प्रदेश नं ४ र यसका विषेशताहरु-१

आनन्दराज मुल्मी ।

नेपालको लोकतान्त्रिक गणतन्त्रिक संविधान २०७२ ले मुलुकलाई संघीय प्रणालीमा प्रवेश गराएको छ। सो अनुसार नेपाललाई ७ वटा प्रदेशमा विभाजित गरिएको छ। यो भन्दा अगाडि राजनैतिक प्रशासनिक दृष्टिकोणले ७५ जिल्ला, १४ अञ्चल, ५ ओटा विकास क्षेत्रको रुपमा मुलुकलाई छुट्याएको थियो। संघीय ढाँचा अनुसार आफ्नो प्रदेश र मातहतमा रहेको ७४४ ओटा स्थानीय तहको समग्र विकासमा आफ्नै तहबाट नीति, योजना बनाई कार्यान्वयन गर्ने सम्पूर्ण जिम्मेवारी सुम्पिएको छ। त्यसैले केन्द्रीकृत व्यवस्था अनुसार आफ्नो क्षेत्रमा योजना परेन, बजेट आएन, कर्मचारीहरुले काम गरेनन् भन्ने आवस्थाबाट गुज्री सकेका छौं अबका दिनमा राज्य संचालनकर्ताहरुले प्रदेश र स्थानीय तहको सम्पूर्ण जिम्मेवारी र जवाफदेहिता लिनुपर्ने भएको छ त्यसको लागि राजकीय अधिकारहरु पनि सुम्पिएको छ।

मूलतः २०७४ माघ ७ गतेदेखि संघीय ढाँचा अनुसार प्रदेश नं ४ र यो प्रदेशमा रहेका ८५ वटा स्थानीय तहलाई पूर्ण रुपमा अगाडि बढाउने कार्यभार जनप्रतिनिधि हरुलाई आउँदैछ। प्रदेश नं २ को स्थानीय तहको निर्वाचन आसोज २ मा सकिएपछि अब नेपाली जनताको ध्यान प्रदेश सरकारको निर्माणको लागि गठन हुने प्रदेश सभाको लागि सदस्यहरुको निर्वाचन मत अनुसार समानुपतिक प्रणालीको आधारमा प्रतिनिधिहरुको निर्वाचन र संघीय संसदकोलागि १६५ जना सांसदको निर्वाचन, उपल्लो सदनमा सदस्यको चयन गर्ने कामहरु २०७४ मार्ग १५ अगाडि सम्पन्न भइसक्ने विश्वास गर्न सकिन्छ। किनभने नेपालको भूस्थिति र हिउर्ँपर्ने अवस्थाको कारणाले मार्ग १५ पछि कुनै पनि निर्वाचन गर्न सक्ने स्थिति नरहने हुनाले त्यो भन्दा अगाडि सवै तहको निर्वाचन सम्पन्न हुनपर्ने अवस्था छ। यी सवै काम सम्पन्न भएपछि ०७४ माघ ७ गते अगाडि राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्पन्न हुनेछ र २०७२ असोज ३ गते जारी भएको नेपालको संविधान पूर्णरुपमा कार्यान्वयन हुनेछ र मुलुकले भोग्नु परिरहेको राजनैतिक संक्रमणकालीन अवस्था अन्त भई मुलुकले राजनैतिक स्थिरता प्राप्त गर्ने चरणमा प्रवेश गर्नेछ।

अव प्रदेश नं ४ को समृद्धिबारे, यसको भविष्यबारे, यसको प्रगतिबारे, प्रदेशमा वस्ने जनताहरुको जीवनस्तर सुधार्ने, आयबृद्धि गर्ने सुविधाहरु बढाउने, पूर्वाधारहरु निर्माण गर्दै जाने तर्फ ध्यान केन्द्रित गर्नुछ। नेपालका यी सातवटा प्रदेशहरुका आ-आफ्नै क्षमता र विषेशताहरु छन्, आउँदा दिनहरुमा यी प्रदेशहरु विकासको सर्न्दर्भमा, प्रगति र उन्नतिको सर्न्दर्भमा, आर्थिक स्तर उकास्ने सम्बन्धमा, लगानी वृद्धि गर्ने सम्बन्धमा, एक आपस बीच प्रतिस्पर्धा हुनेछ। यस्ता प्रतिस्पर्धाहरुमा अव्वल बन्नको लागि त्यस प्रदेशमा कस्तो सरकार बन्छ, कस्तो प्रदेश सभा बन्छ, कस्ता व्यक्तिहरुलाई दलको तर्फबाट प्रतिनिधित्व गराइँन्छ कुन राजनैतिक दलको सरकार बन्छ, बहुमतीय सरकार बन्छ वा गठबन्धनको सरकार बन्छ भन्ने कुरामा भरपर्दछ । तसर्थ प्रदेश सभाको गठन र सरकारको निर्माण हाम्रो प्रदेश नं ४ को लागि अत्यन्तै महत्वपूर्ण छ।

यस प्रदेशमा अहिले, पहिलेको गण्डकी अञ्चलका ६ जिल्लाहरु धवलागिरी अञ्चलका ४ जिल्लाहरु छन्, र लुम्बिनी अञ्चलको १ जिल्ल्ाका झन्डै आधा भूभाग पनि यो प्रदेशमा समाहित भएको छ। जिल्लाहरुको गणनाा गर्ने हो भने अहिले १० पूर्ण जिल्ला र नवलपरासीको आधा जति भूभाग पनि जुन छिट्टै नवलपुर जिल्ल्ाको रुपमा गठन हुँदैछ गरी ११ जिल्ला हुनेछन् यो भनेको नेपालको कुल क्षेत्रफल मध्य १४∞ मात्र हुनेछ। नवलपुर क्षेत्र नरायणी नदीको पश्चिम किनाराबाट शुरु भई चुरेक्षेत्रको दाउन्ने भाग सम्म पुग्दछ उत्तरतर्फ महाभारत श्रृङ्खलाको देवचुली र वडाचुली पहाडसहित काली गण्डकीसम्म र दक्षिण नारायणी नदी भित्रको भूभाग हो। नवलपुर क्षेत्र अधिकांश समथर भूभाग र केही पहाडी क्षेत्र समेत रहेको छ र उत्तर तर्फ तनहुँ र पाल्पा जिल्ला संग सिमाना छोएको छ। अधिकांश समथर भूभाग भएको यो क्षेत्रलाई नयाँ वस्तीको रुपमा लिने गरिन्छ। घना जङ्गल अझ सालको काठको लागि प्रसिद्ध यस क्षेत्रमा नयाँ वस्ती बसाउनको लागि त्यसताकाको सरकारले पुनर्वास कम्पनी मार्फत देशका विभिन्न ठाउँहरुबाट मानिसहरुलाई लगिएको थियो। यही कारणले आज यो क्षेत्रमा नयाँ व्यापारिक केन्द्रहरु, बजारहरु पाउँछौ।

यो क्षेत्रको सवैभन्दा महत्वपूर्ण पाटो भनेको नेपालको सवैभन्दा महत्वपूर्ण आधार पूर्व पश्चिम राजमार्गको शुरुवात नै गँैडाकोटबाट भएको हो। जुन नवलपुर क्षेत्रमा पर्दछ। यही क्षेत्रमा त्यसताका पहाडी क्षेत्रका मानिसहरु भारतीय क्षेत्रमा जान आउन वा व्यापारिक कामको लागि महत्वपूर्ण स्थान रहेको छ। त्रिवेणी वजार त्रिवेणीघाट जुन धार्मिक रुपमा पनि महत्वपूर्ण स्थान हो। यो त्रिवेणी बजार भारतीय सिमाना डेढ किलोमिटर किलोमिटर र भैसाँलोटन गण्डक बाँध रहेको ठाउँ ५ किलोमिटर दक्षिण टाढा छ। तसर्थ प्रदेश नं. ४ को नवलपुर क्षेत्रमा रहेको गैँडाकोटबाट शुरुभएको पूर्वपश्चिम राजमार्गबाट नेपालको आर्थिक विकासका साथै पूर्वबाट पश्चिम ओहर दोहर गर्न विदेशी भूमिको प्रयोग गर्नुपर्ने बाध्यताालाई अन्त गर्न यो प्रदेशले एैतिहासिक भूमिका खेलेकोमा गर्व गर्नु पर्दछ। अर्को महत्वपूर्ण पक्ष कुनै पनि सडक सुविधा नभएको अवस्थामा मानिसहरु आवत जावत गर्न, नेपाल भारत बीच सामानहरु आदान प्रदान गर्न , व्यापार बढाउन जलयातायातको प्रयोग गर्नु हो। नवलपुर क्षेत्रको तमासपुरघाट बाट त्रिवेणी घाट सम्म ठूलो डुङ्गाको माध्यमबाट मानिसहरु आवत जावत गर्दथे। तमासपुरघाट बाट त्रिवेणीघाट पुग्नको लागि एक दिनको समय लाग्दथ्योभने त्रिवेणीघाटबाट तमासपुर आइपुग्न २ दिन लाग्थ्यो। घनाजङ्गलको बीचमा पहाडीक्षेत्रबाट जाने मानिसहरु हालको चोरमारा दुम्कौली हुँदै कोल्हुवा, तमसरिया, अमलटारी पुग्थे । यी सवै बजारहरु नारायणी नदीको किनारामा छन् र त्यहीबाट डुङ्गाको माध्यमबाट अन्यत्र ठाउँहरु जाने गर्दथे। त्यसताका उपयोग गरिएको यो जल यातयातलाई समग्र प्रदेशको समुन्नतिको लागि भरपुर उपयोग गर्न सकिने प्रचुर संभावना छ। यसवारे आउँदा दिनहरुमा बहसको विषय बनाएर अगाडि बढ्नु पर्दछ।

यस प्रदेशको सवैभन्दा धेरै समथरभूमि रहेको क्षेत्र पनि नवलपुर हो र महाभारत लेक रहेको ठाउँ पनि यही हो यही महाभारत लेक अन्तर्गत सवैभन्दा अग्लो पहाड देउचुली ६ हजार ३ सय ५० फिट र वडाचुली ५ हजार ७ सय ९० फिट रहेको छ यही महाभारतलेकका पहाडी श्रृङ्खलाको उत्तरी वँेसीबाट काली गण्डकी बगेको छ जसले तनहुँ जिल्लाको सिमाना कोरेको छ। यही महाभारत श्रृङ्खलाबाट २ वटा महत्वपूर्ण नदीहरु उत्पति भएका छन्। एक अरुण खोला जुन पूर्वपश्चिम राजमार्ग अन्तर्गत अरुणखोला बजारबाट वगी नारायणी नदीमा मिसिन्छ अर्को किरणखोला जुन कावासोती बजार हँदै नारयणी नदीमा मिसिन्छ। यसबाहेक धेरै सा साना खोलाहरु पनि निस्केको पाउछौँ। यो प्रदेशमा वग्ने सातवटा गण्डकी नदीहरुले वनाएको नारायणी नदीमा व्यवसायिक जल यातयात संचालन गर्ने संभावनालई यथार्थमा परिणत गर्नुपर्ने जिम्मेवारी छ।

नवलपुर क्षेत्र अहिले पनि प्रदेश नं ४ को लागि सवैभन्दा धेरै खाद्यन्न उत्प्ादन हुने क्षेत्रपनि हो र यो प्रदेशको सवैभन्दा ठूलो औद्योगिक कोरिडर पनि हुन गएको छ। प्रदेश नं ४ मा रहेका यी सवै जिल्लाहरु अव भावनात्मक रुपमा एकाकार हुनुपर्ने आवश्यकता छ। पोखराबाट अरु व्यापारिक केन्द्रहरु जति सहज र सजिलोसंग सर्म्पर्क राख्न र पुग्न सकिन्छ नवलपुर पुग्न त्यति सहज छैन र सर्म्पर्क पनि कम देखिन्छ। त्यसैले अहिलेको अवस्थामा पहिलो काम पोखराबाट नवलपुर क्षेत्रको चोरामारा, कावासोती, अरुणखोला र त्रिवेणी बजारसम्म पुग्ने छोटो सडक बाटोलाई छिटो निर्माण सम्पन्न गराउनु हो। काली गण्डकीमा पुलहरु निर्माण गर्नु पहिलो प्रथमिक योजना बनाउनु हो। अहिले डेढगाउँमा पुल निर्माण भइरहेको छ पोखराबाट खैरेनीटार भिमाद हुँदै डेढगाउँ पुग्न सकिन्छ देवचुली, वडचुली पहाडमा घुमाउरो सडक निर्माण गर्नु भन्दा लगभग ११ किमी जति सुरुङ खन्ने प्रविधि प्रयोग गर्न सक्यौँ भने सडकको दूरी १८-२० कि.मि. छोटो भएर नवलपुर क्षेत्रपुग्न सकिन्छ। त्यसलै दमौली क्षेत्रमा निर्माण हुने तनहुँ सेती जलविद्युत आयोजना भएर बुलिङटारमा अर्को पुल निर्माण गर्न पनि सकिन्छ र त्यहाँबाट कावासोती, रजहर, गैँडाकोट पुग्न अर्को सहजता हुनेछ। छिटो भन्दा छिटो सडकबाट सर्म्पर्क कायम गर्ने कामगर्न सक्यौँ भने नवलपुर संगको सर्म्पर्क र समझदारी बर्ढाई एकाकार हुन मद्दत पुर्‍याउने छ।

प्रदेश नं ४ को लागि सवै क्षेत्र एकजुट हुनसकेमा समृद्धि अभियानमा तीव्रता ल्याउन सकिन्छ। नवलपुर क्षेत्रका बासिन्दाहरु आफू अलग्गिएको, भिन्दै महसुस गर्न दिनु हुँदैन भन्ने कुरामा सचेत हुन जरुरी छ। आफ्नो प्रदेशको क्षेत्रमा जान आउन अरु प्रदेशको बाटो प्रयोग गर्नुपर्ने बाध्यतालाई अन्त गर्नु अहिलेको सवैभन्दा महत्वपूर्ण काम हो। प्रदेश सरकारको गठन भइसकेपछि हामीसवैको जिम्मेवारी र ध्यान यसैमा केन्द्रित हुन जरुरी छ। नवलपुर क्षेत्र यस प्रदेशको महत्वपूर्ण स्रोत साधनयुक्त र धेरै सम्भावनाहरुले भरिपूर्ण क्षेत्र हो भन्ने कुरा हामीले मनन गर्नुपर्दछ। यस क्षेत्रमा देवचुली, मध्यविन्दु, कावासोती र गैँडाकोट गरी ४ नगरपालिकाहरु छन भने ४ वटा गाउँपालिकाहरु बुलिङटार, हुप्सेकोट, बुङ्दीकाली र विनयी त्रिवेणी रहेका छन्। यी स्थानीय तहलाई आर्थिक विकासको मूलप्रवाहमा जेड्न सक्नु पर्दछ। अहिलको अवस्थामा कालीगण्डकीले नवलपुरलाई प्रदेशका अन्य क्षेत्र संग छुट्याएको छ। काली गण्डकी हाम्रो प्रदेशको एउटा ठूलो आधार हो यस नदीको दायाँबायाँ भेकमा बस्नेहरुको जीवन आधार पनि हो लोक संस्कृति, रहन सहनलाई जीवन्त प्रदान गरिरहेको प्रकृतिक सम्पदाको उचित प्रयोग र व्यवस्थापन ले ४ नं प्रदेशलाई समुन्नत र समृद्ध बनाउन ठूलो योगदान दिन सक्दछ। समग्रमा नवलपुर क्षेत्रको आफ्नै विशिष्ट पहिचानले ४ नं प्रदेशलाई उन्नतशील बनाउन निकै ठूलो भूमिका रहने विश्वास गर्न सकिन्छ।

(२०७४ कात्तिक १२ गतेको आदर्श समाज दैनिकमा प्रकाशित लेख)

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित