पोखरामा यसरी छठ पर्व मनाइँदैछ (फोटो फिचर)

समाचारपाटी, पोखरा, ९ कात्तिक । मिथिलाञ्चलको महान पर्व छठको मुख्य दिन आज पोखरा सहित तराईका विभिन्न जिल्लामा धुमधामका साथ मनाईंदै छ ।

छठको तेस्रो तथा मुख्य दिन आज अस्ताउँदै गरेको सूर्य तथा षष्ठी मातालाई अघ्र्य दिने गरिन्छ । छठका लागि तराईका विभिन्न जिल्लाका नदी तथा तलाउका किनारा झकिझकाउ पारिएको छ ।

पोखराको फेवाताल किनार तथा धार्मिक र पर्यटकीय केन्द्र केदारेश्वर महादेवमणी मन्दिर परिसर घाट, नदीपुरको नारायणस्थान मन्दिर नजिकको घाट र सेती नदी र कालिखोला मिसिएको सेती नदी किनार (त्रिवेणी धाम)मा सामुहिक छठ मनाईदैछ ।

यस्तै काठमाडौंमा गुह्येश्वरी, गहनापोखरी, कमलपोखरी लगायत पोखरी तथा वाग्मती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा छठ मनाइँदै छ ।

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने यस पर्वमा सूर्यदेवको आराधना, उपासना र पूजा गरिन्छ । पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपासना गरी यो पर्व मनाउने गरिन्छ ।

आदिकालमा सती अनुसूयाले रोगग्रस्त पतिलाई निको बनाउन भगवान सूर्य र षष्ठी देवीको पूजा आराधना गरेको प्रसंग यस पर्वसँग जोडिएको छ ।

त्यसैगरी महाभारतकालमा द्रौपदीसहित पाण्डवहरुले अज्ञात वासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवको आराधना गरेको र सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको कथन छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित