पुनको संयोजकमा बाढी पीडितलाई राहत वितरण

आफू अस्वस्थ हुँदा पनि समाज सेवामा पछि हटेनन् माया पुन
समाचारपाटी, पोखरा, भाद्र १९ । एक्टिभिस्टा कास्कीले छहारी युवा क्लब (म्याग्दी) मालिका गापा ४ फुलबारीको सहकार्यमा तराइका बाढी पिडितहरुको सहयोगार्थ राहत वितरण गरेको छ । एक्टिभिस्टाका सदस्य एवं गायिका माया पुनमगरको संयोजकत्वमा सरु पुन, शुस्मा धमाल, ललित पुन, सन्जय गुरुङ, बिधान रानामगर तथा छहारी क्लबका तुलन बुढा मगर, कमल सापकोटा लगायत ८ जनाको टोली गत १५ गते राहत वितरणका लागि गएका हुन् । उनीहरुले सप्तरी जिल्लाको राजबिराज ९ बिहारपुर, राजबिराज ८ मलेत, बिनय नगर लगायका ३ स्थानमा १७० घरपरिवार लाई खाद्यान्न र लत्ताकपडा बितरण गरेका छन् । दाल, चामल, नुन, तेल, कपडा, विस्कुट, चाउचाउ र बच्चाहरुको लागि कपि कलम वितरण गरेको संयोजक माया पुनमगरले बताइन् ।

तराइमा आएको बाढीका कारण धेरै मानिसहरु घरबिहिन भएका छन् । केही ठाउमा त अहिलेसम्म राहत नै नपुगेको गुनासो आइरहेको बेला एक्टिभिस्टा कास्की र छहारी युवा क्लवको टोली उनीहरुको लागि राहत संकलनमा जुटेका हुन् । उनीहरुको अभियानमा सहकार्य गर्दै कुम्दिनी होम्स बोर्डिङ स्कुलले ३० बोरा चामल र लत्ताकपडा, सनफ्लावर बोर्डिङ स्कुल, हिल प्वइन्ट बोर्डिङ स्कुल, मनकामना र ज्ञानुबाबा उच्च मा.वि. ले लत्ताकपडा, सहयोग गरेका छन् भने मिस नेवा पोखराले १७ बोरा चामल, रोजी श्रेठले १ बोरा नुन, गिता पाइजा पुनले ५० प्याकेट तेल, ३ काटुन चाउचाउ उपलब्ध गरेका छन् ।

राहतको नाममा गुणस्तरहिन खाद्य सामाग्री र पुराना लत्ताकपडा वितरण गर्ने प्रवृत्तिले उनीहरुको दैनिक जीवनमा असर पर्ने र विशेष गरी बालबच्चाहरुको स्वास्थ्यमा बढी असर पार्ने भएकोले उनीहरुको स्वास्थ्यलाई पनि ध्यान दिई गुणस्तरीय सामान वितरण गर्नुहुन सहयोगदाताहरुलाई पुनको आग्रह छ । उनले भनिन् “बाढी पीडित बच्चाहरु अहिलेसम्म स्कुल जान सक्ने वातावरण बन्न सकेको छैन, त्यसैले हामीले बच्चाहरुलाई लक्षित गरी उनीहरुलाई स्टेशनरी सामाग्री र जाडो मौसमलाई पुग्ने गरी न्यानो र नयाँ कपडा वितरण गरेका छौं ।”
राहत नपाएर भोकै जीवन गुजार्न बाध्य भएका त्यहाँका जनताले राहत पाएपछि उनीहरु खुसी भएको उनी बताउँछिन् ।

भरखरै मात्र ब्रेन ट्युमरको अपरेशन गरेकी मायालाई तराईमा आएको बाढीका कारण त्यहाँका बासिन्दाको जीवन बिचल्ली भएको देखेर आराम गरेर बस्न मनले दिएन । सानैदेखि समाज सेवामा आफूलाई समर्पित गरेकी माया आफू अस्वस्थ हुँदा हुँदै पनि पीडितहरुलाई केही राहत होस् भन्ने उद्देश्यले आफ्नै पहलमा विभिन्न व्यक्ति संघसंस्थाहरुको सहकार्यमा सप्तरी पुगेका उनीहरुको टोली ४ दिन पछि पोखरा फर्केका छन् ।
“तराईमा अझै राहत पाएका छैनन्, उनीहरु राहतका लागि २ हात थापिरहेका छन् । तराइबासी पनि नेपाल आमाका सन्तान हुन् त्यसैले वहाँहरुको दुखमा आशु हामीले नपुछे कसले पुछ्ने” भन्दै गयिका माया पुनले नेपाली जनतासँग तराइका बाढी पीडितलाई सहयोग गर्न अनुरोध गरेकी छिन् । “वास्तविक पीडितको ब्यथा र उनीहरुको विजोग त उहाँ पुगेपछि पो देखियो, उनीहरुको अवस्था देखेर मन थाम्नै सकिन, त्यसैले जति सक्दो सबैले सहयोग गरौं” उनले भनिन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित