प्रचण्डज्यू, अझै रुनुहोस्

विपश्यना ध्यान गर्नेहरुले यो कथा बिर्सनै सक्तैनन्ः कथामा एक महिलाको बुढेसकालमा छोरो जन्मन्छ । छोरो जन्मेको केही समय नबित्दै उनका श्रीमानको मृत्यु हुन्छ ।वरपर कोहि हुदैन  । बाँच्ने साहाराको नाउँमा एउटै छोरो हुन्छ । छोरो नै उनको मुटुको धड्कन ! एक दिन त्यो छोरोलाई हनहनी ज्वरो आउँछ र एकैदिनको ज्वरोले छोराको मृत्यु हुन्छ ।

बुढेसकालको आधार एउटै सन्तान, आफन्तको नाममा कोही छैनन् । बुढीआमा छोराको मृत्यु भएको स्वीकार्न सक्तिनन् । मरेको छोरालाई ‘यो मरेको छैन, कोही भनिदेउ न, यो मरेको छैन’ भन्दै मरेको छोरो काखीमा बोकेर हिँडेको देख्दा देख्ने दुनियाँको पनि आँशु थामिँदैन ।संयोगले गौतम बुद्ध त्यही गाउँमा ध्यान शिविर चलाउँदै आएका थिए । कोही दयालुले ती दुःखी बुढीआमाको दु:ख हेर्न नसकेर गौतम बुद्धको शरणमा पुर्‍याइदिए ।

बुद्धले बुढीआमाको मरेको छोरो बचाइदिने बाचा गरे । तर, उनको एउटा सानो सर्त थियो – वरपर वा जहाँको गाउँबाट भए पनि थोरै तोरीका दाना खोजेर ल्याउन बुढीलाई भने । आफ्नो मृत सन्तान बाँच्ने आशामा बुढीआमैले तत्काल् सर्त मन्जुर गरिन् । जाँदाजाँदै बुद्धले यो पनि भने– ‘तोरी त ल्याउनु तर यस्तो घरको लिएर आउनु कि जसको घरमा कसैको मृत्यु नभएको होस्, अनि मात्र म तिम्रो मरेको छोरो बचाउन सक्छु ।

प्रचण्ड ज्यू, यो प्रसङ्ग उल्लेख गरिरहँदा म तपार्इंलाई सम्झिरहेछु । अनि तपार्इंलाई भन्दा बढी भर्रखरै छोरो गुमाएकी तपाईंकी श्रीमती, ‘ती बुढीआमा’लाई । र सम्झिरहेछु तपाईंको सिंगो परिवारलाई पनि । चितवनको आमसभामा श्रीमतीसहित जानुभएछ तपार्इं । उता सभा चल्दैछ, यता तपाईंकी पत्नी छोराको सम्झनाले डाँको छोडेर रुन थाल्नुभएछ ।

प्रचण्डज्यु, मसँग बारम्बार विपश्यना ध्यान गर्दाका अनुभव छन् । दुःख पनि आउँछ, सुख पनि आउँछ तर न दुःख रहन्छ न तपाईंले खोजे जस्तो सुख नै रहन्छ । फेसबुकका भित्ताहरूमा आमा रोएको त्यो दृश्य हृदयविदारक थियो । वास्तविक त अझ कस्तो हुँदो हो ! हुन पनि जवान छोरो गुमाएको आलो घाउ छ उनको मातृहृदयमा ।

म विगतमा फर्कन चाहन्न । १७ हजार छोराछोरी मारिएको दोष तपार्इंलाई लाग्छ कि लाग्दैन, म त्यसतर्फ जान्न । त्यसको उत्तर त इतिहासले देला । तर, यतिबेला तपाईंको मुटुको धड्कन नै रोकिएला जस्तै भएकोे छ । जवान छोरो गुमाएकी आमालाई सम्झाउने कुनै शब्द छैन तपाईंसँग । फेरि शब्दले मनको घाउ निको पनि हुने पनि होइन प्रचण्डज्यू ।

जीवनभरि राजनीति गर्नुभयो । सुन्दा लाग्छ, हाम्रै लागि राजनीति गर्नुभयो । तर, अफसोच, तपार्इंले गरेको राजनीतिले हाम्रो जीवनमा तात्विक फरक भने पारेको छैन । तपाईंहरूको दाबी त त्यही छ, तर मलाई त्यो भान छैन । खैर, यो आरोप–प्रत्याआरोपको घडी पनि होइन । हुन त यो लेख लेख्ने मान्छे कुनै ज्ञानी, सन्त या कुनै महात्मा होइन, जो ‘शोकमा डुबेको सम्राट’ लाई सल्लाह र सुझाव दिने हैसियत राखोस् । तर, प्रचण्डज्यु, मसँग बारम्बार विपश्यना ध्यान गर्दाका अनुभव छन् । दुःख पनि आउँछ, सुख पनि आउँछ तर न दुःख रहन्छ न तपाईंले खोजे जस्तो सुख नै रहन्छ । हेर्नुहोस्, एकपटक बुढानीलकण्ठको ध्यान शिविरमा गएर आफूलाई ध्यानस्थ बनाएर हेर्नुहोस् ।

जन्मेदेखि आजसम्म संसार हेर्नुभयो, संसारका अनेक लीला हेर्नुभयो । विध्वंश, रक्तपात र हाहाकारदेखि ‘विकास’ सम्म हेर्नुभयो । तर, के कुनै दिन आँखा चिम्लेर आफैंलाई हेर्नुभयो ? देश र दुनियाँ बदल्न हिँड्नुभएको तपाईंले आफ्नै शरीरभित्र केके बदलिइरहेछ, कहिल्यै हेर्न भ्याउनुभयो ? यो मौका हो । हुनसक्छ तपाईंलाई समयले दिएको अर्काे मौका । एकपटक आफूलाई हेर्नुहोस् । आफूले जीवनमा के–के गरें, आफैं नियाल्नुहोस् ।

तपाईंले जति नै ‘ईश्वर’ नमाने पनि एकदिन त्यही ईश्वर (प्रकृति/परमसत्य) नामको तत्वले तपार्इंलाई थाहै नदिई तपार्इंसँग चुँडेर लानेछ । हुन पनि यो संसार तपाईले या मैले चलाएको होइन । यदि यस्तो हुन्थ्यो भने तपाईं आफ्नो जवान छोराको मृत्यु कदापि स्वीकार्नुहुन्नथ्यो । हुन सक्थ्यो, तपाईको छोरो बचाउनका लागि आफैं मर्न तयार हुनुहुन्थ्यो । तर तपार्इं मरेर पनि तपार्इंको छोरो बाँच्ने होइन । यही तपाईंले नमानेको सत्य हेर्न र जीवनमा मृत्यु र जीवनलाई श्वासद्वारा अनुभव गर्न एकपटक विपश्यना ध्यान जानुहोस् ।

अनि अर्काे कुरा प्रचण्डज्यू, प्रकृतिले हामी मानिसको जीवनमा दुई महत्वपूर्ण उपहार दिएको छ । त्यो हो आँशु र हाँसो । तपाईं खुशी हुनुहुन्छ, तपार्इं हाँस्नु हुन्छ । तपार्इं दुःखी हुनुहन्छ तपार्इंका आँखामा आशु आउँछ । प्रिय प्रचण्डज्यू, तपाईको आँखाबाट बगेको आँशुले विगतका सबै क्लेश, मोह र पूर्वाग्रह पखालियुन् । तपाईंको छोराको मृत्युदेखि आजसम्म सामाजिक सञ्जालमा छरिएका आफ्नै तस्वीर हेरेर तपाईंलाई लाग्नैन कि तपाईंले प्रकृतिको दोस्रो उपहारलाई स्वीकार गर्नुभएको छ्र्रैन ? मेरो अर्थ हो, आँशुलाई बग्न दिनुहोस् ।

तपाईंका आँखाका डिलमा आएर आँशुहरुले डेरा जमाउँछन् तर पोखिएर आफूलाई किनारा दिन पाउँदैनन् । तपार्इं पनि रुनुहोस् । श्रीमतीलाई पनि रुन दिनुहोस् । रुनु प्रकृतिलाई स्वीकार गर्नु हो । रुनु हार्नु होइन । खुशीमा हाँस्न तपाईलाई कसले रोक्न सक्छ ? त्यसैगरी दुःखमा रुँदा तपाईंलाई कसले के भन्छ ? रुनु र हाँस्नु स्वाभाविक श्वासजस्तै हुन् प्रचण्डज्यू । प्रिय प्रचण्डज्यू, तपाईको आँखाबाट बगेको आँशुले विगतका सबै क्लेश, मोह र पूर्वाग्रह पखालियुन् ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top