आलेख ः घन्किन छाडे मादलको धुन

(पूर्णप्रसाद मिश्र) काठमाडौँ, ५ भदौ । ‘आज मादल बजेको किन ? गाउँ घर दुनियाँ ब्युँझाउन….’ जनकवि केशरी धर्मराज थापाको यो गीतले भने झैँ अब गाउँ घर दुनियाँ ब्युँझाउने मादल घन्किन कम भएको छ । बाद्यवादनका आधुनिक साधन र श्रोतामा बढेको आधुनिक गीतसंगीतको मोहले नेपाली जनजीवनको प्रिय बाजा सुनिन कम भएको हो ।

सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) ले लोक संगीतको राजा मादल बाजा वादन प्रतियोगिता आयोजना गर्न पत्राचार गर्दा बजाउन जान्ने मानिस नै नभएको जवाफ आयो । यसबाट मादल बजाउन जान्ने जनशक्तिको अभाव देशव्यापी रुपमा घटेको थाहा भयो ।
प्रतियोगितामा ७५ वटै जिल्लाको सहभागिता गराउने संस्थानको उद्देश्य थियो । मादल बजाउन जान्ने प्रतियोगी नभएका कारण १३ जिल्ला मात्रै सहभागी बने ।
गीत संगीतमा ताल बाजाको रुपमा मादल बढी नै प्रयोग गरिन्छ । लोक गीत, आधुनिक, लोक पप, लोक भजनमा समेत यो बाजा बजाइन्छ । विद्युतीय बाजा ड्रम सेटको प्रयोग बढ्न थालेपछि नेपाली लोक बाजाका रुपमा ख्याति पाएको मादल बजाउनेको अभाव भएको छ ।
संस्थानमा मादल वादनको प्रशिक्षण दिनुहुने खर्कबहादुर बुढा नेपाली गीत संगीतमा प्रयोग हुने मादल वादकको माग भएपनि जनशक्ति अभाव रहेको बताउनुहुन्छ । संस्थानमै मादल बजाउन जान्नेको माग अधिक रुपमा आउने गरे पनि पूर्ति गर्न नसकिएको उहाँको भनाइ छ ।
“गीत विना मादलको तालमा मात्र नाच्ने नाच पनि छ, गोलो घेरा बनाएर नाच्ने (पैस्यारु) नाच ताल प्रधान छ, यो मादलको तालमै नाचिन्छ, यो नाचलाई योग अभ्यास नृत्य पनि भनिन्छ, नक्कल पारेर नाच्ने (सरङ्ङ्या) लाई युद्ध कला नृत्य पनि भनिन्छ, यो पनि मादलको तालमा मात्र नाचिन्छ”–उहाँले भन्नुभयो ।
मादल बजाउनेकै संख्या कम हुन थालेपछि यी मौलिक नाच लोप हुने खतरा बढेको छ । थारु जातिमा मादलको तालमा मात्र नाचिने नाच प्रचलनमा छ ।
ललितकला क्याम्पसमा प्राध्यापन गर्नुहुने प्रा शोभा तिवारी देवराज इन्द्रले मगर जातिलाई उपहारका रुपमा मादल दिएको किंवदन्ति रहेको सुनाउनुहुन्छ । मगर जातिको शुभकार्य र मृत्यु संस्कारमा मादल बजाइन्छ ।
मादललाई मगर समुदायको मौलिक ताल वाद्य मानिन्छ । मगर जातिमा दशैँ र तिहारमा मादलको तालमा मात्र २२ चरण नाचिन्छ । एक चरण आधा घण्टादेखि ४५ मिनेटसम्मको हुन्छ ।
सल्यान, रोल्पा, रुकुम, जाजरकोट, दाङ, सुर्खेत, जुम्ला, डोल्पा, मुगुलगायत जिल्लामा मादलको तालमा नाच्ने क्रम बूढा मरेसँगै लोप हुने अवस्थामा छ । यसको संरक्षणतर्फ सम्बन्धित निकायको ध्यान गएको छैन ।
संस्थानमा विसं २०४५ देखि मादल वादन प्रतियोगिताको माग गर्दा २०७४ सालमा अर्को संस्थासँगको सहकार्यमा गरिएको तीतो यथार्थ सुनाउनुभयो प्रशिक्षक बुढाले ।
मानिस जंगलमै बस्ने बेलादेखि मादल वादन सुरु गरेको भनिए पनि यसको इतिहास अहिलेसम्म पाइएको छैन । डमरुको विकसित रुप नै मादल भएको बताउनुहुन्छ सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापा ।
“दुई दशक अघिसम्म गाउँ गाउँमा मादल बजाउने मानिस पाइन्थे, गाउँमा हुने कार्यक्रममा यसको प्रयोग गरिन्थ्यो, आधुनिक बाजालाई अपनाएर मादल वादन प्रतियोगिता नभएकाले बजाउन बिर्सिएका छन्, प्रतियोगिताकै लागि सहभागी पाउन मुस्किल भएपछि यसको संरक्षण गर्न आवश्यक रहेछ भन्ने लाग्यो” – उहाँले भन्नुभयो ।
महादेवले डमरु बजाएर बाजा वादनको सुरुवात गरेको विश्वास हिन्दू समाजमा छ । जनावरको छालाले मोडेर बनाएको मादल लोक संगीतको राजा भएको यस क्षेत्रमा लागेका मानिसको भनाइ छ ।
जंगली युगमा जनावरको मासु खाने, छाला काढेर ओढ्ने र छालाकै बाजा बनाएर बजाउने परम्परा चलेको थियो । त्यसपछि यसले निरन्तरता पाएको विश्वास गरिन्छ ।
“गाउँमा घाँस काट्दा काट्दै अप्ठ्यारो भिरमा पुगेर सात दिनसम्म ओर्लन नसकेका मानिसलाई देवता पूजा गरी मादलको ताल सर्काएपछि सर्केनी मार्दै तल झरेको घटना मलाई हजुरबाले सुनाउनुभएको थियो” – प्रशिक्षक बुढाले भन्नुभयो ।
नेवारहरुले मल्लकालदेखि नै मादल बजाउन थालेका हुन् । तिनताका साहित्य, कला, संस्कृतिको राम्रो विकास भएको थियो । नेवार समुदायले मादललाई ‘मगः खीं’ अर्थात् मगरको मादल भन्ने गर्छन् । प्रा न्हुच्छेबहादुर डंगोल नेपालमा सबैभन्दा बढी मादल बजाउनेमा पर्नुहुन्छ ।
मादलका धेरै धुन भएपनि विशेषत झ्याउरे, समला, संगिनी र मारुनी गरी चार धुन बढी प्रयोगमा आउँछन् । “मादलमा धेरै ताल बज्ने गर्छन” – प्रा डंगोल भन्नुहुन्छ ।
पूर्वतिर किराँत समुदायले हुर्रा नाचमा बजाउने मादल ठूलो हुन्छ । मारुनी नाचमा बजाइने मृदंगजस्तो हुन्छ । पश्चिम क्षेत्रमा थारु समुदायले बजाउने फरक शैलीको हुन्छ । दाङ, कैलाली लगायतका जिल्लामा नाच्दै थारु समुदायले मादल बजाउँछन् । रोल्पा, रुकुममा फरक किसिमको मादल बजाइन्छ ।
कास्की, गोरखा, लमजुङ, तनहुँ, स्याङ्जा, पर्वतमा घाटु, नचहरी, कृष्ण चरित्र, मध्यपश्चिम तथा पूर्वाञ्चलमा मारुनी र हुर्रा नाचका गीतमा ठूलो मादल बज्छ । मध्यपश्चिममा टप्पा र झाँप्रे नाचमा सानो आकारको मादल बजाइन्छ । मध्य पहाडी भेगका विभिन्न समुदायले झ्याउरे नाच गीतमा फरक फरक तालको मादल बजाउँछन् ।
संगीतका १२ वटै तालमा मादल बजाउन सकिने बताउनुहुन्छ प्रशिक्षक बुढा । “ सा रे रे ग ग म म प ध ध नि नि मध्ये सात सुरमा शुद्ध, पाँच सुरमा कोमल र एक सुरमा विकृत तालको मादल बजाउन सकिन्छ,” उहाँले भन्नुभयो ।
मादलको तालले नचाच्ने मान्छेलाई पनि नाचुँ नाचुँ बनाइदिन्छ । यसको तालले गीत संगीतलाई जीवन्त राख्छ । मादल विनाको संगीतमा नेपालीपन महसुस हुँदैन । यो बाजा बजाएर नाचिने सोरठी र कृष्णचरित्र नाचमा समर्ने चरणमा मानिस काम्न थाल्छ । ठोकन हान्दा काम्न थाल्छ । नाच सकिने बेलामा धेरै काम्छन् । यस्तालाई मादलकै तालमा शान्त बनाउन सकिन्छ । यसलाई ‘सरस्वती चढ्न’े भनिन्छ ।
साउन १ गते भूमे पूजा अथवा बयल डाँडी खेलेपछि यो बाजा बजाउन थालिन्छ । बजाउन शुरु भएपछि केटीका घरमा गएर दोहोरी गाउने चलनलाई छोट्टी बस्ने भनिन्छ ।
माघ १ गते मादल थन्क्याइन्छ । त्यसपछि बजाउँदा जमिन मुनिको भ्यागुतो डराएर मुटु थर्केर मर्छ भन्ने मान्यताले मगर समुदायका मानिसले माघदेखि असारसम्म मादल थन्क्याएर राख्छन् । माघ १ मा थन्क्याउँदा भोग दिने चलन छ ।
पश्चिमतिर सत्यनारायणको पूजा लगाएपछि यो बाजा सहितको भजन संगीत र नाच प्रस्तुत गर्ने चलन छ । विवाह, व्रतबन्ध, छैटी, अन्नप्राशन जस्ता शुभकर्ममा मादल बजाएर धुमधाम नाचगान गरी रमाइलो गरिन्छ ।
यो बाजाको संरक्षणका लागि विद्यालय र क्याम्पस तहमा अध्ययन अध्यापनको पाठ्यक्रम बनाएर संरक्षणको सुरुवात गरिनुपर्ने यस क्षेत्रका साधकको माग छ । रासस

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top