ऋषिङमा परामर्श मञ्च गठन - SamacharpatiSamacharpati        

ऋषिङमा परामर्श मञ्च गठन

समाचारपाटी, तनहुँ २४ साउन । तनहुँ जलविद्युत् आयोजना निर्माणका लागि स्थानीय तहमा सहजीकरण गर्न ऋषिङ गाउँपालिकामा स्थानीय परामर्श मञ्च गठन गरिएको छ ।

स्थानीय आयोजना प्रभावितको भेलाले गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठको संयोजकत्वमा १० सदस्यीय मञ्च गठन गरेको हो । आयोजनाबाट प्रभावित ऋषिङ गाउँपालिका वडा नं १, ६, ७ र ८ का नागरिकलाई सो मञ्चमा समेटिएको छ ।

मञ्चको सदस्यमा आयोजना प्रभावित वडा नं १ का वडाध्यक्ष श्रीबहादुर आले, ६ का भक्तबहादुर आले, सातका जंगवीर आले र आठका भविसरा आले रहेका छन् । आयोजनाबाट प्रभावितमध्ये दिलबहादुर थापा र लिला रिलामी, स्थानीय नागरिक समाज÷वुद्धिजीवी, सामाजिक कार्यकर्तामध्येबाट भुपाल थापा, सरकारी कार्यालयमध्येबाट भरतकुमार श्रेष्ठ सदस्य तथा आयोजनाका तर्फबाट प्रभाकर पण्डित सदस्य–सचिव रहनुभएको छ ।

आयोजनाले कार्यान्वयनमा ल्याएको ‘पुनःस्थापना तथा आदिवासी जनता योजनामा’ मा भएको व्यवस्थाअनुसार मञ्च गठन गरिएको हो । मञ्चमार्फत आयोजना निर्माणका क्रममा आउने गुनासा प्रभावितले त्यही संयन्त्रमा राख्न सक्ने र सुनुवाइसमेत हुने व्यवस्था गरिएको छ । यसअघि ब्यास र भिमाद नगरपालिकामा समेत मञ्च गठन गरिएको थियो । म्याग्दे गाउँपालिकामा बुधबार गठन हुँदैछ ।

कार्यक्रममा ऋषिङ गाउँपालिका अध्यक्ष एवं मञ्चका संयोजक श्रेष्ठले आयोजना निर्माणमा स्थानीय बासिन्दा बाधक नभई साधकको भूमिका रहनुपर्ने बताउनुभएको आयोजनाले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आयोजनाका सहनिर्देशक लोकप्रसाद नेपालले डुबान क्षेत्रको जग्गा प्राप्तिका लागि हालसम्म रु ४५ करोड मुआब्जा वितरण गरिएको जानकारी दिनुभयो ।

आयोजना निर्माणका लागि आगामी असोजभित्रमा ठेकेदार कम्पनी छनोट गरी निर्माण शुरु गर्ने लक्ष्य राखिएको छ । विसं २०७९ भित्र सो आयोजना सम्पन्न गर्ने लक्ष्य छ । सो आयोजनाको अनुमानित लागत ५० करोड ५० लाख अमेरिकी डलर छ । सरकार, नेपाल विद्युत् प्राधिकरण, एसियाली विकास बैंक(एडिबी), जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) र युरोपेली लगानी बैंक (इआइबी)को लगानी रहने छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित