सराङकोट पर्यटन महोत्सवमा शनिबार दर्शकहरुको भीड

पोखरा,  २४ भदौ । पोखरा १८ सराङ्कोटस्थित टप देउरालीमा आयोजित तेश्रो संस्करणको सराङकोट पर्यटन महोत्सवमा शनिबार दर्शकहरुको भीड लाग्यो । विदाको दिन र मौषम पनि सफा रहेकाले दर्शकहरुको भीड लागेको महोत्सव मूल आयोजक समितिका सचिव शुसिल जिसीले जानकारी दिनुभयो । शनिबार मात्र करिब ५ हजार दर्शकले महोत्सवको अवलोकन गरेको जिसीले बताउनुभयो ।

पोखराको साङ्गीतिक समूह डिमर्चा महोत्सवको आकर्षण बन्यो । डिमर्चाले प्रस्तुत गरेको कन्सर्टमा यूवा यूवनीहरु निकै झुम्मीए । त्यस्तै विश्व हिन्दू महासंघ नेपाल वडा नं १८ र ५ को संयुक्त आयोजनामा कृष्ण चरित्र प्रदर्शन गरिएको छ । यस्तै कास्कीकोटबाट पुगेको को पञ्चे बाजा समूहले पञ्चेबाजा प्रस्तुत गरेको थियो । महोत्सवमा कलाकारहरु सुरेन्द्र गुरुङ, लक्ष्मी नेपाली, राम्जी पौडेल, कमल गुरुङ, कृष्ण भण्डारी लगायतका कलाकारहरुले लोक तथा दोहोरी गित प्रस्तुत गरे ।

शनिबार नै स्थानीय आमा समुहका सदस्यबीच ज्योति काट्ने प्रतियोगिता समेत आयोजना गरिएको थियो ।

महोत्सवको नवौ दिनसम्म आईपुग्दा करिब ३० हजार दर्शकले अवलोकन गरेका छन् ।

सराङ्कोट जाऔ, स्थानीय कला संस्कृति र सुन्दर प्राकृतिक दृष्यावलोकनमा रमाऔँ भन्ने मूल नारा सहित आयोजित महोत्सव सराङकोट टोल विकास संस्था समन्वय समितिको आयोजना तथा सराङकोट समाज सेवा युवा क्लव, स्मृति युवा क्लव र सराङकोट पर्यटन विकास समितिको सह–आयोजनामा गरिएको हो । महोत्सव भदौ २५ गतेसम्म चल्नेछ । महोत्सवमा करिब ६० वटा विभिन्न व्यापारिक तथा हस्तकलाका स्टलहरु राखिएका छन ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top