस्पताल छैन न त भनेको जस्तो औषधि !’

‘तर बुझ्नुभयो फ्राउ ! म मर्दिनँ । मर्ने भए पनि म त्यै दिन मरिसक्ने थिएँ, जुन दिन बिट्रिश सरकारको झ्यालखानाबाट भाग्दा गोलीले लखेटिएको थिएँ । त्यो गोलीले म सँगसँगै भागेको हेमिल्टास ढलेको थियो, क्राप ढलेको थियो, कैैटजिकी ढलेको थियो । म पनि त ढलेर समाप्त हुन सक्थेँ नि फ्राऊ !’
त्यो स्वास्नीमान्छे जवाफमा उही आत्मीय किसिमको मुस्कान उडाएर मतिर आँखा चिप्ल्याइदिन्छे । मानौँ ऊ किमरिखको हरफलाई मूर्खताले भरिएको हरफ ठान्छे । त्यस कुरामा ऊ चुपचाप मानौँ मलाई साक्षी राख्न चाहन्छे ।

तर, किमरिखको लवजले झन् प्रोत्साहन पाउँछ, ‘तपाईंलाई थाहा छैन फ्राउ ! मृत्यु र मेरोबीचमा एक रौँजति फरक थिएन । सम्झनुस्, म मुर्दा भइसकेको थिएँ । बि्रटिस सिपाहीहरु एकदमै नजिक आइसकेका थिए । हेमिल्टासको रगतमा लटपटिएर मैले पनि लासै बनेको नक्कल गरेको थिएँ ।
सम्भवतः त्यो छलले पनि मलाई जीवन दिन सक्दैनथ्यो । उनीहरुको पिस्तोलले झन्डै मेरो छाती फोरिसकेको थियो । तपाईंलाई थाहा छैन फ्राऊ ! के गति भएको थियो मेरो !’

‘त्यस किसिमको कुरातिर किन र्फकने हर किमरिख ?’

‘म मर्दिनँ फ्राउ ! यो थलाममा किमार्थ मर्दिनँ । त्यो पिस्तोलले कमिलाको गोला खसाइदिएको थियो, छातिमाथि । निश्चय पनि सहन सकिने कुरा थिएन त्यो । म विक्षिप्त हुन सक्थेँ । विक्षिप्त भएर त्यसैत्यसै कराएर दौडन सक्थेँ ।

लाईबाहेक अरु कसलाई थाहा छ ? हरे ! कसरी सहेँ होला मैले छातीभरि कमिलालाई लिएर, कसरी चेतनाशून्यझैँ बनी हेमिल्टासको मुर्दासँग टाँसिएको टाँसियै हुन सके हुँला ? अलिकति पनि चलमलाएको भए त्यै बेलामा समाप्त भइसकेको थिइनँ र म ?’

‘अवश्य समाप्त हुनुहुने थियो ।’

‘तर, फ्राउ ! म अहिलेसम्म बाँचिरहेछु । हेमिल्टासको लासलाई छाडेर केवल एक तुम्लेट पानीको भरोसामा मरुभूमिमा दगुर्दा थाकेर ढले पनि म बाँचेको थिएँ । अनन्तको टामिगनको नालले त्यतिखेर मेरो छातीलाई छोए पनि म मरिनँ फ्राउ ! मर्छु त म जर्मनी पुगेरै मर्छु । मेरो चिहान पनि त्यै थलोमा बन्छ, जहाँ मेरा बाजेका चिहानहरु छन् । तर फ्राऊ …..!’

‘भन्नुहोस् ।’ ‘जहाजको त्यो वायरलेस के बन्दैन ? के तपाईंलाई खोज्न कुनै अर्को जहाज यतातिर आउँदैन ?’

‘अहिलेसम्म निभेको छैन युद्धको आगो । त्यो आगोले सम्भव छ खोज्न पठाउनेहरुका चेतनालाई हामीतर्फबाट मारिदेला । सम्भव छ आउला । तर, जे होस् हर किमरिख ! तपाईं बिरामी पर्नुभएको छ । त्यो कुरालाई नसोच्नुहोस् । हेर्नुहोस् त, तपाईंको अगाडि मैले राखिदिका ती फूलहरु कति राम्रा छन् । हर अनन्त ! के राम्रा छैनन् ?’

ऊ मतिर ध्यान दिन्छे । ‘अवश्य राम्रा छन्,’ म उत्तर दिन्छु ।

किमरिख असन्तोषले टाउको हल्लाइदिन्छ । एउटा लामो निःश्वासले कटेरोलाई चिसो तुल्याएर ऊ भन्छ, ‘यी फूलहरुको रंग पनि झ्यालखानाको रंगजस्तै छ । यसमा उही झ्यालखानाकै जस्तो गन्ध टाँसिएको छ ।’

‘जे होस् हर किमरिख! यी फूल हुन् । तपाईंले यसलाई झ्यालखाना देखेजस्तै मैले पनि यसमा हायनरिकको रगत देख्न थालेँ भने के हामी सबैको स्वर आक्रान्त हुँदैन र ? हामी सबै विक्षिप्त हुँदैनौँ र ? तर, म सकिरहेछु अनन्त यही ठूलो कुरो हो मेरो निम्ति ।’

म त्यो स्वास्नीमान्छेको अनुहार हेर्छु । उसको अनुहारमा विक्षिप्त सत्यलाई बोक्दाबोक्दा थकाइले चिथोरेझैँ रंगलाई प्रस्ट अनुभव गर्न थाल्छु म । एउटा स्मृतिले फन्का लिन्छ ।

म युद्धमा लड्दालड्दै एक दिन गुलाफको फूलको बगैँचामा लडाइँ गर्न पुगेको थिएँ । मेरा सयौँ साथी र सयौँ जर्मनी सिपाहीहरुको लास छरिएको थियो । तातो गुलाफ, ताजा लासको बडो अनौठो सम्मिश्रण थियो, त्यो बगैँचामा । फेरि पनि, अहिलेसम्म मसँग सुरक्षित मेरो खुकुरीले छपाछप छप्काउँदै गइरहेको थियो, मान्छेका गर्दनहरु ।

यो स्वास्नीमान्छे ब्यान्डेज बाँधेका सामानहरुलाई कछुवाको खप्परुमा राखेर हात धुने र सामान पखाल्ने मनसायले भन्छे, ‘अलिकति पानीको व्यवस्था हुन सक्छ अनन्तजी ?’

म ऊतिर तुम्लेट सारिदिन्छु । मेरो देशका स्वास्नीमान्छेले झैँ तुम्लेटलाई घुँडाले च्यापी आफ्नो मद्दत आफैँ गर्ने कुरामा अभ्यस्त छैन ऊ । म उसको अप्ठ्यारोलाई बुझिरहेको छु । म तुम्लेटको पानी उसको हातमा खन्याउन थाल्छु । किमरिख फेरि एकाएक हाम्रो बीचमा जन्मेको मौनतालाई भाँच्छ, ‘के म यहीँ भाँचिन्छु प|mाऊ ? के मेरो चिहान यही जंगलमा बन्छ ?’

‘उफ् ! किमरिख !’ त्यो स्वास्नीमान्छे फेरि त्यै कुरातिर फर्किन्छे, ‘तपाईं त फेरि त्यै कुरातिर र्फकन थाल्नुभयो ? फूलहरुको बारेमा सोच्नुहोस्, नभए आफ्नो कविताको बारेमा सोच्नुहोस् ।’

‘हिजोआज म साँच्ची नै फितलो भइरहेको छु । यो जंगलले मलाई निकालिदिन्छ कि भन्ने भ्रम झन् जुकाझैँ टाँसिँदै गइरहेछ फ्राऊ ! मलाई मेरो दह्रोपनामाथि विश्वास छैन । बुझिरहनुभएको त छ के तपाईंले ?’

‘यो डर हो, मात्र डर । म बुझिरहेछु ।’ ‘डर त डर न हो ।’

‘डर के हो आफ्नै भावको ओढ्ने ओढेर नभिजेको लुगालाई निचोर्नु र फेरि सुकाउन हाल्नु । फेरि केहीछिनपछि त्यो सुकेको लुगा भिजेकै छ भन्ने शंका हुनु । त्यै न हो डर !’

‘डरको हूलमा म हराइसकेको छु फ्राऊ !’

त्यो स्वास्नीमान्छे फेरि आफ्नो ब्यागतिर र्फकन्छे । ब्यागबाट डिग्री झिकेर भन्छे, ‘तपाईं हराइसक्नुभएको छैन अहिलेसम्म त ! मैले भनेको मान्नुभएन भने हुन सक्छ बग्याबग्यै हुनुहोला डरको भेलमा ।’

‘के मान्नुपर्‍यो त मैले ?’

‘त्यो यही हो यही, फूलहरुको रंगको बारेमा सोचाइ, त्यसको उत्पादनको बारेमा सोचाइ । त्यसले बग्न दिनेछैन हर किमरिख, तपाईंलाई ! फेरि म पनि त डरको भेलमा बग्न दिने पक्षमा छैन नि !’

‘के हायनरिकलाई बग्न दिने पक्षमा हुनुहुन्थ्यो तपाईं ? मलाई लाग्छ, अवश्य हुनुहुन्थ्यो होला । भन्नुहोस् त ! फेरि किन बग्यो हायनरिक ? म पनि त्यसै गरी बगेँ भने ?’

त्यो स्वास्नीमान्छे हाँसिदिन्छे । म बुझिरहेको छु, उसको हाँसो निक्खर चोखो छैन । स्वयं उसले आफैँलाई चपाएझैँ अनुभव हुन थाल्छ मलाई । तर, म बोल्दिनँ । अहिलेसम्म पनि आफूभित्रको तटस्थपनलाई सुरक्षित राख्न सकिरहेको छु मैले । किमरिख भने बिथोलिदिन्छ, ‘किन हाँस्नुभयो फ्राऊ ?’

‘म फ्राऊ होइन हर किमरिख !’ त्यो स्वास्नीमान्छे फेरि उसको नजिकै जान्छे, ‘तपाईंको कुरा नै हाँसउठ्दो खालको छ, केटाकेटीहरुको जस्तो ।’

‘के म भूलमा छु ?’  ‘अवश्य !’

किमरिख अर्कोतिर मुन्टो फर्काउँछ । त्यो स्वास्नीमान्छे झन् उसको नजिकै गएर भन्छे, ‘फूलहरुको रक्षाका लागि जतिसुकै काँडाहरुको बार हाले पनि एक दिन त्यो फूल हराउँछ हर किमरिख ! यो सत्य तपाईंलाई पनि थाहा छ, अनन्तलाई पनि । तपाईं त कवि पनि । कवि मात्र होइन, इन्जिनियर पनि । फूलहरु हराउँछन् भनेर बार लगाउन नै छाडिदिने ?’

‘म सबथोक बुझेर पनि नबुझेजस्तो भइरहेछु फ्राऊ !’ किमरिख फेरि त्यो स्वास्नीमान्छेतिर फर्किन्छ, ‘हायनरिकको मृत्युको दृश्यले झन् निराश भएको छु फ्राऊ !’

‘हर किमरिख ! म फेरि भन्छु फ्राऊ होइन म ।’

‘त के हुनुहुन्छ ?’

‘अहिलेसम्म कुनै पुरुषको औँठीसँग मेरो औँठी साटिएको छैन । फेरि पनि तपाईंहरु मलाई जबर्जस्ती कुनै पुरुषको घाँटीको जन्तर बनाउँदै हुनुहुन्छ । तपाईंहरुलाई फ्राऊ उलिन भन्न अप्ठ्यारो लाग्छ भने मेरो नाम लिनुभए पनि हुन्छ ।’

‘कुन नामले सम्बोधन गरुँ त ?’

(दौलतविक्रम विष्टको चर्चित पुस्तक ‘चपाइएका अनुहार’ को पुस्तक अंश)

दौलतविक्रम विष्ट ६ असोज १९८३ मा भोजपुरमा जन्मेका हुन् । लेखेर मात्रै बाँच्ने उनको चाहना त्यसबेलाको समाजमा पूरा हुन नसकेपछि उनले भन्सारमा सरकारी कर्मचारीका रुपमा काम गरेका थिए । उनका मञ्जरी, भोक र भित्ताहरु, ज्योति, महाज्योति, बिगि्रएको बाटो, थाकेको अनुहार, हिमाल र मान्छे, फाँसीको फन्दामा जस्ता दर्जनौं कृति प्रकाशित छन् ।

२००८ सालमा नेपाली भाषा प्रकाशिनी समितिले उपन्यास लेखन प्रतियोगिता गराई उनको ‘मञ्जरी’ उपन्यासलाई प्रथम घोषित गरेको थियो । त्यही उपन्यासमार्फत् उनी चर्चामा आएका हुन् । उनले महेन्द्र प्रज्ञा पुरस्कार -२०३२), साझा पुरस्कार, प्रबल गोरखा दक्षिणबाहु चौथा -२०३०), जनसेवा पदक पुरस्कारजस्ता दर्जनौं पुरस्कार प्राप्त गरेका थिए ।

उनले १३ पुस ०५९ मा देहत्याग गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित