न्यूयोर्कमा एकजनाले साइकल लेनमा ट्रक जोताउँदा आठजनाको ज्यान गएको

न्यूयोर्क, १५ कात्तिक । अमेरिकाको न्यूयोर्कमा एकजनाले फुटपाथ र साइकल लेनमा जानाजान ट्रक जोताउँदा कम्तीमा आठजनाको ज्यान गएको छ । घटनामा कम्तीमा १२ जना घाइते भएको अधिकारीहरुले बताउनुभयो ।

लोअर म्यानह्याटनमा ती व्यक्तिले फुटपाथ र साइकल लेनमा पिक-अप ट्रक जोताएपछि एउटा स्कूल बससँग ठोक्काएको प्रहरीले जनाएको छ। त्यसपछि २९ वर्षीय ती आक्रमणकारीले दुईवटा बन्दुक राखिएको आफ्नो ट्रक छाडेका थिए।लगत्तै प्रहरीले उनलाई गोली हानी नियन्त्रणमा लिएको विवरणहरुमा जनाइएको छ। प्रहरीले ठूलो आतंकवादी षड्यन्त्र अन्तर्गत आक्रमण गराइएको भन्ने दिशामा हालसम्म कुनै प्रमाण फेला नपरेको जनाएको छ।न्यूयोर्कमा सन् २००१ को सेप्टेम्बर ११ मा भएको हमलापछि आतंकवादसँग सम्बन्धित घटनामा मान्छेहरुले ज्यान गुमाएको यो पहिलो पटक हो।

प्रहरी स्रोतका अनुसार आक्रमणकारी सेफुलो साइपभ भएको पहिचान गरिएको छ र सन् २०१० मा उनी उज्बेकिस्तानबाट अमेरिका पुगेको ठानिएको छ। न्यूयोर्कका प्रहरी कमिसनरले घाइतेहरुलाई गम्भीर चोटपटक लागेपनि ज्यानै लिने खालको चोट नभएको बताएका छन्। एकजना प्रत्यक्षदर्शीले एउटा स्थानीय टेलिभिजनलाई भने, “प्रहरीले ट्रक चालकलाई गोली हानेपछि सबैजना भाग्न थाले र स्थिति अलि असहज भयो। एकछिन रोकिएर मैले हेर्दा ट्रक चालक ढलिसकेका थिए।”अर्का प्रत्यक्षदर्शीले ९/१० राउण्ड गोली चलेको आवाज आफूले सुनेको बताए।

न्यूयोर्क आक्रमणपछि कसले के भने?
राष्ट्रपति डोनल्ड ट्रम्पले न्यूयोर्कमा ‘दिमागी हालत ठीक नभएको एकजना गुण्डाबाट आक्रमण भएको’ प्रतिक्रिया दिएका छन्। न्यूयोर्कको लोअर म्यानह्याटनमा एक व्यक्तिले फुटपाथ र साइकल लेनमा पिक-अप ट्रक जोताउँदा कम्तीमा आठजनाको ज्यान गएको छ भने ११ जना घाइते भएको अधिकारीहरुले बताउनुभएको छ।

 

राष्ट्रपति ट्रम्पले कानून कार्यान्वयन गराउने निकायले घटनालाई नजिकबाट हेरिरहेको बताउनुभयो।उहाँले मध्यपूर्वमा तथाकथित इस्लामिक स्टेट समूह पराजित भएपछि उसलाई अमेरिका फर्किन वा प्रवेश गर्न दिन नहुने उल्लेख गरेका छन्। म्यानह्याटन आक्रमणपछि राष्ट्रपति ट्रम्पले अमेरिका आउने विदेशीहरुको जाँच प्रक्रियामा थप कडाई गर्न आन्तरिक सुरक्षासम्बन्धी मन्त्रालयलाई निर्देशन दिएका छन्।ट्रम्प राष्ट्रपति भएपछि अमेरिकाले यसअघि नै त्यहाँ जाने विदेशीहरुको जाँच प्रक्रियामा कडाई गरिसकेको छ।  न्यूयोर्क राज्यका गभर्नर एन्ड्रिव क्वोमोले न्यूयोर्कवासीलाई नडराउन आग्रह गरनुभएको छ।न्यूयोर्कका प्रहरी कमिसनर जेम्स ओनिलले न्यूयोर्कका धेरै मान्छे र परिवारलाई ठूलो पीडा दिने घटना भएको प्रतिक्रिया दिनुभएको छ। ब्रिटिश प्रधानमन्त्री टरिजा मेले न्यूयोर्कलाई ब्रिटेनको साथ रहेको बताउनुभएको छ। फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोंले ऐक्यवद्धता जनाउँदै स्वतन्त्रताको लडाइँले फ्रान्सलाई अमेरिकासँग हालसम्मकै सबैभन्दा नजिक ल्याएको प्रतिक्रिया दिनुभएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित