गलेश्वरमा गुञ्जिए स्रष्टा

समाचारपाटी, गलेश्वरधाम(म्याग्दी), २२ साउन । “यो देवता अनि सँगै मन्दिर कसले बनाउँछ ? आश्रम जानैपर्ने बाको तक्दिर कसले बनाउँछ ??

नेपाली समाजको यथार्थ झल्कने यो पद्यांश कास्कीका अर्जुन नेपालले शनिबार बेनी नगरपालिका– ९ गलेश्वरस्थित जेष्ठ नागरिक आश्रममा पुगेपछि वाचन गर्नुभयो ।

वरिष्ठ गजलगो प्रकट पंगेनी शिवले कालीगण्डकी किनारमा नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि अवस्थित गलेश्वर मन्दिरको महत्वका बारेमा कविता रचना गर्नुभयो, “साँच्चि नदी बग्न छोडे भने र आमा जन्मिन छोडे भने यो धर्ती कस्तो हुन्छ ?
मलाई मातृवियोग परेजस्तै
श्रीमहादेवलाई पत्तीवियोग परेर,
सतीदेवीको गला पतन भएको
यस गलेश्वर तपोभूमिमा
म कविता लेख्न बसेको छु,

गला अवरुद्ध छन्,
भाव अवरुद्ध छ,
कलम अवरुद्ध छ
कालीगण्डकीको उर्लँदो छालसँगै
निर्मिमेष हेरिरहेछु सोचिरहेछु
आज म आमाको कविता लेखूँ कि
नदीको कविता लेखूँ ?” पंगेनीको कवितालाई सहभागी भावुक बनेर सुनिरहेका थिए ।

सधैँ तीर्थयात्री र भक्तजनको भीड लाग्ने गलेश्वर मन्दिर परिसरमा शनिबार दिउँसो छुट्टै रौनक थियो । सधैँजसो माइकबाट भजन र मन्दिरका घण्टी बजिरहने गलेश्वर साहित्यिक रचनाले गुञ्जिएको थियो । गलेश्वर शिवालय क्षेत्र विकास कोष परिसरको वरको रुखमुनि चौतारीमा भेला भएका सर्जकले त्यहीँ करिब तीन घण्टासम्म रचना गरेका कविता, गजल, मुक्तक र हाइकु वाचन गरेका थिए ।

रचना वाचन गर्न कास्की, स्याङ्जा, पाल्पा, तनहुँ, गोरखा, बागलुङ, पर्वतलगायत जिल्लाका साहित्यकार गलेश्वर भेला भएका थिए । गजल सन्ध्या पोखरा र नवनीत साहित्य सागरले गलेश्वर विकास कोषको व्यवस्थापन सहयोगमा १४४ आँै अक्षरयात्राको कार्यक्रम गलेश्वरमा आयोजना गरेको गजल सन्ध्याका अध्यक्ष अमृत सुवेदीले जानकारी दिनुभयो ।

‘जीवन र जगत्को यथार्थबोध’ मूल नारा लिएर साहित्यिक पर्यटनको अवधारणालाई आत्मसात् गरी विभिन्न स्थानमा स्थलगत रुपमा नै सर्जकले कविता रचना र वाचन गर्ने अक्षरयात्रा अभियान २०६३ असार १८ गते कास्की लेखनाथको सुन्दरीडाँडाबाट सुरु गरिएको हो ।

कार्यक्रममा वरिष्ठ लोकगायिका हरिदेवी कोइराला, लेखक गनेश पौडेल, सुदर्शन पौडेल, साधुराम लामिछाने, निर्मिषा पराजुली, अनिता दाहाललगायत ५० स्रष्टाले रचनावाचन गर्नुभएको थियो ।

सर्जकले गलेश्वरको महत्व र कालीगण्डकीको महिमालाई सिर्जनामा समेटेका थिए । गलेश्वर वृद्धाश्रममा आश्रय लिएर बसेका ज्येष्ठ नागरिकका वेदनादेखि प्रेम तथा देशको समसामयिक विषयमा रचनावाचन गरिएको थियो गजल सन्ध्या र साहित्य सागरले प्रत्येक महिनाको तेस्रो सोमबार अक्षरयात्रा कार्यक्रम गर्दैआएका छन् । अक्षरयात्रामा सहभागीले स्थलगत रुपमै सिर्जना गरेर कार्यक्रममा वाचन गर्नुपर्ने नियम छ । रासस (तस्वीर उपलब्ध छ )

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित