मेलौलीबासी : विद्युत,खानेपानी, सडक अभाव परिपूर्ती गर्ने नेतालाई भोट

मेलौली(बैतडी),२८ कार्तिक ।   २०१६ सालमै सहायक मन्त्री भएर इतिहास रचेकी द्वारिकादेवी ठकुरानीको कर्मभूमी तल्लोसोराडबासीले अझै विभिन्न किसिमका  समस्या झेलिरहेका छन्। बीपी कोइरालाको मन्त्रिमण्डलमा स्थान पाइसकेकी ठकुरानीको ठाउँको मूहार भने अझै फेरिएको छैन् । प्रत्येक निर्वाचनमा सोराडबासीका मागमा भिन्नता आउन सकेको छैन् । नागरिकका आधारभूत कुराहरु राजनीतिक नेतृत्वले पूरा गर्न नसक्दा मतदाताले पुरानै माग दोहोर्याइरहेको मणिलेक माविका प्राचार्य देवदत्त कलौनी बताउँउनुहुन्छ । ‘तल्लोसोराड क्षेत्रलाई जहिले पनि नेताहरुले भोट बैंकको रुपमा प्रयोग गरेका छन्,’ उहाँले भन्नुभयो, ‘नागरिकका आधारभूत माग समेत पूरा गर्न सकेका छैनन्।

सडक निर्माण कार्य थालेको ३४ बर्षपछि पाटन–पञ्चेश्वर सडकको चालू आर्थिक बर्षमा ट्रयाक खोल्ने काम सम्पन्न हुँदैछ। ‘धुलाम्य भएपनि सडक पुग्दा केही सजिलो भएको छ । यसलाई प्राथमिकता साथ कालोपत्रे गर्ने प्रतिबद्धता जनाउने नेतालाई भोट दिन्छौं’मेलौली ७ का ध्वजबहादुर चन्दले भन्नुभयो ‘अब हामी ठगिनेवाला छैनौं । उम्मेद्वारका बोली व्यवहार चिनिसकेका छौं । यो क्षेत्रको विकास गर्नेलाई भोट दिन्छौं । ६ दशक अघि महिला नेतृत्व जन्माइसकेको ठाउँमा महिलाले अझै विभिन्न किसिमका समस्या झेलिरहेका छन् । आफूहरुका माग पूरा गर्नेलाई मात्रै भोट दिने मेलौली ७ की पानकी ओझाले बताउनुभयो ।

‘हाम्रो सोराड क्षेत्र कुनै कुरामा कम छैन् । जुन बेला महिलालाई बाहिर निस्किन मुस्किल हुन्थ्यो । त्यो बेला महिला नेतृत्व जन्माएको ठाउँ हो । तर पछि यो क्षेत्रको विकासमा कसैले चासोे दिएन्, उहाँले भन्नुभयो, ‘हामीलाई विद्युत,खानेपानी, सडक सबै कुराको अभाव छ । हाम्रो अभाव परिपूर्ती गर्ने नेतालाई भोट दिन्छौं । प्रत्येक हिउँदको खानेपानीको बिषयलाई लिएर गाउँघरमा झगडा हुने गरेको छ। ‘खानेपानीको लागि रातिको १, २ बजे ब्युँझेर जानुपर्ने बाध्यता रहेको छ । मेलौली नगरपालिका भईसक्दा समेत कुनै सुविधा प्राप्त भएको छैन् । हाम्रा समस्या समाधान गर्न चाँसो नदिने नेतालाई किन भोट दिने ?’मेलौली १ की सरु नायकले भन्नुभयो,‘नेताहरुले जहिले पनि हाम्रो मतको अवमूल्यन गरेका छन् । हाम्रा जनजिविकासंग जोडिएका मुद्दामा कहिले सोच्दैनन् ।

तल्लोसोराडमा पर्ने पञ्चेश्वर बहुउद्देश्यीय आयोजना चर्चामा आएको धेरै बर्ष भइसकेको छ । तर अझै त्यो आयोजनाले गति लिएको छैन् । यो आयोजना निर्माण भएमा तल्लोसोराड मात्रै नभएर समग्र देशकै मुहार फेरिने मणिलेक माविका प्राचार्य देवदत्त कलौनीको ठम्याई छ। ‘बैतडीको तल्लोसोराड क्षेत्र प्रशस्त सम्भावना भएको क्षेत्र हो । तर यसको समृद्धिमा राजनैतिक नेतृत्वको ध्यान जान सकेन्’ उहाँले स्पष्ट पारनुभयो। यो चुनावमा सबै राजनीतिक दलहरुले तल्लोसोराडमा क्षेत्रमा सडकदेखि लिएर अन्य पूर्वाधार विकासमा ध्यान दिने चुनावी नारा दिएका छन्। तर उनीहरुका नाराप्रति स्वराडबासी विश्वस्त देखिएका छैनन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित