दशैंको टीका कति स्वस्थ्यकर ? रंगले एलर्जी भए के गर्ने ?

पोखरा, १० असोज । हामीले बडादशैंमा रंग वा अवीरयुक्त टीका लगाउँछौ । यसरी लगाइने टीकामा होलीमा प्रयोग हुने रंगभन्दा अवीरले छालालाई कम हानी गर्छ ।

निधारमा प्रयोग गरिने यस्तो टीकाले छालालाई खासै असर नगर्ने गण्डकी मेडिकल कलेजका डाक्टर बिनम्र बस्नेत बताउन्छन् । तर, पनि कसैकसैमा टीकाले एलर्जी पैदा गर्दछ । विशेषगरी टीकामा केरा, दही र अवीरको प्रयोगले यस्तो समस्या आउने गर्छ ।


टीकाकै कारण निधारमा एलर्जी भएमा छाला रातो हुने, स-साना बिमिरा देखिने, टाटो बस्ने, चिलाउने, सुन्निने इत्यादि समस्या देखिने डाक्टर बस्नेतको भनाइ छ ।

दशैंमा प्रयोग गरिने यस्तो टीका निश्चित ठाउँ र निश्चित समयमा मात्रै प्रयोग गरिने हुदाँ यसलाई त्यतिधेरै हानिकारक मानिँदैन । यसले छालामा त्यति ठूलो समस्या पनि पैदा गर्दैन ।

तर, यसको विपरीत होलीमा प्रयोग गरिने किसिमको रंगबाट भने हामी सकेसम्म बच्नुपर्ने उनको सुझाव छ । होलीमा प्रयोग हुने रंगमा सनमाइका, लीड इत्यादिको प्रयोग अत्यधीक मात्रामा गरिएको हुन्छ ।

जब कि दशैंमा प्रयोग गरिने अवीरमा कमै मात्रामा रंगको प्रयोग गरिएको हुन्छ । त्यसैले, अवीरलाई त्यति धेरै हानिकारक मानिँदैन । यसमा धेरै मिसावट गरिएको पनि पाइँदैन । तथापि, यसैका कारण निधारमा एलर्जी भएको अनुभव भएमा तलका उपायहरु अपनाउन सकिन्छ सकिन्छ ।

१. एलर्जी हुने समस्या छ भने सकेसम्म टीकाबाट टाढा रहने

२. मोइस्चराइजर क्रिमको प्रयोग गर्ने

३. अवस्था जटिल हुँदै गए छाला रोग विशेषज्ञसित सम्पर्क गर्ने ।

(डा. बिनम्र बस्नेतसितको कुराकानीमा आधारित सामग्री । उनी हाल पोखराको गण्डकी मेडिकल कलेजमा कार्यरत छन् )

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top